ठूला कम्पनीहरुको गैरकानुनी जग्गालाई वैधता दिने प्रक्रिया सुरु 

जफत हुनु पर्ने अर्बौं मूल्य पर्ने जग्गालाई कानुनी मान्यता दिन नाममात्रको शुल्क
बलराम बानियाँ

काठमाडौँ — सरकारले ठूला सयभन्दा बढी व्यावसायिक कम्पनीले तोकिएको हदबन्दीभन्दा बढी गैरकानुनी रूपमा राखेको जग्गालाई वैधानिकता दिने प्रक्रिया सुरु गरेको छ । 

ठूला कम्पनीहरुको गैरकानुनी जग्गालाई वैधता दिने प्रक्रिया सुरु 

कानुनविपरीत राखेको अर्बौं रुपैयाँ मूल्य पर्ने जग्गा जफत गर्नुपर्नेमा सरकारले उल्टै ऐन नै संशोधन गरेर नाममात्रको दस्तुर लिई तिनै कम्पनीको नाममा वैधानिक रूपमा हस्तान्तरण गर्न लागेको हो ।

तिनै कम्पनीको स्वार्थमा सरकारले गत माघमा संघीय संसदबाट भूमि ऐन संशोधन गरिसकेको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा ठूला कम्पनीहरूलाई स्वार्थमा संशोधन पेश गरी अरू विधेयकलाई थाँती राखी यसलाई छोटो समयमै पारित गराइएको जानकारीसमेत स्रोतले दिएको छ ।

संशोधित ऐन जारी हुनासाथ सरकारले तीन महिनाको म्याद दिई अनधिकृत रूपमा हदबन्दीभन्दा बढी हजारौं रोपनी जग्गा राखेका ती कम्पनीको गैरकानुनी कामलाई कानुनी मान्यता दिने प्रक्रिया अघि बढाएको हो ।

सरकारले संशोधित ऐनमा तराई–मधेसमा प्रतिबिगाहा एक लाख ५० हजार, उपत्यकामा प्रतिरोपनी ५० हजार र पहाडी क्षेत्रमा प्रतिरोपनी १० हजार रुपैयाँ दस्तुर लिई ती कम्पनीको गैरकानुनी जग्गालाई वैधता दिन सक्ने व्यवस्था गरेको छ ।

कुनै पनि कम्पनी या व्यक्तिले गरिसकेका गैरकानुनी कामलाई पछि कानुन नै संशोधन गरेर नियमन गर्दा त्यसले भविष्यमा थप दुष्परिणाम निम्त्याउने चिन्ता सरकारी अधिकारीकै छ । ती अधिकारी सरकारको यस्तो कदमले मुलुकमा कानुन मिच्ने प्रवृत्तिलाई प्रोत्साहित गर्ने तर्क गर्छन् ।

भूमि व्यवस्था मन्त्रालयले गैरकानुनी जग्गालाई कानुनी मान्यता दिन तीन महिनाको समय दिई ती कम्पनीहरूबाट आवेदन लिइसकेको छ । तीन महिनामा ९४ वटा कम्पनीले आफूहरूले सरकारसित पूर्वस्वीकृति नलिई खरिद गरेको हदबन्दीभन्दा बढी जग्गालाई नियमन गरिदिन माग गर्दै मन्त्रालयमा निवेदन दिएका छन् ।

थप दर्जनौं कम्पनीले समेत आफूहरू छुटेको दाबी गर्दै निवेदन लिन मन्त्रालयलाई दबाब दिन थालेका छन् । निवेदन दिनेमा राजधानीका धेरेजसो पाँचतारे होटल छन् । मन्त्रालय स्रोतका अनुसार सोल्टी, अन्नपूर्ण, द्वारिकाज होटल, एभरेस्ट होटल र नेपालगन्जस्थित मेडिकल कलेजले आफूसित हदबन्दी बढी जग्गा रहेको जानकारी गराउँदै त्यसलाई कानुनी मान्यता दिन आवेदन दिएका हुन् । स्रोतले निवेदन दिने अरू कम्पनीको नाम भने बताएनन् ।

ती पाँचतारे होटलले कानुन मिचेर राजधानीमा हदबन्दी बढी जग्गा राखेका हुन् । भूमिसम्बन्धी ऐनको हदबन्दीसम्बन्धी व्यवस्थामा व्यक्ति या कुनै पनि कम्पनीले उपत्यकामा ३० रोपनी, पहाडमा ७५ रोपनी र तराई–मधेसमा ११ बिगाहाभन्दा बढी जग्गा राख्न नपाइने उल्लेख छ । होटल, उद्योग या प्रतिष्ठान सञ्चालनका लागि सरकारसँग पूर्व स्वीकृति लिएर भने हदबन्दीभन्दा बढी जग्गा राख्न पाइने व्यवस्था छ ।

आवेदन दिएका ९४ कम्पनीले भने भूमिसम्बन्धी ऐनमा तोकिएको हदबन्दीभन्दा बढी जग्गा सरकारसँग पूर्व स्वीकृति नलिईकन खरिद गरेर राखेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार हदबन्दीभन्दा बढी जग्गालाई कानुनी मान्यता दिन माग गर्दै आवेदन दिनेमा राजधानीमा हाउजिङ व्यवसाय गर्दै आएका दर्जनभन्दा बढी कम्पनीसमेत छन् ।

भूमिसम्बन्धी ऐनमा व्यावसायिक खेती र औद्योगिक प्रयोजनका लागिमात्र सरकारबाट पूर्वस्वीकृति लिई कम्पनीले हदबन्दीभन्दा जग्गा राख्न पाइने व्यवस्था छ । जुन प्रयोजनका लागि लिएको हो, अरू प्रयोजनका लागि उक्त जग्गा उपयोग या बिक्री गर्न पाइँदैन । कानुनतः हाउजिङ कम्पनीले पूर्वस्वीकृति लिएरसमेत हदबन्दी बढी जग्गा राख्न या कारोबार गर्न पाउँदैनन् । अझ तिनले गैरकानुनी रूपमा खरिद गरेको हदबन्दीभन्दा बढी जग्गालाई कानुनी मान्यता दिन भूमि ऐनको पछिल्लो संशोधित व्यवस्थाबाट समेत नमिल्ने जानकारी मन्त्रालय स्रोतले दिएको छ ।

भूमिसम्बन्धी ऐन २०२१ र त्यसपछिका विभिन्न संशोधित व्यवस्थामा उद्योग र प्रतिष्ठानले आफ्नो कम्पनी सञ्चालनका लागि आवश्यक हदबन्दीभन्दा बढी जग्गा सरकारसँग पूर्वस्वीकृति लिई खरिद गर्न पाइने व्यवस्था छ । भूमिसम्बन्धी ऐनमा पूर्व स्वीकृति नलिईकन राखेको जग्गा सरकारले जफत गर्न सक्ने कानुनी व्यवस्था थियो । कानुनविपरीत हदबन्दीभन्दा जग्गा राखेका कम्पनीहरूलाई यो व्यवस्था टाउको दुखाइ बनिरहेको थियो । तिनै कम्पनीहरूको स्वार्थ र दबाबमा सरकारले गत माघमा भूमिसम्बन्धी ऐन संशोधन गरेको हो ।

नयाँ संशोधित व्यवस्थामा उद्योग र प्रतिष्ठानले कम्पनी सञ्चालनका लागि आवश्यक भई सरकारको पूर्व स्वीकृति नलिईकन ऐनमा तोकिएको हदबन्दीभन्दा बढी खरिद गरी उपयोग गरिररहेको जग्गा एकपटकका लागि कानुनी मान्यता दिने प्रावधान छ । त्यसका लागि कम्पनीले सरकारसमक्ष निवेदन दिई आफूलाई हदबन्दीभन्दा बढी जग्गा आवश्यक भएको औचित्य पुष्टि गर्नुपर्ने व्यवस्थासमेत नयाँ संशोधनमा छ ।

यही व्यवस्थाअनुसार भूमि व्यवस्था मन्त्रालयले सूचना आह्वान गरी कम्पनीहरूबाट निवेदन लिएको हो । भूमि व्यवस्था मन्त्रालयका सचिव केदार न्यौपानेले कम्पनीहरूबाट प्राप्त निवेदन अध्ययन गरेर हदबन्दीभन्दा बढी जग्गालाई नियमन गर्ने या जफत गर्ने निर्णय हुने जानकारी दिए ।

‘मन्त्रालयले सबै निवेदन अध्ययन गर्छ, निरन्तर सञ्चालनमा रहेका जुन जुन कम्पनीले आफूलाई हदबन्दीभन्दा बढी जग्गा आवश्यक छ भनेर औचित्य पुष्टि गर्न सक्छन्, तिनको जग्गाले कानुनी मान्यता पाउँछ, औचित्य पुष्टि गर्न नसक्ने कम्पनीको जग्गा कानुनतः जफल हुन्छ’ न्यौपानले कान्तिपुरसित भने ।

निवेदन दिने म्याद थप गर्न माग

लकडाउनका कारण आफूहरूले निवेदन दिन नपाएको जिकिर गर्दै थुप्रै कम्पनीले फेरि सूचना प्रकाशित गर्न मन्त्रालयमा दबाब दिइरहेको जानकारी स्रोतले दिएका छन् ।

स्रोतका अनुसार मन्त्रालयले सार्वजनिक सूचना आह्वान गरी आवेदन दिन दिएको तीनमहिने म्यादको अधिकांश समयमा लकडाउन परेकाले म्याद बढाउन दबाब परेको हो । कानूनमा एकपटकका लागि तीन महिनाको मात्र म्याद दिने व्यवस्था छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले भूमिसम्बन्धी ऐनमा निवेदन दिन तीन महिनाको मात्र म्याद दिने व्यवस्था रहेकाले छुटेका कम्पनीहरूका बारेमा के गर्ने भन्ने अन्यौल रहेको जानकारी दिए । मन्त्रालयले कानुनतः म्याद थप गर्न मिल्ने/नमिल्नेबारेमा कानुनी परामर्श लिन थालेको छ ।

कानुनी परामर्शबाट निष्कर्षमा पुगेपछि मन्त्रालय म्यादका विषयमा निर्णयमा पुग्नेछ ।

मन्त्रालय स्रोतका अनुसार म्याद थप भएमा थप कम्पनीले निवेदन दिन पाउने छन् । त्यसपछि मन्त्रालयले कम्पनीहरूको निवेदनमाथि अध्ययन गरी हदबन्दीभन्दा बढी जग्गालाई नियमन गर्ने या नगर्नेबारेमा निर्णय गर्ने जानकारी स्रोतले दिएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?