१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पद बाँडफाँटको फुकेन गाँठो

समाजवादी अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको टकरावले रोकियो एकता प्रक्रिया

काठमाडौँ — नयाँ दलले कानुनी वैधता नपाउँदै सुरु भएको शक्ति–संघर्षले संघीय समाजवादी र राजपाबीचको एकता प्रक्रिया अप्ठ्यारो मोडमा पुगेको छ । दुई पार्टीका करिब एक दर्जन नेताको व्यवस्थापनले सिर्जना गरेको टकराबले एकता प्रक्रिया अघि बढ्न सकेको छैन ।

पद बाँडफाँटको फुकेन गाँठो

समानताका आधारमा पार्टी एक गर्ने सैद्धान्तिक सहमति जुटाई वैशाख १० गतेको मध्यराति समाजवादी र राजपाबीच एकीकरण भएको थियो । एकीकरणपश्चात् बनेको जनता समाजवादीले दलीय मान्यता नपाउँदै नेता व्यवस्थापनमा द्वन्द्व बढेको छ । गत बुधबार समाजवादीका एक सांसदको तीनकुनेस्थित निवासमा भएको छलफलमा समाजवादी र राजपाका नेताहरूबीच नेता व्यवस्थापनकै मुद्दालाई लिएर चर्काचर्कीसमेत भएको थियो ।

बैठकमा समाजवादीबाट संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव तथा राजपाबाट अध्यक्षमण्डलका सदस्यद्वय महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी थिए । यिनै चार जना नेतालाई संगठनको मोडल र जिम्मेवारी बाँडफाँटको जिम्मा दिइएको छ । समाजवादीका अध्यक्ष यादवले बैठकमै आफूले केन्द्रीय कार्यसमिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी तीनवटैको नेतृत्व नछाड्ने बताएपछि राजपा नेता महतो झोक्किएका थिए । यादवलाई केन्द्रीय कार्यसमिति र राजनीतिक समितिको अध्यक्ष दिन तयार रहे पनि पदाधिकारीको नेतृत्व गर्ने केन्द्रीय कार्यकारिणी समिति आफ्नो पार्टीले पाउनुपर्ने अडानमा महतो अडिग छन् ।

यही विवादले असहज स्थिति उत्पन्न भएपछि राजपाका नेता ठाकुर र महतो बैठकस्थलबाट बाहिरिएको स्रोतले बतायो । त्यसयता दुई पक्षका नेताबीच बैठकसमेत हुन सकेको छैन ।

विवादको पृष्ठभूमि र संगठनको मोडल

नेता व्यवस्थापनको मुद्दा अहिले आएर मात्रै चर्किएको होइन । डेढ वर्षअघि नै सुरु भएको एकता प्रक्रिया यही मुद्दाले अल्झिँदै आएको थियो । समाजवादी पार्टी विभाजनको संघारमा पुगेपछि भने हतारमा ‘समानताका आधारमा पार्टी एकीकरण गर्ने’ सैद्धान्तिक समझदारी जुटाएर एकता घोषणा गरिएको थियो । यो हतारोको पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत जोडिएका छन् । समाजवादीका असन्तुष्टलाई पार्टीबाट बाहिरिन सजिलो हुने गरी ओलीले राजनीतिक दलसम्बन्धी ऐनको कठोर प्रावधानलाई अध्यादेशमार्फत संशोधन गरिदिएका थिए । अध्यादेश आएलगत्तै पार्टी विभाजनको तारतम्य सुरु भएपछि समाजवादी र राजपाले हतार–हतार पार्टी एकता गरेका थिए ।

पार्टी एकीकरणका लागि लामो समयदेखि देखिएको नेताको व्यवस्थापनको चुनौतीलाई भने उनीहरूले थाती राखेका थिए । सरकारले अध्यादेश फिर्ता लिएपछि सहज वातावरण महसुस गरेका दुवै दलका नेताहरूले पुरानै रस्साकसीलाई एकता प्रक्रियामा ल्याएर गाँठो पार्न थालेका छन् । एकताको २६ दिन बित्दा नेताहरूको व्यवस्थापनकै मुद्दा टुंगो लाग्न सकेको छैन ।

राजनीतिक दल एकीकरण भएर निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र दल दर्ता गर्नुपर्छ । दुई पार्टी एकीकरणबाट जनता समाजवादी पार्टी बनेको जानकारी नेताहरूले एकता घोषणा भएको भोलिपल्ट वैशाख ११ गते नै आयोगलाई गराएका थिए । दल दर्ताका लागि दुवै पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय, पार्टी एकताको सहमतिपत्र, घोषणापत्र, केन्द्रीय पदाधिकारी, विधान, नियमावलीलगायत दस्तावेजसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनुपर्छ । त्यसपछि मात्रै नयाँ दलले दलीय मान्यता पाउँछ ।

दल दर्ताका लागि पनि नेताहरूको भूमिका र जिम्मेवारी तय गर्नुपर्ने हुन्छ । पार्टीभित्रको वरीयताको पहिलो नम्बरमा महन्थ ठाकुरलाई राख्ने समझदारी बने पनि त्यसपछिका नेताहरूको व्यवस्थापन र अधिकारको विषयमा मुख्य लफडा छ । नेतृत्वको सवालमा समाजवादीका अध्यक्ष यादव र राजपाका नेता महतोबीच टकराब बढेको छ । अरूको तुलनामा मधेसमा यी दुई नेताको संगठनात्मक बलले पनि विवाद निम्त्याएको कतिपय नेताहरूको तर्क छ ।

पहिलो त दुवै पक्षबाट केन्द्रीय कार्यकारणी भूमिकामा कतिजना नेता राख्ने भन्नेमै विवाद छ । राजपामा मात्रै अध्यक्षमण्डलका ६ नेता छन् । ठाकुर, महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवबीच आलोपालो नेतृत्वमा पार्टी सञ्चालन हुँदै आएको छ । राजकिशोर यादव र अनिल झा अहिलेको एकीकरण प्रक्रियाप्रति नै असन्तुष्ट छन् । उनीहरूको असन्तुष्टिको अन्त्य नै एकीकृत पार्टीमा आफूहरूको भूमिका र व्यवस्थापनप्रतिको चिन्ता हो ।

समाजवादी पार्टीमा संघीय

परिषद्का अध्यक्ष भट्टराई, केन्द्रीय कार्यकरिणी समितिका अध्यक्ष यादव, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मुख्य नेतृत्व तहमा छन् ।

समाजवादीका एक नेता सबैलाई नेतृत्व तहको भूमिकामा राख्ने सम्भव नहुने बताउँछन् । उनका अनुसार दुई पक्षबाट ४/४ नेतालाई केन्द्रीय तहको भूमिकामा ल्याउन सकिन्छ तर राजपा अध्यक्षमण्डलका ६ जना नेतालाई केन्द्रीय भूमिकामा ल्याउने गरी संगठनको मोडल तयार पार्नुपर्ने अडानमा छ । पार्टीभित्र छुट्टै असन्तुष्ट समूह बन्न नदिन पनि ६ जना नेताकै व्यवस्थापनको मुद्दा राजपाले उठाउँदै आएको छ । समाजवादी दुवै पक्षबाट ४/४ नेता केन्द्रीय तहमा रहने गरी समायोजनको मोडल अघि सार्नुपर्ने पक्षमा छ । दुवै पक्षका मुख्य नेताहरूको अधिकार र भूमिका बाँडफाँटको विषयले अर्को विवाद खडा गरेको छ ।

समानताका आधारमा एकीकरण गर्ने भन्ने समझदारीअनुसार समाजवादीले पार्टीको अध्यक्ष लिँदा उस्तै कार्यकारणी भूमिका भएको अर्को जिम्मेवारी राजपाले पाउनुपर्ने अडान महतोले राख्दै आएका छन् । राष्ट्रिय परिषद् बनाएर वरिष्ठ नेता ठाकुरलाई सेरेमोनियल भूमिका दिने, संघीय परिषद्को अध्यक्षमा भट्टराईलाई राख्ने तयारी छ । तर, कार्यकारी भूमिकामा यादव र महतोबीच मुख्य टकराब छ । गत बुधबारको बैठकमा पनि यादव र महतोबीच नै चर्काचर्की परेको थियो । यसबारेमा जिज्ञासा राख्दा महतोले कसरी थाहा पाउनुभयो र भन्ने प्रश्न गरे । ‘कसैको व्यक्तिगत इच्छाले केही हुनेवाला छैन, पावर सेयरिङमा छलफल भएको छ । दुवै पार्टीको हैसियत समान हो । जिम्मेवारी, अधिकार, पद समानताको आधारमा बाँड्ने हो । त्यो सिद्धान्त एकता बैठकले नै स्वीकृत गरेको हो,’ महतोले भने, ‘त्यहीअनुसार मोडालिटी बनाउने हो ।’

समाजवादीका महासचिव रामसहायप्रसाद यादवले पार्टी एकताकै ब्रेक लाग्ने खालको विवाद नभएको बताए । तर, बुधबारदेखि छलफल नभएको भने उनले स्विकारे । ‘नेपालको राजनीतिमा सबै चिज अन्तिम घडीमा हुने गरेको छ । निर्वाचन आयोगमा दल दर्ता गर्ने अन्तिम दिनसम्म हाम्रो पनि पार्टीका सबै विषय मिल्छन्,’ उनले भने, ‘राजपामा धेरै अध्यक्ष भएकाले अलिकति समस्या भएको हो । अर्को नीति तथा कार्यक्रममा व्यस्त हुनुपरेकाले पनि ढिलाइ भएको हो ।’

यादव र महतोको टकराबले रोकिएको एकता प्रक्रियालाई अघि बढाउन राजपाका अर्का नेता शरतसिंह भण्डारीले मध्यस्थता गर्न थालेका छन् । भण्डारीले आइतबार नै यादवलाई भेटेर बैठकमा बस्न आग्रह गरेका थिए । बुधबारदेखि बैठक बस्न नसकेपछि अनौपचारिक तहमा भने कुराकानी भइरहेको भण्डारीले बताए । ‘सबैको तितोपिरो अहिल्यै पोख्नुपर्छ । एकता भइसकेपछि हुने विवादले कस्तो अवस्था भोग्नुपर्छ भन्ने शिक्षा नेकपाले दिएको छ,’ बुधबारको बैठकमा भएको विवादबारेको प्रसंगमा भण्डारीले भने, ‘एकता गर्दा नयाँ कुरा आउँछन् । विवाद बढ्छ । यसलाई असामान्य रूपमा लिन हुन्न । अहिले हामीहरू नेता व्यवस्थापन, जिम्मेवारी बाँडफाँट र संगठनात्मक ढाँचाबारे छलफलमा छौं । समानताका आधारमा सम्मानजनक एकता गरेर हामी देखाउँछौं ।’

महतोले एक ठाउँमा मात्रै शक्तिकेन्द्रित हुनेखालको संगठनको मोडल आफूहरूलाई अमान्य हुने बताए । उनका अनुसार कति अध्यक्ष र समितिहरू बनाउने भन्नेमा छलफल भइरहेको छ । एक अध्यक्ष र आवश्यकताअनुसार नेताहरूको व्यवस्थापनका लागि समिति बनाउने अवधारणातिरै बढी छलफल केन्द्रित छ । यो मोडल तत्कालीन संघीय समाजवादी र नयाँ शक्ति पार्टीबीच एकीकरण हुँदा अपनाइएको थियो । समितिहरू बढाएर अध्यक्ष बनाउने तयारीमा भए पनि मुख्य कार्यकारी भूमिकाको रस्साकसीले समस्या ल्याएको छ । ‘दुवै पार्टीको समान हैसियत हो, समितिहरू बनाउँदा दुवै पार्टीको समान हैसियतमा बनाउनुपर्छ, कार्यकारी अधिकार एक ठाउँमा रहन हुन्न । यस विषयमा हामीबीच ५० पटकभन्दा बढी कुराकानी भइसकेको छ,’ महतोले भने ।

सैद्धान्तिक विषयमा भने दुवै पार्टीमा खासै ठूलो विवाद देखिन्न । एउटै धरातल र आन्दोलनबाट उदाएकाले अधिकांश सैद्धान्तिक मुद्दा समान छन् । नमिलेको शासकीय स्वरूप र निर्वाचन प्रणालीको विषयलाई पनि महाधिवेशनमा लगेर टुंग्याउने समझदारी गरिसकेका छन् ।


प्रकाशित : जेष्ठ ७, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?