१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

संक्रमित युवक अझै क्‍वारेन्टाइनमै

संक्रमितसँगै बसिरहेका व्यक्तिहरु राति घरमा सुत्न जान्छन् । दिउँसो क्वारेन्टाइनमा बस्न आउँछन् ।
ज्योति कटुवाल

दैलेख — हालसम्म कोरोना नदेखिएको कर्णाली प्रदेशमा सोमबार पहिलो संक्रमण पुष्टि भयो । संक्रमित युवक भारतको आग्रा हुँदै महेन्द्रनगरबाट एक साताअघि घर आएको खुलेको छ ।

आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय उनी ४५ दिनसम्म नेपाल–भारत सीमास्थित वनबासा क्वारेन्टाइनमा बसेका थिए । चैत १४ गते सीमा क्षेत्रमा पुगेका उनी र अन्य व्यक्तिलाई नगरपालिकाको पहलमा वैशाख ३१ गते दैलेख ल्याइएको थियो । वडा नम्बर १ का अध्यक्ष पर्वसिंह विश्वकर्माका अनुसार संक्रमित व्यक्तिसहित उद्धार गरिएका अन्य ३८ जनालाई लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । ‘चैत १४ गते नै उनीहरु सीमा क्षेत्रमा पुगे पनि सरकारले ११ गते लकडाउन गरेका कारण उतै रोकिएका रहेछन्,’ उनले भने, ‘क्वारेन्टाइनमा ल्याएर स्वाब संकलन गरी सुर्खेत पठाइएपछि उनमा संक्रमण भएको देखियो ।’ उद्धार गरी ल्याइएकालाई स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा राखिएको उनले बताए ।

उनीहरुसँगै ठाँटिकाध गाउँपालिकाका ८ र बर्दियाका ४ जना एउटै बसमा फर्किएका थिए । अन्यको रिपोर्ट भने ‘नेगेटिभ’ देखिएको वडाध्यक्ष विश्वकर्माले जनाए । उनका अनुसार बर्दियाका ४ जना बासिन्दा भुरीगाउँ झरेका थिए । ‘संक्रमितसँग आएका उनका साथीहरु क्वारेन्टाइनबाट भागेर बेलाबेलामा घरपरिवारलाई भेट्न जाने गरेकाले गाउँमा संक्रमणको त्रास बढेको छ,’ उनले भने, ‘क्वारेन्टाइनको बसाइ व्यवस्थित गर्न नसक्दा थप समस्या भयो ।’ उनीहरु बसेको क्वारेन्टाइनमा एउटै कोठामा ८ जनासम्मलाई राखिएको छ । सोमबार राति १० बजे कोरोना भाइरस संक्रमण भएको पुष्टि भए पनि उनी अन्य व्यक्तिसँगै क्वारेन्टाइनमा छन् ।

नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढेको स्थानीयको गुनासो छ । ‘उद्धारको नाममा स्थानीय सरकारले झन् जोखिम बढायो,’ स्थानीय मानबहादुर शाहीले भने, ‘क्वारेन्टाइनमा बसेका अरु व्यक्तिसमेत राति घरमा जाँदा जोखिम थपिएको छ ।’ संक्रमितसँगै बसिरहेका व्यक्तिहरु राति घरमा सुत्न जाने गरे पनि दिउँसो क्वारेन्टाइनमा बस्ने गरेको उनले बताए ।

संक्रमित भेटिएपछि वडा सिल

कर्णालीमा पहिलो संक्रमित भेटिएपछि आठबीस नगरपालिकाले १ नम्बर वडालाई सिल गरेको छ । अन्य वडामा संक्रमण फैलन नदिन मंगलबार बिहानदेखि वडा सिल गरिएको हो ।

संक्रमित व्यक्तिमा कुनै स्वास्थ्य समस्या नदेखिएको नगर उपप्रमुख दीपा बोहोराले बताइन् । उनका अनुसार संक्रमित व्यक्तिलाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गर्न तयारी थालिएको छ । ‘संक्रमण पुष्टि भएसँगै स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेका छौं,’ उनले भनिन्, ‘क्वारेन्टाइनमा बसिरहेका अन्य व्यक्तिमा संक्रमण हुन नदिन उच्च सतर्कता अपनाइएको छ ।’


प्रकाशित : जेष्ठ ६, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?