कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

काेराेनाले मृत्यु भएकी महिलाको गाउँका १ सय ९७ जनाकाे स्वाब काठमाडौं पठाइयो

अनिश तिवारी

सिन्धुपाल्चोक — कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु भएकी बाह्रबिसेकी सुत्केरी महिलाको सम्पर्कमा आएका एक सय ९७ स्थानीयको नमुना संकलन गरेर मंगलबार सकाइएको छ । बाह्रबिसे नगरपालिका वडा–९ राम्चे र बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा एकैसाथ सुरु गरिएको ‘थ्रोट स्वाब’ सबैको संकलन गरेर नमुना परीक्षणको लागि काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हो ।

काेराेनाले मृत्यु भएकी महिलाको गाउँका १ सय ९७ जनाकाे स्वाब काठमाडौं पठाइयो

वाग्मती सरकारको विज्ञ संलग्न र्‍यापिड रेस्पोन्ससहित जिल्ला स्वास्थ्यकर्मीको टिमले बाह्रबिसे नगर– स्थित चालिसे गाउँकी २९ वर्षीया मृतक संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ र सम्पर्कमा रहेका सबैको पीसीआर परीक्षणको लागि काठमाडाैंदेखि प्रदेश, मन्त्रालयबाट ल्याब विशेषज्ञ, डाक्टरसहित प्राविधिक स्वास्थ्य, सुरक्षाकर्मीको संयुक्त दुई दर्जन टोली खटिए । ‘कन्ट्याक्ट ट्रेसिङ’ र सम्पर्कमा आएका सबैको थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइसकेका छाैं,’ वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले भने । उनले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिदेखि सम्पूर्ण टिमलाई स्थानीयले उत्साहित भएर धन्यवाद दिएको सुनाए ।

स्थानीय तहसँग छलफलअघि प्रारम्भिक चरणमा कोभिड–१९ को ‘पीसीआर’ परीक्षणको लागि नमुना संकलन गर्न दुई सय वटा पीसीआर किट लगिएको र ४६ जनाको मात्रै सूची बनाइएको थियो । ‘संक्रमितका बाँकी परिवार, आफन्त, छिमेकी, संक्रमितको उपचारमा संम्लग्न स्वास्थ्यकर्मी सबैको गर्दा संख्या बढ्दै गयो, अन्तिममा सबैको सकेर परीक्षणमा पठाइएको छ,’ उनले भने । जिल्ला सुरक्षा समितिले निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका वडा ७ , ८ देखि बाह्रबिसे नगरपालिका, बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रलाई सिल गरिएको छ । स्वाब संकलन राम्चेको छिमेकीको ठोट्नेरी गाउँबारीमा र अन्यको प्रास्वाकेमै गरिएको थियो ।

दैनिक बढिरहेको कोरोना भाइरसको रोकथाम नियन्त्रण र संक्रमण फैलिन नदिनको लागि वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले र्‍यापिड रेस्पोन्स टोली गठन गरेको छ । वाग्मती प्रदेशका १३ वटा जिल्लामध्ये ७ वटामा कोरोना भाइरसका संक्रमित बिरामी नै फेला परेका छन् । देशभर दुई जनाको मृत्यु नै भएपछि प्रदेश–३ का पर्यटन तथा वन मन्त्री अरुण नेपाल, सामाजिक तथा विकास मन्त्री युवराज दुलाल शरदसहित बाह्रबिसे नगरका मेयर निमफुञ्जो शेर्पा, वडाध्यक्ष सानु लामा स्वास्थ्यकर्मीसँगै गाउँ पुगेको बाह्रबिसे नगरकी उपप्रमुख सुशिला पाख्रिनले बताइन् । ‘स्थानीय त्रास थिए, सबैको सात्वनाले केही ढाडस मिलेको छ, ’उनले भने ।

गाउँले केही ढुक्क

बाह्रबिसे नगरक्षेत्रकी सुत्केरी महिला कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको खबरले सबै शोकमग्न बनेका गाउँले सबैको पीसीआर परीक्षण ‘नेगेटिभ’ आएपछि स्थानीय केही ढुक्क बनेका छन् । ‘सबैको सात्वना, परीक्षणले स्थानीयमा केही आस पलाएको छ, आफ्नो परीक्षण के आउने भन्ने जान्नेमा स्थानीय आतुर देखिन्छन्,’ गाउँमै पुगका नेकपाका नेता माधव सापकोटाले भने स्थानीयले बाह्रबिसेबाट ठोट्नेरीसम्म लैजान प्रयोग गरिएको एम्बुलेन्स, बोलेरो कोरोना भाइरस संक्रमण परीक्षणको रिपोर्ट शंकास्पद आएपछि जिल्लाभर त्रास छाएलगत्तै बाह्रबिसे प्रास्वाके, चालिसे गाउँदेखि बजारक्षेत्रमा आउजाउ पूर्ण रुपमा ठप्प पारिएको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ६, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?