कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमित गुल्मीका शिक्षक सिकिस्त

भेन्टिलेटरमा राखेर उपचारका सबै प्रयास जारी राखेका छाैं : अस्पताल
घनश्याम गौतम

रूपन्देही — कोभिड–१९ संक्रमण देखिएका गुल्मीका शिक्षकको रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । अवस्था चिन्ताजनक भएकाले उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित गुल्मीका शिक्षक सिकिस्त

वैशाख २५ देखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनले स्थानीय मेडिकलमा परीक्षण गराएका थिए । सुरुमा जन्डिस भएको भन्दै उपचार गराए पनि सुधार नभएपछि अर्घाखाँचीको छाया पोलिक्लिनिक हुँदै जेठ १ गते क्रिमसन अस्पताल आएका थिए ।

अस्पताल स्रोतका अनुसार उनलाई सुरुदेखि नै आईसीयूमा राखिएकोमा आइतबारबाट अवस्था थप चिन्ताजनक भएको हो । जेठ २ गते कोरोना संक्रमणको आशंकामा भैरहवास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा स्वाब परीक्षणका लागि पठाइएकोमा सोमबार संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका प्रशासनप्रमुख चन्द्रकान्त पाण्डेले उनको भेन्टिलेटरमै उपचार जारी रहेको बताए । ‘अवस्था गम्भीर नै छ र हिजोदेखि स्थिर छ,’ उनले भने, ‘उपचारका सबै प्रयास जारी राखिएको छ ।’

स्थानीय प्रशासनले सोमबार राति नै अस्पताल सिल गरेको छ । स्वास्थ्यकर्मी, बिरामी र कुरुवालाई बाहिर निस्कन र नयाँ बिरामीसहित अन्य सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिरामीसँगको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको विवरण संकलनपछि थप निर्णय लिइने बताए ।

गुल्मीका संक्रमित शिक्षक, अर्घाखाँची हुँदै बुटवल आएका थिए

४१ वर्षीय ती संक्रमित गुल्मीको मदाने गाउँपालिका–२ का बासिन्दा हुन् । उनमा कहाँबाट संक्रमण फैलियो भन्ने खोजी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । उनी गाउँपालिकाभित्रका विद्यालयसम्बन्धी र अन्य सर्वदलीय बैठकमा समेत सहभागी हुने गरेको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार ती शिक्षकले झन्डै एक महिनादेखि गाउँ छोडेका थिएनन् । स्थानीय प्रशासनले उनको परिवारलाई होम क्वारेन्टाइनमै राखेको छ । गाउँपालिका पूरै ‘सिल’ गरेर उनको कन्ट्र्याक्ट ट्रेसिङ र यात्रा विवरण खोज्न थालिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । त्यस्तै उनले उपचार गराएको अर्घाखाँचीको छाया पोलिक्लिनिक पनि सिल गरिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?