२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लोकसेवाले दरखास्त निकालेका कार्यक्रम रद्द नहुने, परीक्षा हाललाई स्थगित 

कृष्ण ज्ञवाली

काठमाडौँ — लोकसेवा आयोगले परीक्षाको चरणमा नपुगेका सबै तहका कर्मचारी छनौट प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ । सोमबार बसेको आयोगको बैठकले सरकारको निर्णयअनुसार परीक्षाको तहमा नपुगेका कर्मचारी छनौट प्रक्रियाहरुलाई स्थगित गर्ने निर्णय गरेको हो । अहिलेसम्म दरखास्त आहृवान भएका सूचनाहरु पनि स्थगित भएका छन् । 

लोकसेवाले दरखास्त निकालेका कार्यक्रम रद्द नहुने, परीक्षा हाललाई स्थगित 

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले नयाँ विज्ञापन प्रकाशित गर्ने काम स्थगित भएको बताए । सरकारले समेत कोरोना महामारीका कारण आर्थिक समस्या हुनसक्ने आकलन गरी नयाँ कर्मचारी भर्ना प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो । तर, लोकसेवाले परीक्षाको चरणमा गइसकेका कार्यक्रम रद्द हुन नसक्ने भनी यसअघि नै प्रतिक्रिया दिएको थियो ।

आयोगको निर्णयपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दरखास्त संकलन भैसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनका हकमा नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गरिएको छ ।’ यो निर्णयपछि सार्वजनिक सेवामा प्रवेशका लागि तयारी गरेर बसेका सयौं परीक्षार्थी प्रभावित भएका छन् ।

लोकसेवाले आफ्नो वार्षिक कार्यतालिकाअनुसार विज्ञापन हुन बाँकी पदहरुको विज्ञापन प्रकाशित गर्ने काम पनि तत्कालका लागि रोकेको छ । न्याय सेवा आयोगको क्षेत्राधिकार भएका विज्ञापनको हकमा स्थिति सामान्य भएपछि नयाँ परीक्षा कार्यक्रम सार्वजनिक हुने जनाएको छ

तर, लिखित परीक्षा भएका अनि अन्तर्वार्ता हुन बाँकी प्रतिस्पर्धाको हकमा लोकसेवाले नयाँ तालिका बनाएर सार्वजनिक गर्ने जनाएको छ । अनि दरखास्त लिएर कुनै पनि खालको चरणको परीक्षण भइसकेको विज्ञापनको हकमा स्थिति सामान्य भएपछि सबै परीक्षाहरुको नयाँ कार्यक्रम निर्धारण हुने जनाएको छ ।

गत फागुन २८ गते लोकसेवाले विज्ञापन गरेको राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदारको हकमा आउँदो शुक्रबारदेखि दरखास्त लिने काम बन्द हुने भएको छ । अनलाईनमार्फत फर्म बुझाएका तर शूल्क बुझाउन बाँकी परीक्षार्थीहरुले स्थिति सामान्य भएपछि रकम बुझाउन पाउने व्यवस्था गरिने लोकसेवाले जनाएको छ । सूचनामा भनिएको छ, ‘नेपाल सरकारबाट अर्को निर्णय भइ नआएसम्मका लागि उक्त विज्ञापनहरुको परीक्षा कायक्रम स्थगन गरिएको छ ।’

आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले अहिलेसम्म दरखास्तको प्रक्रियामा पुगेका कार्यक्रमहरुको परीक्षा स्थगित भए पनि रद्द नभएको बताए । ‘खरिदारको पनि परीक्षा स्थगित भएको हो, प्रक्रिया रद्द भएको होइन,’ उनले भने, ‘त्यसैले हामीले पछि शुल्क लिने भनेका हौं तर परीक्षा कहिले हुन्छ, त्यहीबेलाको स्थितिमा भर पर्छ ।’

लोकसेवाले परीक्षाको कुनै चरणमा प्रवेश गरेका सुरक्षा निकाय अनि संगठित संस्थाको परीक्षा नरोक्ने भएको छ । तर, त्यस्ता परीक्षा स्थिति सामान्य भएपछि नयाँ सूचनाबाट मात्रै सञ्चालन हुनेछन् । अरु सार्वजनिक निकाय वा संस्थाबाट विज्ञापन भएका तर आयोगबाट परीक्षा निर्धारण हुन बाँकी विज्ञापन पनि सरकारले अर्को निर्णय नगरेसम्म स्थगित हुने भएको छ ।

लोकसेवाको सूचना यहाँ हेर्नुस् :

http://psc.gov.np/assets/uploads/files/Press_Note_PSC_final.pdf

प्रकाशित : जेष्ठ ५, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?