कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरला नाकामा सशस्त्र प्रहरी पोस्ट राख्‍ने तयारी

घनश्याम खड्का

म्याग्दी — उत्तरी छिमेकी चीनसँग सीमा जोडिएको हिमालपारिको मुस्तङामा पर्ने कोरला नाकामा शसस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बीओपी) राख्ने तयारी भएको छ । मुस्ताङको चीनसँग कोरला नाका समेत १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ ।

कोरला नाकामा सशस्त्र प्रहरी पोस्ट राख्‍ने तयारी

सरकारले कागजमा १० वर्षअघि नै स्थापना गरेको नेपाल–चीन सीमादेखि १२ किलोमिटर तल लोमन्थाङ गाउँपालिका–१, छोसेरको नचुङमा दोस्रो पटक सशस्त्र प्रहरीको बीओपी राख्ने निर्णय गरेको छ ।

नेचुङमा रहने सीमा सुरक्षा पोस्ट (बीओपी)मा स्थापना गर्न सदरमुकाम जोमसोमस्थित ३३ नम्बर गुल्मबाट २० जना प्रहरी खटाइने टुङ्गो भएको छ । नेचुङस्थत भन्सार तथा क्वारेन्टाइन कार्यालयको भवनमा दुई कोठा छोडेर बाँकी कोठामा सशस्त्र प्रहरी बस्ने छ । जोडिएर जनपद प्रहरीको चौकी यसअघि नै रहेको छ ।

‘कोरला नाकाको सीमावर्ती नेचुङमा रहनेगरी सशस्त्र प्रहरी बलको एउटा टोली तयारी अवस्थामा छ । सीमा सुरक्षा पोस्ट स्थापना गर्न सशस्त्र प्रहरीका डीआईजी वा एआईजी मध्य को आउने टुङ्गो नभएकोले रोकिएको छ । गृहको निर्देशन आउनेबित्तिकै ‘मुभ’ हुने गरी तयारी अवस्थामा छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, ‘नेचुङमा सशस्त्रको पोस्ट रहने ठाउँ र भवनको समेत टुङ्गो भइसक्यो । बोर्डरमा सवै पूर्वाधार नबन्दासम्म अस्थायी रुपमा नेचुङमा रहने हो ।’

सरकारले वैशाख ३१ गते सुदूरपश्चिम दार्चुलाको दक्षिणी छिमेकी भारतले अतिक्रमण गरेको लिपुलेक र कालापानी क्षेत्रमा पर्ने व्यास गाउँपालिका, १ छाङ्रुमा सशस्त्र प्रहरीको १०७ औं सीमा निगरानी चौकी (बीओपी) स्थापना गरेपछि उत्तरी छिमेकी चीन सीमावर्ती कोरलामा पनि बीओपी राख्न लागेको हो ।

यसअघि ०६६ फागुनमा छिमेकी चीनले उपल्लो मुस्ताङमा चीनविरोधी गतिविधि बढेको गुनासो गरेपछि सरकारले चण्डिका सशस्त्र प्रहरी गण पर्वतबाट प्रहरी नायब उपरीक्षक नारायण श्रेष्ठको नेतृत्वमा ४६ जनाको टोली सीमावर्ती नेचुङमा सीमा सुरक्षा पोस्ट खडा गर्न खटाइएको थियो । तर पर्वतबाट माघ दोस्रो साता नेचुङमा सीमा सुरक्षार्थ हिँडेको टोली बाक्लो हिमपातले हिँड्न नसकेको कारण देखाइ सदरमुकाम जोमसोमस्थित कभर्ड हलमा बसेको थियो । त्यसपछि कहिल्यै हिउँ पग्लेन, सशस्त्र प्रहरीले जोमसोममै बस्यो ।

नेपाली पक्षले सीमा सुरक्षा पोस्ट स्थापना गरेको मिडियाबाजी गरे पनि व्यवहारमा कार्यान्वयन नगरेपछि चीनले कोरला नाकामा काँडेतार लगाएको थियो । बेनी–जोमसोम–कोरला सडक जोडिएको २४ नम्बर पिलर पारिपट्टि चीनले दशगजा छोडेर आधुनिक सूचनाप्रविधि जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, कर्मचारी आवास गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पार्किङ र सुरक्षा प्रबन्धसहित पूर्वाधार खडा गरेको छ । तर सीमापारि नेपालपट्टि खाली चौर चकमन्न पल्टेको छ । संरचना निर्माणको कुनै सुरसार देखिंदैन ।

नेपाल–चीनबीच गर्त वर्ष हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार चीनका चार सामुद्रिक तथा तीन सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने मध्यको नेचुङ–लेक्जे (कोरला) नाकामा चिनियाँ भन्सार कार्यालयको आमने–सामने हुनेगरी नेपाली पक्षले एकीकृत भन्सार कार्यालय स्थापना गर्ने प्रक्रियामा छ । नाकामा एकीकृत भन्सार कार्यालय स्थापना गर्ने कुनै सुरसार नभएकोले सीमा सुरक्षामा खटाइएको सशस्त्र प्रहरी, जनपद प्रहरी र भन्सार १२ किमी वरै बस्न बाध्य छन । उत्तरी सीमामा रहने नेपाली सेनाको टोली पनि २५ किमी दक्षिणपट्टि तल लोमन्थाङ छेउमा बसेको छ ।

कोरला नाकामा नेपाली सुरक्षाकर्मी र सरकारी प्रतिनिधि नहुँदा त्यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई चिनियाँ प्रहरी र सेनाले दुव्र्यवहार गर्ने गरेका छन । दशगजा क्षेत्रको २४ नम्बर पिलरमा पुगेर तस्बिर खिच्दासमेत चिनियाँ सुरक्षाकर्मी नेपाली भुमि पसेरै धम्क्याउने गरेका छन ।

‘चिनियाँ भन्सार कार्यालयको आमने–सामने हुनेगरी नेपाली भन्सार कार्यालय स्थापना गर्न जग्गा प्राप्त भएको छ,’ प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले भने, ‘अर्थ, गृह, रक्षा र प्रधानमन्त्री सबैलाई कोरला नाकाको यथार्थ लेखेरै जानकारी गराएको छु । गृह र अर्थमन्त्रीले कोरला नाका ब्यवस्थित सञ्चालन गर्न काम भैरहेको छ ।’

कोरला नाकामा भन्सार कार्यालय, बन्दरगाह, सुरक्षा प्रबन्धसमेतका पूर्वाधार निर्माणमा मात्र होइन, नाकाबाट हुने पारवहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्ड योग्य सडक निर्माण पनि उस्तै ढिलाइ भइरहेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?