कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश १  : सीमाबाट ओइरिने भिड थेग्‍न छैन तयारी

प्रदेश सरकारको आन्तरिक छलफलमा भारतबाट २० हजार हाराहारी नेपाली भित्रने सक्ने चर्चा छ । तर, अहिलेसम्म तिनको एक तिहाइलाई राख्न पुग्ने क्वारेन्टाइन र आइसोलेसन बेडसमेत छैनन् ।

काठमाडौँ/विराटनगर — संक्रमितको बढ्दो सूचीमा प्रदेश १ का जिल्लाहरू खासै दोहोरिएका छैनन् । आइतबार ३ जना थपिनुअघि यहाँ जेठ २, वैशाख २७ र १४ गते संक्रमित भेटिएका थिए ।

प्रदेश १  : सीमाबाट ओइरिने भिड थेग्‍न छैन तयारी

केही दिनको अन्तरालमा एकाध संक्रमित मात्रै भेटिनुले तिनको व्यवस्थापन र थप तयारीमा जुट्न प्रदेश सरकारले पर्याप्त समय पाएको छ । तर, क्वारेन्टाइनको संख्या बढाउने र पूर्वाधार थप्ने काममा गति सुस्त देखिन्छ । प्रदेशभित्रैका संक्रमित र सीमापारिबाट भित्रिरहेकाहरूबाट हुने जोखिम आकलन गर्दा यो तयारी पर्याप्त छैन ।

चैत १८ मा प्रदेशमा क्वारेन्टाइन बेडको संख्या ३ हजार ५३ थियो जति बेला यहाँ एकै जना संक्रमित भेटिएका थिएनन् । त्यसयताको ४६ दिन अर्थात् जेठ ३ मा क्वारेन्टाइन बेडको संख्या ६ हजार २ पुगेको छ । तर आइसोलेसन बेडको संख्या उल्लेख्य वृद्धि हुन सकेको छैन ।

पछिल्ला दिन संक्रमित ह्वात्तै बढेसँगै प्रदेश २ र ५ मा आइसोलेसन बेडको अभाव हुन थालिसकेको देखिन्छ । प्रदेश १ मा पनि त्यो स्थिति आउन सक्छ । १८ चैतमा यहाँ ३ सय ३८ आइसोलेसन बेड थिए । ४६ दिनमा जम्मा १ सय ११ वटा थपिएका छन् ।

आइतबारसम्म प्रदेश १ मा १७ संक्रमित निको भएर घर फर्किएका छन् । २२ जना उपचाररत छन् । ९ सय ३८ जना क्वारेन्टाइनमा छन् । संक्रमित २२ सहित शंकास्पद दुई जना गरी कुल २४ जना आइसोलेसनमा छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका एक उच्चतहका कर्मचारीले पछिल्ला दिन भारतीय क्षेत्रबाट लुकीछिपी आउनेहरू बढेकाले संक्रमितको संख्या जुनसुकै बेला बढेर क्वारेन्टाइन र आइसोलेसन बेडको अभाव खट्किन सक्ने बताए ।

संघीय सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका लागि मापदण्ड नै जारी गरेको छ । तर प्रदेश १ का धेरैजसो क्वारेन्टाइन मापदण्डभित्र छैनन् । यसले गर्दा क्वारेन्टाइनबाटै संक्रमण फैलिन सक्ने जोखिम देखिन्छ ।

यहाँका ५ जिल्ला भारतका पश्चिम बंगाल, बिहार र सिक्किम राज्यका ६ जिल्लासँग जोडिएका छन् । प्रदेशस्थित सुरक्षा अधिकारीहरूका अनुसार ताप्लेजुङ, इलाम र पाँचथर नाकाबाट अवैध रूपमा भित्रिने क्रम न्यून छ । तर झापा, मोरङ र सुनसरी नाकाबाट लुकीछिपी आउनेहरू बढेका छन् ।

स्रोतका अनुसार झापापारि १ सय ९५, मोरङपारि १ सय १७ र सुनसरीपारि २१ नेपाली सीमाक्षेत्रमा जम्मा भएको रेकर्ड गृह मन्त्रालयसँग छ । सीमा सुरक्षामा खटिएका प्रहरी अधिकारीहरू भने अहिले नै तीन जिल्लाको सीमापारि २ हजार हाराहारी नेपाली रहेको बताउँछन् । भारत सरकारले अन्तरप्रदेश रेलसेवा सञ्चालन गर्ने बताइरहँदा सीमा–नाकामा थुप्रिनेहरूको संख्या निकट दिनमा अझ बढ्न सक्ने देखिन्छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले भारतले रेलसेवा सञ्चालन सुरु गरेकाले दस हजारभन्दा धेरै नेपाली प्रदेश १ हुँदै आउने अनुमान गरिएको कान्तिपुरलाई सुनाए । प्रदेश सरकारको आन्तरिक छलफलमा भने यस्तो संख्या २० हजारको हाराहारी हुन सक्ने र तीमध्ये आधाभन्दा धेरै प्रदेश १ मा ‘होल्ड’ भएर आ–आफ्ना जिल्ला जान सक्ने चर्चा छ ।

सामाजिक विकासमन्त्री घिमिरेकै अनुमानलाई आधार मान्दा पनि ठूलो संख्याका नेपाली सीमावारि आए प्रदेशमा क्वारेन्टाइन बेडको अभाव हुनेछ ।

सीमामा सशस्त्र र नेपाल प्रहरीको उपस्थिति बढाइए पनि चोरबाटो हुँदै भित्रने क्रम जारी छ । गत शुक्रबार मात्रै मोरङका छुट्टाछुट्टै नाकाबाट छिरेका ३ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखियो । सिक्टा नाका हुँदै नेपाल छिर्न लागेका २५ नेपालीलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर सिक्टी ग्राम पञ्चायतस्थित विद्यालयको क्वारेन्टाइनमा राखेका छन् ।

अर्कातर्फ खेतीपातीका लागि आउने सीमावर्ती क्षेत्रका भारतीयलाई रोक्नु अर्को चुनौती छ । झापा र इलामका सीमावर्ती क्षेत्रको नेपाली भूमि भारतीयले भाडामा लिएर खेतीपाती गरेकाले उनीहरू आउजाउ गरिरहन्छन् ।

एक उच्च प्रहरी अधिकारीका अनुसार रातको समयमा मकैबारी हुँदै छिर्नेहरू पनि छन् । तिनलाई भेटेसम्म नियन्त्रणमा लिइएको छ । तर नियन्त्रणमा नआएकाहरूबाट संक्रमणको जोखिम छ ।

जहाँबाट नेपालीहरू अवैध रूपमा छिरिरहेका छन्, तिनै नाकापारिका भारतीय जिल्लामा संक्रमणको जोखिम देखिन्छ । प्रदेश १ सँग जोडिएका भारतीय जिल्लामध्ये सुनसरीपारिको मधेपुरालाई भारतले ‘अरेन्ज जोन’ अर्थात् संक्रमणको जोखिम विस्तार भइरहेको भनी उल्लेख गरेको छ । झापापारि पश्चिम बंगालको दार्जिलिङलाई उच्च संक्रमण रहेको ‘रेड जोन’मा राखिएको छ ।

झापापारि बिहारको किसनगन्ज, सुनसरीपारिकै बिहारको सुपौल, मोरङपारिको अररिया, ताप्लेजुङ र इलामपारिको पश्चिम सिक्किम भने हरियो जोनमा छन् ।

चोरबाटो हुँदै सीमा छिर्ने र तेस्रो देशबाट नेपाल आएकालाई पत्ता लगाएर परीक्षण गर्ने काम चुनौतीपूर्ण रहेको सामाजिक विकासमन्त्री घिमिरे बताउँछन् । स्थानीय तहबाट त्यसरी आउनेको खोजी सुरु गरिएको जनाउँदै उनले भने, ‘प्रदेशका १४ वटै जिल्लामा परीक्षण तीव्र पार्ने तयारी गरेका छौं । पहिलो चरणमा आगामी १० दिनभित्र १० हजार व्यक्तिको स्वाब नमुना परीक्षण गर्ने तयारी भइरहेको छ ।’

विज्ञ सम्मिलित समिति बनाइयो

प्रदेश १ मा हालसम्म हटस्पट र कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट परीक्षण हुँदै आएको छ । तर, अब पुलिङ विधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ । यसका लागि स्वास्थ्यकर्मी र विज्ञ सम्मिलित समिति बनाइएको छ । सात सदस्यीय समितिमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोसी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिलगायत सम्मिलित छन् ।

बीपी प्रतिष्ठानकी प्रा.डा. वसुधा खनाल संयोजक रहेको समितिमा स्वास्थ्य महाशाखा प्रमुख तथा सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहता, प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव, कोसी अस्पतालका डा. कामना शर्मा र डा. सन्तोष काफ्ले, बीपीका केशव राई सदस्य छन् । बीपी प्रतिष्ठानका डा. नारायण भट्टराई सदस्य–सचिव छन् ।

गत बिहीबार गठित उक्त समितिलाई तीन दिनभित्र प्रोटोकल तयार गर्न निर्देशन दिइएको थियो । परीक्षणलगायत कामका लागि सामाजिक विकास मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ का लागि निर्देशिका बनाएर काम गरिरहेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?