कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अन्तर विभाग समन्वयको अभावका कारण शिक्षण अस्पतालमा भद्रगोल

अस्पतालमा अन्तर विभाग समन्वयको अभाव छ । कोभिड–१९ कमिटीले बनाएका उपचार तथा व्यवस्थापन प्रोटोकलहरूको पालना हुन सकिरहेको छैन ।
न त संक्रमितको उपचारमा खटिएकाहरूलाई व्यवस्थित खानबस्नको व्यवस्था छ । त्यसमाथि त्यहीं सुत्केरी भएकी एक महिलाको मृत्यु र दुई संक्रमित भेटिएसँगै अस्पताल व्यवस्थापन थप दबाबमा परेको छ ।

काठमाडौँ — सरकारले कोरोना महामारीको उपचारकै लागि ‘लेभल–३’ अस्पताल भनेर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई तोके पनि दुई जना संक्रमित भेटिएसँगै त्यहाँभित्र विभिन्न विभागबीच समन्वय अभाव रहेको पाइएको छ । एक सात वर्षीया बालिका तथा अर्का एक बिरामी कुरुवामा कोरोना संक्रमण देखिएसँगै अस्पतालभित्रका असमञ्जस्यहरू बाहिर देखिएका हुन् ।

अन्तर विभाग समन्वयको अभावका कारण शिक्षण अस्पतालमा भद्रगोल

अस्पतालमै वैशाख २४ मा शिशुलाई जन्म दिएकी एक महिलाको कोभिड–१९ कै कारण मृत्यु भएपछि अस्पताल व्यवस्थापन थप दबाबमा परेको हो ।

अन्तर विभाग समन्वयको अभावकै कारण अस्पतालले गठन गरेको कोभिड–१९ कमिटीले बनाएका उपचार तथा व्यवस्थापन प्रोटोकलहरूको पालना हुन सकिरहेको छैन । विभागहरू बीचको आन्तरिक मतभेदकै कारण अस्पतालले शंकास्पद तथा संक्रमितको उपचारका लागि छुट्याएको गणेशमान सिंह भवनको आइसोलेसनमा भर्ना हुनुपर्ने बिरामी मुख्य भवनको न्युरो सर्जरी वार्डमा भर्ना हुन पुगेका अस्पताल उच्च स्रोतले बताएको छ ।

नेपालको सबैभन्दा ठूलो र राम्रो अस्पतालमा दरिएको शिक्षण अस्पतालले सुरुमा कोभिड–१९ का कुनै पनि बिरामीको उपचार आफू कहाँ नगर्ने र डेडिकेटेड अस्पतालमै पठाउनुपर्ने अडान राखेको थियो । तर, पछि अस्पतालमा आइसकेका बिरामीलाई बिनाउपचार फर्काउन नहुने भन्दै दबाब बढेपछि अस्पतालले डा. सन्तकुमार दासको नेतृत्वमा कोभिड–१९ कमिटी गठन गरेर संक्रमित बिरामीको उपचारका लागि तयारी गरेको थियो ।

उक्त कमिटीले यसअघि नाक, कान, घाँटी तथा हाडजोर्नी विभागले ओपीडी लगायतको सेवा दिँदै आइरहेको भवनमा कोभिड–१९ का बिरामीका लागि इमर्जेन्सी, आइसोलेसन वार्ड, एचडीयू, भेन्टिलेटरसहितको १० बेडको आईसीयू कक्ष बनाउन उपयुक्त हुने भनेपछि लामै विवाद पनि भएको थियो । विभिन्न विवादका बीच कोभिड–१९ का लागि सबै संरचना तयार भएपछि पनि अन्तर विभाग विवाद र असमन्वयको सिलसिलामा भने कुनै कमी देखिएको छैन ।

‘शंकास्पद जिल्लाबाट आएको भनेर हामी चिकित्सकले नै बालिकाको कोरोना परीक्षणबिना शल्यक्रिया गर्न नमानेका हौं,’ एक चिकित्सकले भने, ‘स्वाब परीक्षणका लागि पठाएपछि ती बालिकालाई आइसोलेसनमा राख्नुपर्ने थियो तर वार्डमै राखियो । वार्ड नै सिल गर्नुपर्ने अवस्था आयो ।’ स्रोतका अनुसार त्यही विवाद र असमन्वयकै कारण अस्पतालमा अहिलेको भद्रगोल देखा परेको हो । यद्यपि अब भने ती विवादहरू साम्य भई अस्पतालले व्यवस्थित रूपमा सेवा दिन सक्ने अवस्था सिर्जना भएको पनि स्रोतले दाबी गरेको छ ।

‘कोभिड–१९ टास्क फोर्सले बनाएको प्रोटोकल मानेको भए अहिले यो अवस्था नै सिर्जना हुँदैन थियो,’ स्रोतले भन्यो, ‘तर संक्रमित नै फेला परेर हाहाकार मच्चिएपछि भने सबैको चेत खुलेको छ । सायद अब सबै विभागबाट सहयोग हुन्छ भन्ने अपेक्षा लिइएको छ ।’

शिक्षण अस्पतालले गणेशमान सिंह भवनमा नै कोभिड–१९ का बिरामीको उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री तयारी अवस्थामा राखिसकेको छ । कमिटीका संयोजक दासका अनुसार सो भवनमा कुल ५० बेड छन् । यहाँ १० बेडको आईसीयूसहित शल्यक्रिया कक्ष, डायलसिस मेसिन, इमर्जेन्सी वार्ड रहेको छ । यहाँबाट निस्कने फोहर प्रशोधन पनि भवनभित्रै गर्ने व्यवस्था मिलाइएको उनले जनाए । ‘विभिन्न समस्या भएर आएका संक्रमितलाई शल्यक्रिया नै गर्नुपरे पनि तयारी छ,’ उनले भने, ‘दुईवटा शल्यक्रिया कक्ष पनि तयारी अवस्थामा रहेका छन् ।’

डा. दासका अनुसार संक्रमितमा देखापर्ने मुटु, मिर्गौला या अन्य कुनै जटिल समस्याको उपचार गर्न सक्षम अस्पताललाई नै लेभल–३ भनेर वर्गीकरण गरिन्छ । शिक्षण अस्पतालमा यो सबै उपचार गर्ने पूर्वाधार र जनशक्ति रहेकैले यसलाई लेभल–३ मा वर्गीकरण गरिएको उनको भनाइ छ । बिरामीको चाप हुने अस्पतालमा संक्रमित भर्ना गर्दा अन्य बिरामी, कुरुवा र अस्पताल आवतजावत गर्नेलाई संक्रमणको जोखिम हुन्छ भन्नु भ्रम मात्र भएको उनले दाबी गरे । ‘अहिलेको अवस्थामा कोभिड र गैरकोभिड भनेर अस्पताल छुट्याउनै सकिँदैन,’ उनले भने, ‘लक्षणबिनाका मान्छे सबै अस्पतालमा घुम्छन्, यसमा कसैको नियन्त्रण छैन ।’ सामान्य अस्पतालमै पनि कोभिडका लागि छुट्टै वार्ड र भवन बनाउँदा सुरक्षित नै हुने उनको दाबी थियो ।

सरकारले कोरोना महामारीको उपचारका लागि देशभरमा केबल तीनवटा अस्पताललाई मात्रै ‘लेभल–३’ को दर्जा दिएको छ । पूर्वमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिममा नेपालगन्ज मेडिकल कलेज र काठमाडौंमा त्रिवि शिक्षण अस्पताल ।

स्वास्थ्यकर्मीलाई छैन गाँसबासको व्यवस्था

नेपालभर नै विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरूको प्रमुख समस्या नै अहिले उपचारपछि गाँसबासकै रहेको देखिएको छ । त्यसमा पनि उपत्यकाका अस्पतालमा काम गर्नेहरूको हकमा यो समस्या झनै विकराल छ । यसबाट शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी पनि अछुतो छैनन् । घर भएकाहरूलाई समुदायले नै हेयको दृष्टिले हेरिरहेको छ भने डेरामा बस्नेहरू दिनदिनै घरधनीको कचकच सहन बाध्य छन् ।

स्वास्थ्य मन्त्रालयले जेठ २ मा कोभिड–१९ का बिरामीहरूको उपचारमा प्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन, २०७७ जारी गरेको छ । सो मार्ग निर्देशनअनुसार पनि संक्रमितको उपचारमा संलग्नहरूलाई अस्पतालले नै बस्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । यसरी उपचारमा खटिएका चिकित्सकलाई आवश्यकताअनुसार दिनको १० घण्टा १४ दिनभन्दा बढी काम लगाउन नहुने पनि उल्लेख गरिएको छ । ड्युटी अवधि पूरा भएपछि पनि १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ ।

कोभिड–१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको खानपान तथा बसोबासका लागि एक जनाको हकमा दिनको बढीमा २ हजार रुपैयाँसम्म अस्पताललाई उपलब्ध गराइने पनि मन्त्रालयले मार्ग निर्देशनमा उल्लेख गरेको छ । यसरी मन्त्रालयले नै मार्ग निर्देशन बनाए पनि शिक्षण अस्पतालमा उपचारका क्रममा संक्रमितको सम्पर्कमा आएका अधिकांश स्वास्थ्यकर्मीहरू भने बस्ने स्थानको अभावमा आफ्नै घर र डेरा फर्किन बाध्य छन् ।

त्यहाँ उपचाररत बिरामी तथा बिरामी कुरुवामा कोभिड–१९ देखिएपछि उनीहरूको सम्पर्कमा आएकाहरूलाई व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर्न अस्पतालले सकेको थिएन । त्यसमा अस्पतालमै सुत्केरी भएकी एक महिलाको संक्रमणका कारण शनिबार मृत्यु भएपछि व्यवस्थापनलाई थप दबाब परेको छ । व्यवस्थापनले स्वास्थ्यकर्मीलाई बस्ने व्यवस्था तथा क्वारेन्टाइनस्थल लगायतका अन्य व्यवस्था मिलाउन कोभिड–१९ लजिस्टिक कमिटी पनि गठन गरेको छ । उक्त कमिटीको प्रमुख डा. ईश्वर लोहनीलाई बनाइएको छ । उनको कमिटीले स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीईदेखि बसोबाससम्मको प्रबन्ध मिलाउन लागि परेको अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गा बताउँछन् ।

‘हामीले व्यवस्था गर्ने कोसिस गरिरहेका छौं । मन्त्रालयसँग पनि छलफल भइरहेको छ । तर, मन्त्रालयले उल्लेख गरे जस्तो सजिलो भने छैन,’ उनले भने, ‘तैपनि हाम्रो कमिटीले ठाउँ खोजिरहेको छ । केही न केही व्यवस्था चाँडै हुन्छ ।’

अस्पतालमा छैन पीसीआर मेसिन

सरकारले लेभल–३ अस्पताल घोषणा गरे पनि कोभिड–१९ पहिचानका लागि अत्यावश्यक मानिएको पीसीआर मेसिन भने अस्पतालमा उपलब्ध छैन । उपकरण नहुँदा शंकास्पद बिरामीको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला वा वीर अस्पतालमा पठाउनुपर्ने बाध्यता अस्पताललाई छ । ‘एउटा संक्रमित भेटिँदा ट्ेरसिङमा धेरै चिकित्सक, स्वास्थ्यकर्मी अन्य मानिसहरू आउँछन् । ती सबैको परीक्षण गर्न अस्पतालमा व्यवस्था छैन,’ अस्पतालका निर्देशक डा. खड्गाले भने ।

उपकरणका लागि स्वास्थ्य मन्त्रालयमा १० पटकभन्दा बढी निवेदन दिँदा पनि सम्बोधन नभएको उनले गुनासो गरे । ‘पहिलो कुरा मन्त्रालयले सामान नै दिएको छैन । सामान आयो भने त्यसलाई चलाउन सक्ने जनशक्ति त यहाँ छ, हेरुँ के हुन्छ,’ उनले भने ।

सुत्केरीको मृत्युपछि अस्पतालमा त्रास

वैशाख २४ मा अस्पतालमा सुत्केरी भएकी महिलाको कोरोनाकै कारण मृत्यु भएपछि त्यहाँ कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा उपचाररत बिरामीसमेत त्रसित बनेका छन् । महिलाको मृत्युको खबर बाहिरिएसँगै प्रसूति विभागको ‘लेबर रुम’ सिल गरिएको छ । विभागको सेवा केही दिनका लागि स्थगित गरिएको छ भने वार्डमा भर्ना भएका सुत्केरी र गर्भवतीलाई प्रहरी अस्पतालमा सारिएको निर्देशक डा. खड्गाले जानकारी दिए । ‘बिरामीको रोजाइअनुसार अन्य अस्पताल जान हामीले भन्यौं,’ उनले भने, ‘नयाँ कसैलाई भर्ना लिइएको छैन ।’

डा. दासका अनुसार प्रसूति वार्डमा कार्यरत ७ जना चिकित्सकलाई अहिले होम क्वारेन्टाइनमा बस्न भनिएको छ । कन्ट्याक ट्ेरसिङमा आएका एक सय जनाको स्वाब संकलन गरेर परीक्षणका लागि टेकु पठाइएको छ । क्रमैसँग अस्पतालमा कार्यरत सबैको पीसीआर र आरडीटी परीक्षण गर्ने निर्णय पनि गरिएको छ । त्यसका लागि आवश्यक व्यवस्था मिलाइँदै छ ।

आइतबार स्वास्थ्यकर्मीहरूको स्वाब संकलनका लागि अस्पतालको प्रयोगशालाका व्यक्ति समयमा नआएपछि केहीबेर त्यहाँ होहल्लासमेत भएको थियो । स्रोतसाधन नभएको भनेर अस्पतालले स्वाब संकलन गर्न नमानेको चिकित्सक र नर्सहरूले बताए । ‘आइतबार बिहान निर्देशकको कोठामा दबाब दिन गएपछि बल्ल स्वाब लिइयो,’ मृतक महिलाका सम्पर्कमा आएका एक चिकित्सकले भने, ‘स्वाब लिने माइक्रोबायोलोजिस्ट समेत हामीसँग डराएका थिए । दुई घण्टाको विवादपछि बल्ल स्वाब लिए ।’

ती महिलाको कोरोनाकै कारण मृत्यु भएको खुलेपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई अस्पतालले कुनै वास्ता नगरेको एक चिकित्सकले आरोप लगाए । ‘प्रशासनले केही निर्णय लिन्छ होला भनेर हामी रातिसम्म अस्पतालमा बस्यौं,’ क्वारेन्टाइनमा रहेका एक चिकित्सकले भने, ‘केही व्यवस्था नगरेपछि हामी होम क्वारेन्टाइनमा छौं, घरका सदस्य जोखिममा छन् ।’

प्रकाशित : जेष्ठ ५, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?