२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोनाले क्वारेन्टाइनमै मृत्यु

अवस्था गम्भीर भए पनि अस्पताल पुर्‍याउन कोही तयार भएनन्
स्थानीय भन्छन्- भारतमा भोकले मरिन्छ कि भन्ने थियो, नेपालमा रोगले !

नेपालगन्ज — भारतबाट फर्केर बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित क्वारेन्टाइनमा बसिरहेका युवकको कोभिड–१९ संक्रमणबाट आइतबार बिहान मृत्यु भएको छ । स्वास्थ्य शनिबार रातिदेखि गम्भीर बनेको र आइतबार बिहान ६ः४० मा उनको मृत्यु भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

कोरोनाले क्वारेन्टाइनमै मृत्यु

भारतबाट आएकाले उनको स्वाब परीक्षणका लागि शनिबार स्वास्थ्यकर्मीले संकलन गरेका थिए । आइतबार दिउँसो भेरी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । त्यसपछि स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट उनको मृत्यु भएको घोषणा गर्‍यो ।

नरैनापुरसँग जोडिएको दशगजामा अलपत्र स्थानीयलाई भित्र्याएर गत वैशाख ३० गते नरैनापुर–५ स्थित दीपेन्द्र प्रावि भोज भगवानपुरमा राखिएको थियो । उक्त क्वारेन्टाइनमा ३९ जना थिए ।

कोभिड–१९ आशंका गरिएकाले युवकको अर्धनग्न शव विद्यालयको चौरमा आइतबार साँझसम्म थियो । विद्यालयमा रहेका कपडा, टेबल र कुर्सी छरपस्ट थिए । सुरक्षाकर्मीले परिवारका सदस्य र स्थानीयलाई शवनजिक जान दिएका थिएनन् । सुरक्षाकर्मीले क्वारेन्टाइनमा प्रवेश निषेध गरेका थिए । मृतकका श्रीमती, एक छोरा, दुई छोरी र बाबुले टाढैबाट शव हेरेर रोइरहेका थिए । स्थानीय खेतका आलीमा उभिएर शव हेरेका थिए ।

नरैनापुर–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले युवकको मृत्युले गाउँ शोकमग्न बनेको बताए । शव कसरी उठाउने भन्ने चिन्तामा दिन बित्यो । परिवारले शव बुझ्न पाउनुपर्ने माग राखेका थिए ।

बिहान मृत्यु भए पनि अपराह्न ४ बजेमात्र स्वाब परीक्षणको रिपोर्ट आएकाले शव व्यवस्थापन ढिलो भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति नरेश श्रेष्ठले बताए । ‘जतिसक्दो छिटो शव व्यवस्थापन गरिसक्नुपर्थ्यो,’ उनले भने, ‘स्वास्ब परीक्षणको रिपोर्ट ढिलो आयो, त्यसपछि परिवारलाई सम्झाएर मुचुल्का उठाउन समय लाग्यो ।’

श्रेष्ठका अनुसार आइतबार साँझ ८ बजे धार्मिक परम्पराअनुसार राप्ती किनारमा खाडल खनेर युवकको अन्तिम संस्कार गरिएको छ । शव व्यवस्थापनमा गाउँपालिका प्रमुख, स्वास्थ्य शाखा प्रमुख, सुरक्षाकर्मी र परिवारका सदस्यलगायतको उपस्थिति थियो । ‘स्वास्थ्य सुरक्षा सामग्री लगाएर शव व्यवस्थापन गरियो,’ श्रेष्ठले भने, ‘हल्ला भएजस्तो पीपीई अभाव छैन । सबैलाई संक्रमणबाट जोगाउनु राज्यको दायित्व हो ।’

युवक भारतको मुम्बईबाट गत वैशाख ३० गते नरैनापुर नाका हुँदै गाउँपालिकामा आएका थिए । ७०/८० जना समूहमा ट्रक चढेर आएका उनले एक दिन सीमामा बिताएका थिए । त्यसपछि उनीसहितलाई गाउँपालिकाले ल्याएर क्वारेन्टाइनमा राखेको थियो । यसरी आएका मध्ये शुक्रबार ४५ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा आठ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । जसमा दीपेन्द्र प्राविमा बसेका मात्रै चार जना थिए । त्यसपछि शनिबार ती युवकसहित ३ सय ५ जनाको ट्रेसिङ गरिएको थियो । शनिबार २ सय ६३ जनाको स्वाब संकलन गरिएको थियो । उक्त स्वाब परीक्षणमा युवकको रिपोर्ट पोजिटिभ आएको थियो ।

यी युवकमा शनिबार राति स्वास्थ्य समस्या आएको थियो । टाउको दुख्न र बान्ता हुन थालेपछि क्वारेन्टाइनमा रहेका स्वयंसेवकले जीवनजल खुवाएका थिए । अवस्था गम्भीर भए पनि त्यही क्वारेन्टाइनमा रहेका चार जनामा कोभिड–१९ पुष्टि भइसकेकाले उनलाई अस्पताल पुर्‍याउन कोही तयार भएनन् । क्वारेन्टाइनमा खटिएका स्वयंसेवकलाई स्वास्थ्य सुरक्षा सामग्री पीपीई, पन्जालगायतका सुरक्षा सामग्री उपलब्ध छैन । क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले एम्बुलेन्स बोलाउन आग्रह गरे । तर एम्बुलेन्स चालक र त्यहाँका स्वास्थ्यकर्मीसँग पीपीई थिएन ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले घटनाले सबैलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिरहेका बेला घटना भएको बताए । ‘भारतबाट आउनेको संख्या अत्यधिक रहेकाले व्यवस्थापनमा चुनौती थपिएको छ,’ उनले भने, ‘भारतबाट आउने क्रम रोकिएको छैन ।’ उनले भने ।

स्थानीयले क्वारेन्टाइनमा भएको लापरबाहीले युवकको ज्यान गएको आरोप लगाएका छन् । क्वारेन्टाइनबाट प्राथमिक स्वास्थ्य केन्द्र करिब चार किलोमिटरको दूरीमा छ । गाउँपालिकाका स्वास्थ्य प्रमुख मोहम्मद साइद खाँले आइतबारसम्म २५ थान पीपीई, पन्जालगायतका स्वास्थ्य सुरक्षा सामग्री रहेको बताए । ‘एम्बुलेन्स चालकसँग पीपीईलगायतका सामग्री छन्,’ उनले भने, ‘तर क्वारेन्टाइनमा गएर बिरामी ल्याउने कोही भएनन् ।’

स्थानीय त्रासमा

स्थानीय एक जनाको मृत्यु र आठ जनामा संक्रमण पुष्टि भएपछि नरैनापुरमा त्रास फैलिएको छ । गाउँपालिकाका २ सय ६२ को स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ । ४२ जनाको स्वाब संकलन गर्न बाँकी छ । सीमामा दिनहुँ सयौंको भीड लागिरहँदा र लुकेर गाउँ छिर्दासमेत स्थानीय तहले गम्भीरताका साथ छिट्टै व्यवस्थापन गर्न नसकेको स्थानीयको गुनासो छ ।

गाउँपालिकामा १३ स्थानमा क्वारेन्टाइन व्यवस्था गरिएको छ । भारतबाट आएका ७ सय १८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । स्थानीय विनय दीक्षितले मृत्युको खबरले क्वारेन्टाइनमा बस्नेहरू डराएको बताए । ‘सम्झाइबुझाइ राख्नुपर्ने चुनौती छ,’ उनले भने ।

‘मुलुक आएपछि डर’

भारतमै क्वारेन्टाइन अवधि पूरा गरेर आएका स्थानीय आशाराम यादवले अहिले रोग सर्ला कि भन्ने चिन्ता लाग्न थालेको बताए । ‘भारतमा काम नपाएपछि भोकै मरिने डरले आत्तिएको थिएँ,’ उनले भने, ‘यहाँ आएपछि कोरोनाले मरिन्छ कि भन्ने डर भयो ।’ उनले भने ।

हरियाणाको एक फ्याक्ट्रीमा मजदुरी गर्दै आएका उनी १४ दिन भारतकै क्वारेन्टाइनमा बसेका थिए । स्वास्थ्य परीक्षण गरीवरी ढुक्क भएर उनी घर आएका हुन् । उनी बसेकै क्वारेन्टाइनमा दुई जनामा संक्रमण पुष्टि भइसकेको छ । नरैनापुर–५, जयकिसन माविमा उनीलगायत ५८ जना बसेका छन् ।

कोरोनाले क्‍वारेन्टाइनमै मृत्यु हुनु भनेको सरकारको चरम लापर्बाही हो : विज्ञ

नरैनापुरका कुतमुदिन खाँ भारतको महाराष्ट्र आमननगरमा होटलमा मजदुरी गर्थे । बिरानो देशमा एक्लै बस्न नसकेर उनी ५ दिन हिँड्दै नेपाल–भारत सीमामा आइपुगे । यतिबेलासम्म परिवारकै चिन्ताले सताएको उनलाई अहिले क्वारेन्टाइनमा बस्दा कोभिड–१९ संक्रमण हुने पीर लागेको सुनाए । ‘भारतमा हुँदा खासै रोगको वास्ता गरिएन,’ उनले भने, ‘स्वदेश आएपछि आत्तिएको छु ।’ पाँच दिनअघि उनीलगायत १५ जना एउटै गाउँका सीमामा आएका थिए ।

बाँकेमा ३३ संक्रमित रहेका छन् । जसमध्ये २५ जनाको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा र आठ जनाको कोरोना विशेष अस्पताल बेलझुन्डी दाङमा उपचार भइरहेको छ ।

व्यवस्थापन उत्कृष्ट छ : मुख्यमन्त्री

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड–१९ संक्रमण जोखिम न्यूनीकरणका लागि भारतमा भन्दा नेपालको व्यवस्थापन उत्कृष्ट रहेको दाबी गरेका छन् । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले आइतबार भैरहवामा आयोजना गरेको छलफलमा उनले सीमावर्ती क्षेत्रमा भारतले सतर्कता अपनाउन नसक्दा चिन्ता लिनुपर्ने अवस्था रहेको बताए । ‘दिल्ली, मुम्बईलगायत टाढा–टाढाबाट संक्रमित सिमानासम्म आइपुग्दा खोइ त रोकेको ?’ उनले भनेका थिए ।

सीमाबाट नेपाली आउने क्रम बढ्न सक्ने भएकाले क्वारेन्टाइनको क्षमता बढाउनेतर्फ लाग्न जरुरी रहेको उनले बताए । यसका लागि सबैभन्दा जिम्मेवार स्थानीय तह रहेको उल्लेख गर्दै तिनलाई सबैले सहयोग गर्नुपर्ने बताए । संक्रमण बढ्दो अवस्थामा रहेकाले तत्काल कम्तीमा दुई सय बेड क्षमताको आइसोलेसनको निर्माण गर्न उनले जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् । यसका लागि होटल र अस्पतालमा खाली रहेको बेड प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?