दैलेखको आठबीसकोट नगरपालिकाका ३५ वर्षीय युवकमा संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुगेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको कर्णाली प्रदेशमा सोमबार संक्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका ती युवक जेठ १ गते गाउँ पुगेका थिए ।
सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई ल्याउने तर अझै ठोस योजना बनाएपछि मात्रै निर्णय हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज र कोसी अस्पताल विराटनगर गरिएको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३७५ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन्।
सोमबार मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सालाई स्वीकृत गर्यो । भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई यो नक्सामा समेटिएको छ ।
जिल्लामा आइसोलेसनमा रहेका एक युवाको मृत्यु भएको छ । रोल्पा नगरपालिका १ का २२ वर्षका युवाको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । उनी आइतबार राति अस्पतालमा भर्ना भएका थिए ।
खोटाङमा एक जना युवालाई कोरोना संक्रमण देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ बस्ने २० वर्षीय युवामा कोरोना संक्रमण देखिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले कान्तिपुरलाई बताए ।
लोकसेवा आयोगले परीक्षाको चरणमा नपुगेका सबै तहका कर्मचारी छनौट प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ । सोमबार बसेको आयोगको बैठकले सरकारको निर्णयअनुसार परीक्षाको तहमा नपुगेका कर्मचारी छनौट प्रक्रियाहरुलाई स्थगित गर्ने निर्णय गरेको हो । अहिलेसम्म दरखास्त आहृवान भएका सूचनाहरु पनि स्थगित भएका छन् ।
मन्त्रिपरिषद्ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । आइतबारको मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् ।
प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन रोक्न र वर्तमान परिस्थितिमा सरकारको नेतृत्वमा रहेर जनताको पक्षमा काम गर्न असफल भएको भन्दै सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।
प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारको गैरजिम्मेवारीपनका कारण बाँकेको क्वारेन्टाइनमा एक युवकको निधन भएको आरोप लगाएको छ । उसले यस्ता घटनाबाट शिक्षा लिँदै सरकारलाई गम्भीर भएर कार्य गर्न आग्रहसमेत गरेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति विभाग सिल गरिएको छ । धनकुटाको जिल्ला अस्पतालमा कार्यरत कोरोना संक्रमित नर्सले रिफर गरेको बिरामी विभागमा भर्ना भएको खुलेपछि सोमबार सिल गरिएको हो ।
सरकारको नीति तथा कार्यक्रमले कोरोना भाइरसको महामारीपछि कसरी सामाजिक र आर्थिक क्षेत्रलाई अगाडि बढाउने भन्ने योजना ल्याएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले बताएका छन् ।
भारतका विभिन्न स्थानबाट आउने नेपालीको संख्या दिनहुँ बढ्दै गएको छ । घन्टौं हिँडेर आएका उनीहरुलाई न त क्वारेन्टाइनमा राखिएको छ, न परीक्षण गरी घर जान दिइएको छ । सीमा क्षेत्रमा आएकाहरु दशगजामै अलपत्र परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार चारवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा विशेष अदालतमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
विभिन्न देशमा रहेका नेपालीहरुलाई देशभित्र ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक साँझ ६ बजे बस्ने भएको छ । लकडाउनपछि भारत लगायतका देशमा ठूलो संख्यामा नेपालीहरु अड्किएका छन् । बंगलादेश लगायतका देशमा रहेका विद्यार्थीहरुले आफूहरुको उद्दारका लागि सरकारलाई आग्रह गर्दै आएका छन् ।
नेपाल दुरसञ्चार कम्पनीका सेवानिवृत्त कर्मचारी ६७ वर्षीय नागेन्द्र पटेलका २ जना नातिनी छन् । वीरगन्ज महानगरपालिका– १६ निवासी पटेल सधैँझैं आइतबार बिहान पनि नजिकैको पसलमा दूध लिन जाँदै थिए, नातिनीहरुका लागि ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कपिलवस्तु जेठ २० गतेसम्म 'सिल' गरिने भएको छ । कोरोना संक्रमण न्यूनिकरणका लागि स्थानीय प्रशासनले जारी गरेको लकडाउन प्रभावकारी बनाउन भन्दै सोमबार बसेको जिल्ला सुरक्षा समिति बैठकले जिल्ला सिल गर्ने निर्णयको अवधि १५ दिन थप गरेको हो ।
बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतका अनुसार यिनमा अधिकांश भारतबाट फर्किएका नेपाली छन् । शनिबार २ सय ७३ जनाको स्वाब संकलन गरिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमितमध्ये ४६ जना पुरष र १ जना महिला भएको बताएका छन् ।
आर्थिक वर्ष २०७७-०७८ का लागि सरकारको नीति तथा कार्यक्रममा नेपाल सरकार तथा एमसीसीका बीच भएको सम्झौतामा उल्लेखित विद्युत प्रशारण लाइनसम्बन्धी आयोजना समावेश भएको भन्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य भीम रावलले आपत्ति जनाउँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।
सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले लकडाउनले आहत भएका जनतालाई जीवनरक्षाको प्रत्यभूति दिन नसकेको सांसद विनोद चौधरीले टिप्पणी गरेका छन् ।
प्रतिपक्षी कांग्रेसका सांसदले तत्काल सुरक्षा परिषद् बैठक बोलाएर भारतले मिचेको नेपाली भूमि रक्षाका लागि सेना परिचालन गर्न सुझाव दिएका छन् । पूर्वरक्षामन्त्रीसमेत रहेका सांसद भीमसेनदास प्रधानले सीमाबारे भारतसँग वार्ता गरिराख्ने र सेनालाई सीमा रक्षामा पनि खटाउनुपर्ने बताएका हुन् ।
बाँकेको नरैनापुरको क्वारेन्टाइनमा एक युवकको कोरोनाका कारण भएको मृत्युले केही गम्भीर प्रश्न उब्जाएको कांग्रेसले आरोप लगाएको छ । विश्वव्यापी रूपमा लाखौंको मृत्यु भइरहेका बेला ती युवकको मृत्युलाई केवल एक थान मृत्युुका रूपमा बुझिए र त्यसका पछिल्तिर रहेका गम्भीर प्रश्नहरुलाई नजरअन्दाज गरिए कोरोनासँगको संघर्षका आगामी दिनहरू झनै विकट हुने कांग्रेसले आरोप लगाएको छ ।
उत्तरी छिमेकी चीनसँग सीमा जोडिएको हिमालपारिको मुस्तङामा पर्ने कोरला नाकामा शसस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बीओपी) राख्ने तयारी भएको छ । मुस्ताङको चीनसँग कोरला नाका समेत १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ ।
सत्तारुढ नेकपाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूमाथि लाग्दै आएको सांसद अपहरणको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा उनले आफूमाथि लागेको सांसद अपहरणको आरोप पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार भएको बताए ।