कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वीरगन्जमा भीटीएम अभावले स्वाब संकलन प्रभावित

संक्रमण पुष्टि भएका एकै परिवारका १७ जनाको सम्पर्कमा आएका ६० जनाको स्वाब संकलन गरिएको छैन । उनीहरुको गतिविधिमा पनि निगरानी छैन ।
भूषण यादव

वीरगन्ज — कोभिड संक्रमण फैलिन नदिन संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी सम्पर्कमा आएका व्यक्तिको थ्रोट स्वाब संकलन गरी परीक्षण गर्नुपर्छ । तर, उच्च जोखिममा रहेको वीरगन्जमा भीटीएम (स्वाब राख्ने भाँडो) अभावले स्वाब संकलन प्रभावित बनेको छ ।  

वीरगन्जमा भीटीएम अभावले स्वाब संकलन प्रभावित

स्वास्थ्यकर्मीका अनुसार आइतबार स्वाब संकलनका लागि पर्सामा ३ सय ५० वटा भीटीएम आवश्यक छ । तर, १ सय ७० वटामात्र उपलब्ध छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आइतबार इनर्वामा ५९ र छिपहरमाईमा ५५ जनाको स्वाब संकलन गरिने बताए ।

स्वाब संकलनका लागि वीरगन्जमा दुईदेखि तीन हजार भीटीएम आवश्यक छ । ‘नयाँ संक्रमित फेला परेका पर्साको छिपहरमाई गाउँपालिका, वीरगन्जको इनर्वा र छपकैयामा कनट्याक्ट ट्रेसिङको कार्य सम्पन्न भइसकेको छ,’ एक स्वास्थ्यकर्मी भन्छन्, ‘३५० भीटीएम चाहिएका बेला १७० वटामात्र उपलब्ध छ ।’

जोखिम क्षेत्रमा न्यून स्वाब संकलन

आइतबार मध्याह्नसम्म पर्सामा ९१ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये वीरगन्ज महानगरपालिका– ३ छपकैयामा मात्र ४० जना संक्रमित पाइएका छन् । गत मंगलबार एकैदिन पर्सामा ५७ जनामा संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समितिले त्यही राति ८ बजेदेखि जेठ ५ गतेसम्म पर्सामा निषेधाज्ञा लागू गर्‍यो । त्यसयता थप ९ जना संक्रमित फेला परिसकेका छन् ।

निषेधाज्ञा जारी गरे पनि तीव्र रुपमा स्वाब संकलन नगरेको गुनासो बढ्दो छ । संक्रमितमध्ये ४० जना वीरगन्ज महानगरपालिका– ३ छपकैयाका बासिन्दा हुन् । उक्त वडाका संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट आएका थप ६० जनाको स्वाब संकलन हालसम्म नभएको स्थानीय शत्रुघन नेपालले जनाए । ‘६ दिनदेखि निषेधाज्ञा लागू भए पनि स्वाब संकलन भएको छैन,’ उनले भने, ‘गत वैशाख २४ मा संक्रमण पुष्टि भएका एकै परिवारका १७ जनाको सम्पर्कमा आएका ६० जनाको स्वाब संकलन गरिएको छैन । उनीहरुको गतिविधिमा पनि निगरानी छैन ।’ गत वैशाख १४ मा वडा ३ मा पहिलो संक्रमित पुष्टि भएको थियो । ४६ वर्षीय ती संक्रमित वीरगन्ज महानगरपालिकाका सरसफाइ कर्मचारी हुन् ।

त्यसको एक सातापछि त्यही वडाका ३६ वर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो । ती युवक राहत वितरण समितिमा नेकपाबाट सदस्य दिए । गत वैशाख २४ मा ती युवकका परिवारका १७ जना पोजिटिभ देखिएपछि वडा सिल गरिएको थियो । त्यसको ३ दिनपछि सोही टोलका ६२ वर्षीय किराना पसलले पनि कोभिड संक्रमित पुष्टि भए । ‘निषेधाज्ञा लगाइएपछि यस क्षेत्रमा सुरक्षाकर्मी पनि आउन छाडेका छन्,’ उनले भने, ‘संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब पनि लिइएको छैन । निषेधाज्ञा मात्र लगाएर कोभिडको जोखिम कम हुने होइन ।’

वडा ३ का अध्यक्ष वैजु स्वर्णकार पछिल्लो २० जना संक्रमित पुष्टि भएदेखि वडामा स्वाब संकलन नभएको बताउँछन् । ‘६ दिनदेखि वडामा स्वाब संकलन भएको छैन । भीटीएम अभावले छ,’ उनले भने, ‘वडावासी त्रसित छन् ।’ छिमेकमा संक्रमण भएकाहरुले फोन गरेर आफ्नो र परिवारको स्वाब परीक्षण गराइदिन फोन गर्ने गरेको उनले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?