नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने भारतीय पक्षको प्रतिबद्धता

अर्जुन राजवंशी

घेराबारी (झापा) — सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्नेको पहिचान गरी कारबाही गर्ने भारतीय पक्षले प्रतिबद्धता जनाएको छ ।

नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने भारतीय पक्षको प्रतिबद्धता

कचनकवल गाउँपालिका १ घेराबारीस्थित झण्डु गाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्टमा भारतीय नागरिकले शनिबार साँझ आक्रमण गरेका थिए । उक्त विषयमा आइतबार बिहान नेपाल–भारत सिमानाको दशगजामा दुवै देशका प्रतिनिधिबीच बैठक बसेको थियो ।

बैठकमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने आफ्ना नागरिकको पहिचान गरी कारबाही गर्ने भारतीय पक्षले प्रतिबद्धता जनाएको छ । ‘भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कमाण्डरले आक्रमण गर्न आउने व्यक्तिहरुको नामावली र पहिचान भइसकेको बताए,’ कचनकवलका अध्यक्ष अन्जार आलमले भने,‘उनीहरुलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्ने मौखिक प्रतिबद्धता जनाएका छन् । घटनाप्रति भारतीय पक्षले क्षमायाचना समेत गरे ।’

नेपाल–भारतको सीमाअन्तर्गत १२५/१० नम्बरको सहायक पिल्लर नजिक बसेको सशस्त्रको अस्थायी पोस्टमा शनिबार साँझ साढे ७ बजे भारतीय नागरिकले आक्रमण गरेका थिए । ५०–६० जनाको संख्यामा घरेलु हतियारसहित आएका भारतीयले सशस्त्रको पोस्टमै आएर आक्रमण गरेका थिए । उनीहरुले अस्थायी पोस्टको पाल च्यातिदिनुकासाथै एउटा कुर्सी भाँचिदिएका छन् । पोस्टमा रहेको एउटा साइकल समेत उनीहरुले लुटेर लगेका छन् ।

पोस्टमा सशस्त्रका पाँच जना जवानले सुरक्षा प्रदान गर्दै आएका छन् । ३ जना साँझको खाना खान गएको समयमा मौका छोपी भारतीयहरुले नेपाली सुरक्षाकर्मी र पोस्टमा आक्रमण गरेका थिए । पोस्ट भत्काउनुका साथै आफूहरुमाथि समेत आक्रमण गर्ने अवस्था बनेपछि सशस्त्रले फायर खोलेको थियो । एक राउण्ड हवाई फायर गरेपछि भारतीयहरु पछि हटेका थिए ।

यसअघि गत वैशाख २२ गते अपरान्ह जिल्लाकै झापा गाउँपालिका ४ स्थित १३१/१ नम्बर पिल्लर नजिकको सशस्त्र प्रहरीको पोस्टमा पनि भारतीयहरुले आक्रमण प्रयास गरेका थिए । डेढ सय भन्दा बढीको संख्यामा भारतीयहरु घरेलु हतियारसहित दशगजासम्मै आएर नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : जेष्ठ ४, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?