१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाँकेको क्वारेन्टाइनमा २५ वर्षीय युवकको मृत्यु

२ घन्टासम्म भएको थियो बान्ता, कोरोना भए–नभएको रिपोर्ट आउन बाँकी
मधु शाही

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका एक जना २५ वर्षीय युवकको आइतबार बिहान ४ बजे मृत्यु भएको छ । गाउँपालिकाको मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।

बाँकेको क्वारेन्टाइनमा २५ वर्षीय युवकको मृत्यु

नतिजा आइनसकेकाले उनको मृत्यु कोरोना भाइरसले भएको हो या होइन भन्नेमा पृष्टि भइनसकेको बाँकेका जनस्वास्थ्य फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

क्वारेन्टाइनका इन्चार्ज प्रेम बुढाका अनुसार मृतकलाई राति अचानक बान्ता आएपछि जीवनजल खान दिइएको थियो । जीवनजल खाएको दुई घन्टासम्म पनि उनको बान्ता नरोकिएको र उनको मृत्यु भएको बुढाले जानकारी दिए ।

दिपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका चार जनामा यसअघि कोरोना संक्रमण पुष्टि भइसकेको छ । बान्ता भएकै कारण युवकको मृत्यु भएकाले क्वारेन्टाइनमा रहेका २ सय ३ जनासहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत त्रासमा रहेको बुढाले बताए ।

मृतक युवक भारतको महाराष्ट्रदेखि आएका थिए । हिँडेरै आएका उनी सीमामा हप्तौ बसेको इन्चार्ज बुढाले जानकारी दिए । नरैनापुर गाउँपालिकामा भारतदेखि आएका ५ सयभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये पीसीआर परीक्षणबाट ८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?