१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अस्पताल र स्वास्थ्यकर्मीबाटै संक्रमणको उच्च जोखिम

कोरोनाको लक्षण नदेखिने वा मधुरो लक्षण भएका बिरामी बढी हुनुले समेत संक्रमितबाट स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीबाट उपचारका लागि आएका अन्य बिरामीमा रोग सर्ने जोखिम बढी रहेको विज्ञहरु बताउँछन् ।
अतुल मिश्र

काठमाडौँ — स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिन थालेकाले विशेषज्ञहरुले अस्पताल तथा स्वास्थ्यकर्मीलाई उच्च सावधानी अपनाउन सुझाव दिएका छन् । उनीहरुले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ख्याल नगरी अव्यवस्थित, अनियन्त्रित उपचार प्रक्रिया अघि बढाउँदा हाल अस्पताल र स्वास्थ्यकर्मीहरु नै कोराना भाइरस संक्रमणको स्रोत हुने जोखिम बढेको विश्लेषण गरेका छन् ।

अस्पताल र स्वास्थ्यकर्मीबाटै संक्रमणको उच्च जोखिम

स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आएका वा बिरामी कुरुवाको भीड नियन्त्रण गर्ने प्रभावकारी कदम चालिएको देखिँदैन । अस्पताल, मेडिकल कलेज, स्वास्थ्य चौकी आदिले संक्रमण नियन्त्रण समिति बनाएका छैनन् भने बनेकाहरुको सक्रियता पनि न्यून छ । जसका कारण स्वास्थ्य संस्थाबाट संक्रमण फैलिने जोखिम बढेको हो । हाल कपिलवस्तुमा एक जना नर्सलाई संक्रमण देखिएको छ ।

‘हामीले अस्पताल खोल्यौं तर पूर्वतयारीको अभावमा अस्पताल र स्वास्थ्यकर्मी नै कोरोना संक्रमणको स्रोत हुन सक्ने जोखिम बढयो,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने । उनका अनुसार कोरोनाको लक्षण नदेखिने (एसिम्प्टोम्याटिक) वा मधुरो (माइल्ड) लक्षण भएका बिरामी बढी हुनुले समेत संक्रमितबाट स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीबाट उपचारका लागि आएका अन्य बिरामीमा रोग सर्ने जोखिम बढेको हो ।

कोभिड महामारीको अवस्थामा स्वास्थ्य संस्था तथा निकायहरुले अपनाउनुपर्ने सुरक्षा व्यवस्था प्रभावकारी नभएको विज्ञहरुको भनाइ छ । संक्रमित भएका स्वास्थ्यकर्मीहरुलाई दुई साता आइसोलेसनमा राख्नुपर्दा स्वास्थ्य संस्थामा जनशक्ति अभाव हुने अवस्था छ । ‘स्वास्थ्यकर्मीबाट बिरामी वा बिरामीबाट स्वास्थ्यकर्मी संक्रमित हुदा अन्तत: दोहरो मारमा बिरामी नै पर्ने छन्,’ डा. कार्की भन्छन्, ‘राज्य र स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मीसँगै बिरामी कोरोना संक्रमित नहुने अवस्था बनाउनुपर्छ । यसका लागि राज्यले स्वास्थ्यकर्मीलाई गुणस्तरीय सुरक्षा सामग्रीको निर्बाध आपूर्तिको व्यवस्था गर्नुपर्छ ।’

उनले स्वास्थ्य संस्थाहरुमा सामान्य उपचारका लागि आउने बिरामीलाई टाइम कार्ड दिएर सामाजिक दूरी पालना गर्न लगाउँदै स्वास्थ्य सेवा नदिए भविष्यमा कोरोना संक्रमणको स्रोत अस्पताल र स्वास्थ्यकर्मी नै हुने चेतावनी दिए । स्वास्थ्यकर्मीले एक दिनमा सामान्यत: कति बिरामी हेर्ने, कसरी बिरामीको व्यवस्थापन गर्ने, बिरामीसँग अधिकतम् प्रत्यक्ष सम्पर्कबिना कसरी सेवा दिने भन्नेमा सचेत हुनुपर्नेमा उनले जोड दिए ।

विज्ञहरुले बिरामीले बढीभन्दा बढी लाभ लिन सक्ने तथा स्वास्थ्यकर्मी संक्रमित नहुने अवस्था सिर्जना गर्न व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को व्यवस्थापनका लागि राज्य पक्ष थप संवेदनशील हुनुपर्ने आवश्यकता रहेको औंल्याएका छन् । ‘मुलुकका सबै स्वास्थ्य संस्थाले कोभिड–१९ विरुद्घको विश्वव्यापी बचाउको उपाय अपनाउनुपर्छ, किनभने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट पनि संक्रमणको सम्भावना छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने, ‘स्वास्थ्यकर्मीले पीपीईको समुचित उपयोग गर्नु आवश्यक छ ।’

तर, पीपीई लगाएकै भरमा स्वास्थ्यकर्मीबाट बिरामीलाई संक्रमण नहुने ग्यारेन्टी हुँदैन । यसैले स्वास्थ्यकर्मीले हरेकपटक नयाँ बिरामीलाई सेवा दिँदा ग्लब्स संक्रमण मुक्त (सेनिटाइज) गर्नुपर्ने तथा दूरी कायम राख्नुपर्छ । ‘संक्रमण हुन सक्ने जोखिम न्यूनीकरणका प्रक्रियालाई शून्यमा राख्ने प्रयास गर्दै एउटा व्यक्तिलाई हेरेपछि अर्को बिरामीलाई हेर्नुपर्‍यो,’ डा. राजभण्डारीले भने ।

उपयोग गरिएका पीपीई, ग्लब्स, मास्कलगायत सामग्रीसमेत कोभिड–१९ संक्रमणको स्रोत हुन सक्ने भएकोले प्रयोग गरिसकेपछि त्यस्ता सामग्रीलाई संक्रमणमुक्त गरेर मात्र विसर्जन गर्नुपर्छ । तर, अझैसम्म मुलुकमा अस्पतालजन्य फोहोरलाई संक्रमणमुक्त गरेर विसर्जन गर्ने प्रक्रिया भने सुरु हुन नसकेको स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरु स्विकार्छन् । ‘संक्रमणबाट बचाउने प्रक्रियामा कमीकमजोरी छन्, स्वास्थ्य संस्थामा उपयुक्त व्यवस्थापन नहुँदा स्वास्थ्यकर्मी र सफाइकर्मीमा रोग सर्ने उच्च सम्भावना हुन्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले भने । उनका अनुसार कोरोना संक्रमणबाट जोगाउन नेदरल्यान्डस्, अस्ट्रेलिया, क्यानाडालगायत केही मुलुकमा स्वास्थ्यकर्मीलाई बीसीजीको पुन: खोप दिइएको छ ।

‘यो भाइरसका बारेमा अझै हामीलाई धेरै थाहा नै छैन, तर जे जानकारी पाइन्छ त्यसको उपयोग गर्नुपर्छ,’ डा. मिश्र भन्छन्, ‘स्वास्थ्य संस्थामा संक्रमण नियन्त्रणको प्रयास विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्रावधानअनुसार हुनुपर्छ, यसमा कमी भए रोग सर्ने सम्भावना बढ्छ ।’ संक्रमण रोक्न आइसोलेसन वार्डमा प्रवेश गर्ने र बाहिरिने अलग–अलग ढोका हुनुपर्नेमा उनले जोड दिए ।

सरकारले कोभिड–१९ संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापनसम्बन्धी निर्देशिकासमेत तयार गरेको छ । जसमा कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अस्पतालले अन्य रोगका बिरामीको उपचारमा संलग्न गराउन नमिल्ने उल्लेख छ । स्वास्थ्यकर्मीलाई बढीमा १४ दिनसम्म दिनको बढीमा १० घण्टासम्म मात्र काम गर्ने व्यवस्था मिलाउन भनिएको छ । संक्रमितको उपचारमा प्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मीलाई भूमिकाअनुसार आवश्यक पीपीई उपलब्ध गराउनुको साथै संक्रमण रोकथाम तथा नियन्त्रणका उपाय प्रोटोकलअनुसार पूर्ण पालना गराउनसमेत निर्देशन दिइएको छ । यस्तै, निर्देशिकामा उपचारमा प्रयोग भएका सुरक्षा सामग्रीको उचित विर्सजनको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

थप २ जिल्लामा संक्रमण विस्तार

कोरोना भाइरसको संक्रमण थप २ जिल्लामा विस्तार भएको छ । शनिबार सिराहा र काभ्रे जिल्लामा संक्रमण देखिएको हो । शुक्रबार धादिङ र दाङमा नयाँ संक्रमित भेटिएका थिए । योसँगै देशभरका २७ जिल्लामा संक्रमण पुगेको छ । शनिबारसम्म प्रदेश १ मा ३६ जना, प्रदेश २ मा १०९, वाग्मती प्रदेशमा १६, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १०९ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा संक्रमण विस्तार भइसकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म २ सय ७८ जनामा कोभिड–१९ संक्रमण देखिएकोमा ३६ जना अस्पतालबाट डिस्चार्ज भएका जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरुमा २ सय २४ जना पुरुष र ५४ जना महिला छन् ।

शनिबार देशभर २ हजार ६ सय ६४ नमुनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म यो संख्या २६ हजार ६ सय ९१ पुगेको छ । यस्तै, आरडीटीबाट शनिबार २ हजार ५ सय ७९ नमुनाको परीक्षण गरिएको छ । मुलुकभर हालसम्म भएको आरडीटी परीक्षणको संख्या ६५ हजार ७ सय ४९ छ । देशभर १६ हजार ३ सय ६६ जना क्वारेन्टाइनमा र उपत्यकामा ३२ तथा उपत्यकाबाहिर २ सय ८८ जना गरी ३ सय २० जना आइसोलेसनमा छन् ।

प्रकाशित : जेष्ठ ४, २०७७ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?