सुत्केरी महिलाको कोभिड-१९ का कारण मृत्युपछि स्थानीयमा त्रास

शंकास्पद क्षेत्र उच्च सर्तकतासहित सिल
अनिश तिवारी

सिन्धुपाल्चोक — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण जिल्लाकी एक महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएपछि ती महिलाको प्रारम्भिक उपचार गरिएको अस्पताल तथा गाउँक्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका वडा ७, ८ देखि बाह्रबिसे नगरपालिका, बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रलाई सिल गरिएको छ ।

सुत्केरी महिलाको कोभिड-१९ का कारण मृत्युपछि स्थानीयमा त्रास

बाह्रबिसे नगरक्षेत्रकी सुत्केरी महिला कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको खबरले सबैजना त्रसित बनेका छन् ।

‘स्थानीय एकदमै आतंकित बनेका छन् । सचेतना अपनाउनको लागि सल्लाह दिइरहेका छौं । गाउँदेखि बजारसम्मै डरले बाहिर निक्लिएका छैनन्,’ बाह्रबिसे नगरपालिका वडा ९ का अध्यक्ष सानु लामाले भने । स्थानीयको सुरक्षाको लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई गुर्हार्दै यसबारे नगरभरका जनप्रतिनिधि छलफलमा जुटिरहेको उनले जनाए ।

२९ वर्षकी महिलाले बैशाख २३ गते काठमाडौंको महराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डिस्चार्ज भएलगत्तै एम्बुलेन्सबाट बाह्रबिसे फिरेकी उनी बिहीबार बिहानदेखि बिरामी परेकी थिइन् ।

निजी बोलेरोबाट उपचारर्थ बाह्रबिसे बजार आइपुगेकी उनलाई ज्वरो, रुघाखोकी र स्वासप्रस्वासमा समस्या भएर अवस्था जटिल बनेपछि तत्कालै काभ्रेको धुलिखेल अस्पताल रिफर गरिएको बाह्रबिसे नगरस्थित बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रकी डा. सिर्जना मर्हजनले बताइन् ।

‘उनमा छात्ती दुख्ने र स्वासप्रस्वासमा समस्या, ज्वरोको देखिएको थियो, अवस्था एकदमै गम्भिर देखिएपछि काभ्रेको धुलिखेल अस्पताल रिफर गरेका थियौं,’ मर्हजनले भनिन् ।

बिहीबार साँझ नै बाह्रबिसे नगरस्थित स्वास्थ्य केन्द्रबाट स्वाप्रश्वासमा समस्या भएपछि उपचारको लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । स्वाब लिएर परीक्षण गर्दा शनिबार रिपोर्ट पोजिटिभ आएपछि थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला पठाइएको थियो ।

आफन्तकाअनुसार सुत्केरी महिलाले बुधबार मासुभात खाएपछि अचानक स्वासप्रस्वासमा समस्या सुरु भएको थियो । रातमा एक्कासी स्वासप्रस्वासको समस्याले च्यापेपछि बिहीबार बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पताल लगिएको थियो ।

यो घटनापछि स्वास्थ्य परीक्षणको लागि स्थानीयले जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई गुहार मागेका छन् । ‘हामी यो घटनाले सबै त्रसित बनेका छौं । तत्कालै त्यस वरपरका सम्भावित क्षेत्रमा सबैको संक्रमण परीक्षण गरियोस्, जनप्रतिनिधि र स्वास्थ्यकर्मी यस्तो बेला कहाँ हुनुहुन्छ ?’ स्थानीय सुमन तिमल्सिनाले दुखेसो गरे ।

मृतकको गाउँ पुगेर स्थगलत रुपमा कोरोना भाइरस संक्रमित हुनसक्ने आशंकामा छुट्टै टिम बनाएर अगाडी बढ्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए । ‘शंकास्पद सबै स्थान सिल गरेर उच्च सर्तकता अपनाइएको छ, आइतबार टिमसहित पुगेर स्वास्थ्य परीक्षणको अभियानलाई अगाडी बढाउनेछौं । सुरक्षा सर्तकता अपनाउँदै छौं,’ उनले भने ।

जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको समुहले कोरोना भाइरस संक्रमण फैलिन नदिन रोकथाम गर्न स्वास्थ्य, स्वाब परीक्षणको लागि पूर्वयोजना बनाइरहेको उनले जानकारी दिए ।

कोरोना भाइरस रहेको पुष्टि भएपछि जिल्लाभर त्रास छाएलगत्तै बाह्रबिसे स्वास्थ्य केनद्र, चालिसे गाउँदेखि बजारक्षेत्रमा आउजाउ पूर्ण रुपमा ठप्प पारिएको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले जानकारी दिए ।

‘संक्रमितले काठमाडौंदेखि बाह्रबिसेसम्म आउन एम्बुलेन्स प्रयोग गरेको देखिन्छ । त्यसपछि निजी बोलेरोबाट गाउँ पुगेको देखिन्छ । अस्पताल झर्न निजी बोलेरो प्रयोग गरेको पाइएको छ । सबैको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं,’ उनले भने । संक्रमित बसोबास गर्ने गाउँमा हालै केही समस्या देखिएको छैन ।

प्रकाशित : जेष्ठ ३, २०७७ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?