कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निगमको एरोबिल दुरुपयोग गर्दै फ्ल्यास फ्रेइटले हिमालय एयरलायन्समा चार्टर गर्‍यो 

सुरज कुँवर

काठमाडौँ — ‘राज्यलाई आइपरेको कठिन घडीमा मेडिकल सामान चार्टर उडान गरी सहयोग गरेको’ बताउने कार्गो कम्पनी फ्ल्यास फ्रेइट लजेस्टीक प्रालीले लकडाउनका बेला चार्टर उडान गर्दा नेपाल वायुसेवा निगमको एरोबिल दुरुपयोग गरेको भेटिएको छ । 

निगमको एरोबिल दुरुपयोग गर्दै फ्ल्यास फ्रेइटले हिमालय एयरलायन्समा चार्टर गर्‍यो 

उक्त कार्गो कम्पनीले नेपाल वायुसेवा निगमले जारी गरेको एरोबिलबाट हिमालय एयरलायन्समा मेडिकल चार्टर गरेको भेटीएको हो । हवाई कार्गो क्षेत्रमा एरोबिललाई मानिसको जस्तै कार्गोको टिकट सरह मानिन्छ । एउटा एयरलायन्सको एयरबिल प्रयोग गरेर अर्को एयरलायन्सबाट सामान आयत गर्नु भनेको एउटा एयरलायन्सको टिकट काटेर अर्को एयरलायन्समा गैरकानुनी तरिकाले यात्रा गर्नु सरह हो ।

निगमको वाणिज्य विभागका अनुसार, फ्ल्यास फ्रेइटले निगमको अर्थ विभागबाट खरिद गरेकामध्ये नौवटा (१७९५३, २५६७५, २५९००, २४८१३, २५७५६, २५९४४, २५५६१, २५७७१ र २५९५५) नम्बर भएका एरोबिल दुरुपयोग गरेको भेटिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको निगमको यात्रु सेवा विभागले निगम मुख्यालयलाई बैसाख १७ गते यो विषयमा लेखेको घटना विवरणअनुसार, फ्ल्यासले बैसाख १५ गते हिमालय एयरलायन्सको उडान नम्बर ७७१ मा ग्वाङजाउबाट गरेको कार्गो उडानमा निगमका नौंवटा एरोबिल दुरुपयोग गरेको उल्लेख छ ।

एरोबिल अर्न्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा) लगायतको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कागजात हो । यसमा कार्गो सामानको तौल, अकार, दररेट, मुद्रा, आयत निर्यात गर्ने एजेन्टको विवरण, लेखा प्रणाली, एजेन्टको आयटा कोड लगायतका विवरण हुन्छन् । यसैका आधारमा भन्सार नाकामा प्रक्रिया हुन्छन् ।


यात्रुको टिकट भनेजस्तै यो कार्गो सामानको टिकट हो । ‘उड्डयन क्षेत्रमा यो क्यासभ्यालु भएको चेकजस्तै महत्वपुर्ण डकुमेन्ट हो,’ नेपालमा लामो समयदेखि कार्गो व्यवसाय गर्दै आएका व्यवसायीले कान्तिपुरसँग भने, ‘यस्तो दुरुपयोगमा निगमले प्रति किलोग्रामका आधारमा जरिवाना असुल्दै कालो सूचीमा राख्नुपर्छ ।’

उनका अनुसार यदि हिमालय एयरलायन्समार्फत् ल्याइएको कार्गो सामान टुटफुट वा क्षति वा अरु कुनै दुर्घटना भइदिएको भए निगम जिम्मेवार हुन्थ्यो । उसले अन्तर्राष्ट्रिय नियमअनुसार, प्रति किलोग्राममा २० डलर क्षतिपुर्ति दिनुपर्ने हुन्थ्यो । अरु कुनै भवितव्य भइदिएको भए कानुनी उल्झन त निगमले झेल्नै पर्थ्यो ।

फ्ल्यास फ्रेइटले निगमको एरोबिल दुरुपयोग गरेको जानकारी सबैभन्दा पहिले विमानस्थलमा कार्गो व्यवस्थापन गर्ने निगमका कर्मचारीले थाहा पाएका थिए । उनीहरुले निगमको कोड नम्बर २८५ बाट कार्गो आयत भएको देखेपछि त्यहाँ रहेको यात्रु सेवा विभागका निर्देशक जनक कालाखेतीलाई जानकारी गराएका थिए ।

निर्देशक कालाखेतीले उक्त चार्टर उडानबाट ल्याइएको कार्गोलाई एक दिनका लागि रोकिदिएका थिए । तर, निजी क्षेत्रका व्यापारीको मेडिकल सामाग्री भएकाले निगमले दबाब थेग्न नसकेर सामान बुझाउने प्रक्रिया अघि बढाउदै फ्ल्यास फ्रेइटकी महाप्रबन्धक अरुणा सिग्देलसँग सोधपुछ गरेको थियो ।

त्यसपछि कम्पनीका तर्फबाट सिग्देलले माफी माग्दै निगमलाई इमेल पठाएकी थिइन । उक्त इमेल, घटनाको विवरण र त्यस कम्पनीसँग हालै भएको एजेन्सी सम्झौतासहितका कागजात यतिबेला निगमको कानुनी महाशाखामा रायका लागि वाणिज्य विभागले पठाएको छ । हाल उक्त महाशाखामा फ्ल्यासलाई जरिवाना लगायतका कारबाही नगर्न दबाब दिइएको सम्बद्ध स्रोतले भनेको छ ।

‘कानुन शाखाले निगमको आर्थिक विनियमअनुसार कारबाही के गर्ने भन्नेबारे लेखेर पठाएपछि यो विवाद टुंगिएला,’ निगमका एक निर्देशकले भने । फ्ल्यास फ्रेइटले ती एरोबिलबाट कति मूल्य बराबरको कति तौल कार्गो ल्यायो भन्नेबारे अझै निगमलाई जानकारी गराइसकेको छैन ।

निगमका एक उच्च अधिकारीका अनुसार, ग्वाङजाउमा सामान लोड हुँदै गर्दा हिमालयका प्रतिनिधिले निगमको एरोबिल नम्बर देखेपछि सामान लैजान नमिल्ने भनेका थिए । तर, फ्ल्यास फ्रेइटका प्रतिनिधिले ‘यो विषयमा विवाद हुँदैन हामीले निगमसँग मिलाइसकेका छौं’ भनी टारेको ती अधिकारीले बताए ।

यस विषयमा दुई दिन तारन्तार जानकारी लिन फ्ल्यास फ्रेइटकी महाप्रबन्धक अरुणा सिग्देलसँग सर्म्पक गर्दा उनी सम्पर्कमा आउन चाहिनन् । म्यासेजको जवाफ पनि दिइनन् ।

प्रकाशित : जेष्ठ ३, २०७७ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?