कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहामा पहिलोपटक कोरोना पुष्टि

प्रदेश २ का सबै जिल्लामा पुग्यो संक्रमण
भरत जर्घामगर

सिरहा — सिरहामा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीका साउदी अरबबाट फर्केका ३० वर्षीय युवकमा शनिबार संक्रमण पुष्टि भएको हो । जिल्लामा पहिलो संक्रमित भेटिएसँगै प्रदेश २ का आठै जिल्ला कोरोनाबाट प्रभावित भएका छन् ।

सिरहामा पहिलोपटक कोरोना पुष्टि

गत फागुन २८ गते साउदीबाट नेपाल आएका ती युवक भोलिपल्ट बिहीबार लतियाही घर पुगेका थिए । वैशाख २९ गते भगवानपुर गाउँपालिकाको स्वास्थ्य केन्द्रमा उनको स्वाबको नमुना लिइएको थियो । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टबाट शनिबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । उनका अनुसार वैशाख २९ गते युवकसहित ३५ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । जिल्लाभरि पछिल्लो पटक १ सय ६८ जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये ७६ जनाको रिपोर्ट आएको छ । तीमध्ये एक जनाको पोजिटिभ नतिजा आएको हो ।

संक्रमण पुष्टि भएका ती युवकलाई शनिबार नै जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालमा राखिएको छ । ती युवक सिरहाको बरियारपट्टी गाउँपालिका–५ हरिपुरस्थित ससुराली पनि पुगेका थिए । उनी आजै नवराजपुर गाउँपालिका–१ करमनियास्थित ठूलो बुबाको छोरीको विवाहमा सपरिवार जाने तयारीमा रहेका सखुवानन्कारकट्टी गाउँपालिका–१ का वडाध्यक्ष शुभनारायण यादवले बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईले संक्रमित व्यक्तिको यात्रा विवरणको आधारमा कन्टयाक्ट ट्रेसिङ गर्ने काम भइरहेको जानकारी दिए ।

शनिबार बिहानै स्वास्थ्य मन्त्रालयले जारी गरेको बुलेटिनमा ती युवकलाई सिरहा सखुवा–१९ निवासी ३० वर्षीय पुरुष भनिएको थियो । सखुवा–१९ लेखिएको बुलेटिन सार्वजनिक भएसँगै यहाँका जनप्रतिनिधिदेखि प्रहरी सबै अलमलिएका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?