कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ओली र दाहालले भने- ‘मदन-आश्रितको रहस्यमय मृत्युको सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लाग्छौं’

काठमाडौँ — नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले २७ वर्षअघि मदन भण्डारी र जीवराज आश्रित सवार जिप दुर्घटनामा भएको मृत्युको गहिरो अनुसन्धान गर्ने बताएका छन् । 

ओली र दाहालले भने- ‘मदन-आश्रितको रहस्यमय मृत्युको सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लाग्छौं’

२७ औं मदनआश्रित स्मृति दिवस तथा नेकपा गठनको दोस्रो वर्ष पुगेको सन्दर्भमा अध्यक्षद्वयले जारी गरेको वक्तव्यमा उक्त घटनाको गहिरो अन्वेषण गर्दै सत्य तथ्य सार्वजनिक गर्न निरन्तर लाग्ने बताएका हुन् । तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मृत्यु भएको थियो । यस्तै, २५ औं मदन आश्रित स्मृति दिवस पारेर ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएको थियो ।

यही सन्दर्भमा अध्यक्षद्वय ओली–दाहालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यी दुई लोकप्रिय नेताको रहस्यमय दासढुंगा जिप दुर्घटनामा दु:खद निधन भएको आज २७ वर्ष बितेकोे छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन् । उनीहरुमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रुपमा लिन्छन्’, ओली–दाहालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘२७ औ ‌मदनआश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुन: व्यक्त गर्दछ ।’

मदन-आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने संकल्प समेत अध्यक्षद्वयले गरेका छन् । कोरोना महामारीले निम्त्याएको स्वास्थ्य संकटसँगै यसपछि आउने आर्थिक मन्दीले सिर्जना गर्ने संकट निकै जोखिमपूर्ण हुने पनि ओली–दाहालको वक्तव्यमा छ ।

सरकारको प्रभावकारी कदमका कारण नेपालमा हालसम्म कोरोना महामारी निकै हदसम्म नियन्त्रित अवस्थामै भए पनि खुल्ला सिमाना, लकडाउनको पूर्ण परिपालनाको अभाव र कमजोर स्वास्थ्य पूर्वाधारका कारण उच्च जोखिम रहेको पनि वक्तव्यमा छ । अध्यक्षद्वय ओली दाहालले कोरोना महामारीविरुद्धको अभियानमा स्वय‌ंसेवी भावनाका साथ अग्रभागमा उभिएर योगदान गर्न पार्टी पङ्क्तिलाई आह्वान समेत गरेका छन् ।

यस्तै, पार्टी एकीकरण भएको दुई वर्षमा संगठनात्मक एकीकरणलाई आधारभूत रूपमा सम्पन्न गरेको भन्दै कोभिड–१९ का कारण पार्टी एकता सुदृढ तथा जन विस्तार अभियान प्रभावित भएको वक्तव्यमा छ । एकीकरणका बाँकी काम छिट्टै सम्पन्न गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतक अभिभारा पूरा गर्नमा केन्द्रित गर्न आवश्यक भएको अध्यक्षद्वयको वक्तव्यमा छ ।

ओली-दाहालले सरकारले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाशंक्षा पूरा गर्न अथक प्रयास गरेको पनि वक्तव्यमा छ । ‘गएका २ वर्षमा पार्टी नेतृत्वको वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न अथक प्रयास गरेको छ । थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । मुलुकको मुहार बदल्न प्राप्त यस ऐतिहासिक एवं दुर्लभ अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ संकल्पित छ ।’

प्रकाशित : जेष्ठ ३, २०७७ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?