१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भारतीय सेनापति भन्छन्,'लिपुलेकको विषयमा कुनै विवाद छैन'

'हामीले काली नदीको पश्चिमी भागमा सडक निर्माण गरेका हौं'

नयाँदिल्ली, काठमाडौं — भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले ‘अरु कसैको इसारामा’ पिथौरागढ–लिपुलेक सडकको विरोध गरेको आरोप लगाएका छन् । नयाँदिल्लीस्थित सुरक्षा तथा रणनीतिक मामिलाको थिंकट्याकं मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले शुक्रबार गरेको वेबनारमा नेपालले गरिरहेको विरोधमा चीनको हात रहेकोतर्फ संकेत गर्दै त्यस्तो धारणा राखेका हुन् । यद्यपि उनले चीनको नाम भने नलिएको स्रोतको भनाइ छ । 

भारतीय सेनापति भन्छन्,'लिपुलेकको विषयमा कुनै विवाद छैन'

भारतले गत शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाकको उद्घाटन गरेको थियो । भारतका रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत् पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए । उक्त सडकखण्ड आफ्नो भूमि भएर गएको भन्दै नेपालले विरोध जनाएको छ । र, त्यसलाई लिएर नेपालमा संसददेखि सडकसम्म विरोध प्रदर्शनहरु जारी रहेको छ । साथै नेपालले विरोधस्वरुप भारतलाई ‘प्रोटेस्ट नोट’ समेत बुझाइसकेको छ ।

तर भारतीय सेनाप्रमुख नरवणेले अहिले सडकलाई लिएर नेपालमा भइरहेको विरोधसमेत कुनै अर्थ नभएको बताएका छन् । ‘नेपालका राजदूतले काली नदी पूर्वको भाग उहाँहरुको भन्नु भएको छ । त्यसमा कुनै विवाद छैन । जबकी सडक पश्चिमतर्फ बनेको छ । त्यसैले उनीहरुले विरोध गर्नुको कारण मैले बुझेको छैन,’ नरवणेलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘विगतमा कुनै समस्या थिएन त्यही भएर अहिले यो मुद्दा कसैको इसारा उठाइको भन्नेमा विश्वास गर्ने आधार देखिन्छ र त्यसको बढी सम्भावना पनि छ ।’ तर, उनले काली नदीको मुहानका सम्बन्धमा नेपालको आफ्नो दाबीका बारेमा भने केही उल्लेख नगरेको स्रोतको भनाइ छ । नेपालले भारतलाई पठाएको विरोध पत्रमा सुगौली सन्धिलगायतका ऐतिहासिक प्रमाणलाई आधार मान्दै कालीपूर्वको भूमि आफ्नो भएको उल्लेख गरेको थियो ।

आईडीएसएले नियमित रुपमा गर्ने प्रबुद्ध व्यक्तिसँगको सम्वादअन्तर्गत शुक्रबार सेना प्रमुख नरवणे सहभागी थिए । कोभिड–१९ र भारतीय सेनाको भूमिका विषयको उक्त सम्वाद कार्यक्रममा भारतीय सेनाका पूर्व जनरल शेखर सिन्हाको जिज्ञासामा नरवणेले लिपुलेक र कालापानीका सम्बन्धमा त्यस्तो धारणा राखेका हुन् । तर, उनले नेपाल–भारत–चीनबीच त्रिदेशी विन्दुलगायत मुद्दाहरु भने मिलाउन बाँकी रहेको बताएका छन् ।

एउटा अर्को जिज्ञासामा नेपालको पछिल्लो विरोध र चीन र भारतबीच गत साता सिक्किमको उत्तरी सीमा भएको तनावबीच भने कुनै सम्बन्ध नभएको समेत उनको भनाई थियो । सिक्किमको उत्तरी क्षेत्रमा सीमामा खटिएका दुवै देशका सैनिकबीच झडप भएको थियो । उक्त झडपमा दुवै पक्षका सैनिकहरु घाइतेसमेत भएका थिए ।

भारतले उत्तराखण्ड हुँदै नेपाली भूमिबाट नेपाल–चीन सीमा विन्दु लिपुलेकसम्म सडक निर्माण गरेको छ । त्यसमा नेपालको दार्जुला जिल्लाको गुन्जीबाट लिपुलेकसम्म १९ किलोमिटर नेपाली भूमि रहेको छ । भारतका रक्षा मन्त्रीले उक्त सडकको एकतर्फी रुपमा नेपाललाई थाहा नै नदिई वैशाख २६ मा उद्घाटन गरेका थिए ।

प्रकाशित : जेष्ठ २, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?