२४ जिल्लामा फैलियो कोरोना संक्रमण

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २४ जिल्लाका संक्रमित पाइएका छन् । कुल संक्रमित संख्या भने २ सय ५८ छ । शुक्रबार बिहान मकवानपुरमा पहिलो पटक एक जनामा संक्रमण भेटिएसँगै २४ जिल्लामा संक्रमण फैलिएको हो । शुक्रबार बिहानै बाँकेको नरैनापुरका ८ जनामा संक्रमण देखिएको छ । 

२४ जिल्लामा फैलियो कोरोना संक्रमण

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार हालसम्मका संक्रमितमा २ सय ९ पुरुष र ४९ जना महिला छन् । तीमध्ये ३६ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन् ।

संक्रमण देखिएका २४ जिल्लामध्ये तराईका मात्रै १७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । अहिलेसम्म तराईका मोरङ, सुनसरी, सिरहा र दाङमा कोरोना संक्रमण देखिएको छैन । अहिलेसम्म सबैभन्दा बढी पर्सामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पर्सामा संक्रमण पुष्टि भएकामध्ये ३ जना निको भएका छन् ।

त्यस्तै कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, बारा र रौतहट, बारा र धुनषामा ३–३ जनामा संक्रमण देखिएको छ । त्यसैगरी झापा, महोत्तरी, सर्लाही, चितवन, बागलुङ र भक्तपुरमा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सप्तरी, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, बर्दिया, कञ्ञ्चनपुर, धादिङ, भोजपुर र मकवानपुरमा एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै निको हुनेहरुमा उदयपुरका १५, काठमाडौंका ५, कैलालीका ४, पर्साका ३, चितवन र बागलुङका २–२, तथा रुपन्देही, भोजपुर, कञ्चनपुर, झापा र रौतहटका एक–एक जना रहेका छन् ।

नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा कोरोना संक्रमण बढिरहेकाले तराईका जिल्लामा संक्रमण बढिरहेको छ । तराईका अधिकांश संक्रमित भारतबाट फर्किएकाहरु रहेका छन् ।

बिहीबार १ हजार ३ सय ६३ नमुनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म पीसीआरबाट २२ हजार ६ सय ४४ नमुनाको परीक्षण गरिसकिएको छ । यस्तै, आरडीटी किटबाट बिहीबार २ हजार ८ नमुनाको परीक्षण गरियो । हालसम्म आरडीटीबाट ६२ हजार ३ सय २७ नमुनाको परीक्षण गरिएको छ ।

हाल मुलुकमा १५ हजार ६ सय जना क्वारेन्टाइनमा छन् । प्रदेश १ मा ८ सय २०, प्रदेश २ मा १ हजार ६ सय ९६, वाग्मतीमा १ सय ९, गण्डकीमा २ सय ८६, प्रदेश ५ मा ७ हजार ९ सय ५८, कर्णालीमा १ हजार ६ सय ४ र सुदूरपश्चिममा ३ हजार १ सय २७ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : जेष्ठ २, २०७७ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?