२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

संक्रमित क्षेत्रबाट आएकाबारे स्थानीय तह बेखबर

संक्रमण बढ्न थालेपछि मात्रै काठमाडौं उपत्यका भित्रिने नाकामा आवतजावतमा कडाइ गरिएको छ । तर, लकडाउनयता कति भित्रिए भन्ने यकिन तथ्यांक कुनै पनि स्थानीय तहसँग छैन ।

काठमाडौँ — बाराबाट सोमबार मोटरसाइकलमा २ जना पुरुष ललितपुरको शंखमूलस्थित ग्रिल कारखानामा आएर बसे । कपिलवस्तुबाट आएका ३ जना पनि शंखमूलमै छन् । लुकीछिपी आएको थाहा पाएपछि उनीहरुबारे स्थानीयले ललितपुर महानगरपालिकालाई स्वास्थ्य परीक्षण नभएसम्म क्वारेन्टाइनमा राख्न आग्रह गरे ।

संक्रमित क्षेत्रबाट आएकाबारे स्थानीय तह बेखबर

तर, महानगरले क्वारेन्टाइन स्थल कोरोना पोजिटिभ भएका बिरामीसँग सम्पर्कमा आएका र पाटन अस्पतालमा उपचार गराइरहेका संक्रमितका आफन्तलाई मात्र राख्ने गरी सञ्चालनमा ल्याएको भन्दै राख्न मानेनन् । महानगरले वैशाख २२ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २० शय्याको क्वारेन्टाइन बनाएको थियो । मनिडोल टोल सुधार समिति शंखमूलका सचिव नारायण तण्डुकारले भने, ‘टोलबासीको हैसियतले जनप्रतिनिधिलाई बाहिरी जिल्लाबाट आएकाहरुको जानकारी गराएँ । तर, व्यवस्थापन गर्न नसकेकाले जानकारी गराएको कुनै औचित्य रहेन ।’

उनले जनप्रतिनिधिले चासो नदिएपछि टोलबासी मिलेर घर भाडामा बस्नेहरुलाई स्थिति सामान्य नभएसम्म गाउँ फर्केकाहरुलाई पुन: फिर्ता नबोलाउन माइकिङ गरेर सचेत गराएको बताए । ‘लुकीछिपी बस्ने अन्य पनि छन्,’ उनले भने, ‘यसप्रति जनप्रतिनिधिको ध्यान जाओस् ।’ स्थानीय पृथबिन्दु महर्जनका अनुसार शंखमूलमै नेपालगन्जबाट परिवारसहित आएर बस्ने पनि छन् । उनीहरुको स्वास्थ्य परीक्षणसमेत गरिएको छैन । ‘पछिल्लो समय संक्रमण बढी देखिएका तराईका जिल्लाबाट आउने धेरै छन्, यसले टोलमा संक्रमण हुने डर बढेको छ,’ उनले भनिन्, ‘जनप्रतिनिधिले यस्ता व्यक्तिहरुको तथ्यांक संकलन गरी निगरानीमा राख्ने, स्वास्थ्य जाँच गराउन पहल गर्नुपर्‍यो ।’

ललितपुर महानगरका सामाजिक विकास शाखाका संयोजक दिनेश कार्कीले एन्फास्थित क्वारेन्टाइन कोभिड संक्रमितसँग सम्पर्कमा आएकालाई मात्र राख्न बनाइएको बताए । ‘बागडोलस्थित ज्यापू समाजको वृद्धाश्रममा बनाइएको क्वारेन्टाइन भने त्यहाँका स्थानीयले विरोध गर्दा सञ्चालनमा ल्याउन सकिएन,’ उनले भने ।

संक्रमणको ‘हटस्पट’ बनेका तराईका विभिन्न जिल्लाबाट भित्रिने मानिसको संख्या बढेसँगै उपत्यकामा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन थालेको छ । संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यका भित्रिने नाकामा बिहीबारदेखि आवतजावतमा कडाइ गरिएको छ । तर, उपत्यका भित्रिसकेकाको यकिन तथ्यांक कुनै पनि स्थानीय तहसँग छैन । उपत्यका भित्रिएका मानिसको तथ्यांक संकलन, निगरानी गर्ने जिम्मेवारी पनि स्थानीय तहकै भएको जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य बताउँछन् । ‘काठमाडौं उपत्यकामा जति आएका छन्, सम्बन्धित स्थानीय तहले पहिचान गरेर परीक्षणको दायरामा ल्याउनुपर्छ,’ उनले भने ।

बाहिरी जिल्लाबाट फर्किनेको तथ्यांक संकलन गर्न प्रत्येक वडामा पत्र पठाउने तयारीमा रहेको ललितपुर महानगरका सामाजिक विकास शाखाका संयोजक कार्कीले बताए । ‘मुख्य त घरबेटीले छिर्न दिनुभएन,’ उनले भने । ललितपुरको गोदावरी नगरपालिकाले भने लुकीछिपी बस्नेहरुको वडाको पहलमा खोजी सुरु गरेको नगरप्रमुख गजेन्द्र महर्जनले जनाए । ‘ कान्ति लोकपथअन्तर्गतको तीनपाने भञ्ज्याङ र लेले तिलेश्वरमा प्रहरीसँगको समन्वयमा संयुक्त हेल्प डेक्स सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘नगरपालिका भित्रिसकेकाहरुलाई बज्रवाराही र लेलेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा ल्याइएको क्यारेन्टाइनमा राखिनेछ ।’

महालक्ष्मी नगरपालिकाले पनि बाहिरी जिल्लाबाट आउनेलाई स्वास्थ्य परीक्षण गराएर मात्र राख्न वडा कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ललितपुर छिर्ने नाका पूर्वमा लाकुरी भञ्ज्याङ, दक्षिणमा भट्टेडाँडामा कडाइ गरिसकेको दाबी गरे ।

बल्ल निगरानी बढाउँदै पालिका

भक्तपुरका चारवटै स्थानीय तहले उपत्यका बाहिरबाट आएकाहरुलाई कोरोना भाइरस (कोभिड–१९) परीक्षणको रिपोर्टबिना प्रवेश निषेध गरेको छ । भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले सवै ३८ वटा वडा कार्यालयमार्फत आ–आफ्नो नगर क्षेत्रभित्र लकडाउनको समय वा अघि अन्यत्र गएर आएका व्यक्तिलाई कोभिड–१९ परीक्षणको रिपोर्टबिना घरमा प्रवेश नदिन घरधनीलाई अनुरोध गरेका हुन् ।

नगर क्षेत्रभित्र प्रवेश गर्ने नागरिकको लगत संकलन तथा निगरानी बढाएको नगरप्रमुखहरुले जनाएका छन् । ‘बाहिरबाट आएकाको तथ्यांक लिने र सकेसम्म छिर्नै नदिने गरी कडाइ गरेका छौं,’ भक्तपुर नगरप्रमुख सुनिल प्रजापतीले भने, ‘सरकारले खुल्न दिने भनेको ४४ वटै उद्योगधन्दा भक्तपुर नगरमा खोल्न दिँदैनौं, उपत्यकामै खोल्न नदिने गरी छलफल गर्दै छौं ।’ वडास्तरबाटै कोभिड–१९ परीक्षणलाई तीव्रता दिने, स्वास्थ्य उपचारलगायत अतिआवश्यक कामबाहेक घर बाहिर निस्किन नदिने निर्णय गरिएको उनले बताए ।

भक्तपुरमा बसोबास गर्ने दुई जनामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि स्थानीय तहहरुले डेरा छोडेर गएका र लकडाउन बढेपछि र्फिता आएकाहरुमाथि निगरानी बढाएका हुन् । ‘नगर क्षेत्रभित्र आफ्नो घर वा भाडामा बस्ने व्यक्ति उपत्यकाबाहिर गएको भए फर्किआउन नदिने र आएको भए परीक्षण नगरी प्रवेश नदिन सम्बन्धित घरधनीलाई सजग गराएका छौं,’ मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘परीक्षण नगरी प्रवेश गराइएको पाइएमा घरधनीलाई समेत कडा कारबाहीका लागि सम्बन्धित कार्यालयमा सिफारिस गर्ने निर्णय भएको छ ।’

मध्यपुर थिमिले उच्च सतर्कता अपनाउँदै अरनिको राजमार्ग र पुरानो सडकबाहेक अन्य सहायक सडकहरुमा सार्वजनिक अवागमन पूर्णरूपले निषेध गर्ने निर्णयसमेत गरेको छ । नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरूपमा बन्द गर्ने जनाएको हो ।

सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले पनि उपत्यकाबाहिरबाट नगर क्षेत्रमा बस्दै आएका बाहलवाला गाउँबाट फर्किएको भए विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । सूर्यविनायकले खाद्यान्न, औषधि पसललगायत अत्यावश्यक सामग्री खरिदबिक्रीका लागि बिहान ९ बजेसम्म मात्र खोल्न अनुमति दिएको जनाएको छ । सूर्यविनायकका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीका अनुसार नगरको १० वटै वडा कार्यालयहरुले आफ्नो क्षेत्रभित्र उपत्यकाबाहिरबाट प्रवेश गरेका नागरिकको निगरानी गर्ने, स्वास्थ्य परीक्षण गराउने कार्यको थालनी गरेको छ ।

चाँगुनारायणका नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरण गर्न नगरले बाहिरबाट भित्रिने नागरिकलाई प्रवेश निषेध गरेको छ । प्रवेशका लागि अत्यावश्यक कामका लागि बाहिरबाट आएकाहरुले समेत स्वास्थ्य परीक्षणको रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ । उपत्यकाबाहिरबाट आएकाहरुको निगरानी तथा लगत संकलनका लागि महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, जनप्रतिनिधि, सामाजिक परिचालक, विपद् व्यवस्थापन समितिका पदाधिकारी परिचालित हुने नगरप्रमुख मिश्रले बताए । नगरपालिकाहरुले उपत्यका भित्रिनेको तथ्यांक राख्ने भनिए पनि हालसम्म कुनै नगरसँग पनि आफ्नो क्षेत्रभित्र कति नागरिक भित्रिए भन्ने यकिन तथ्यांक छैन ।

‘स्थानीय तह जिम्मेवार बन्नुपर्छ’

उपत्यकामा प्रवेश गरिसकेकालाई घरधनी र स्थानीय तहले कोरोना परीक्षण नगरेसम्म बहिष्कार गरेर विभेद गरेको सरोकारवालाको बुझाइ छ । ‘बाहिरबाट आउनेलाई टोलवासी र घरधनीले घर पस्न दिएका छैनन् । आइसकेपछि सम्बन्धित स्थानीय तहले परीक्षण गराएर होम क्वारेन्टाइन्मा राख्न सक्नुपर्छ,’ काठमाडौं जिल्ला समन्वय समितिका संयोजक वैद्यले भने, ‘१५ दिन क्वारेन्टाइनमा राखेर परीक्षणको नतिजाअनुसार मात्र घर पठाउने जिम्मेवारी स्थानीय तहले लिनुपर्छ ।’ आउने र जाने दुवै पक्षले स्थानीय तहमा खबर गरेर मात्र आवतजावत गरेको खण्डमा यस्तो समस्या नआउने उनको भनाइ छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले सबै स्थानीय तहले बाहिरी जिल्लाबाट आएका तथा बढी भीडभाड हुने ठाउँका व्यक्ति पहिचान गरेर परीक्षण गराउनुपर्ने सुझाए । काठमाडौंका सांसद जीवन श्रेष्ठले उपत्यकामा भित्रिएका मानिसको स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङ गरी को–कहाँ छन् पत्ता लगाउनुपर्ने बताए । उनले भने, ‘संक्रमण देखिएपछि मात्र खोजी गर्ने प्रचलनलाई हटाउँदै उपत्यका भित्रिएकाहरुको खोजी गरी संक्रमण फैलन रोक्ने जिम्मेवारी स्थानीय तहकै हो ।’ स्थानीय तह र संघीय सरकारले समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै परीक्षणको दायरा बढाउनुपर्ने उनको माग छ । ‘स्थानीय तहले उपत्यका भित्रिएकाहरुको खोजी गर्दै उक्त ठाउँलाई सिल गर्नुपर्छ,’ उनले भने ।

उपत्यका भित्रिन अब आरटीडी रिपोर्ट अनिवार्य

बाहिरी जिल्लाबाट अतिआवश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्नुपरे अब आरडीटी रिपोर्ट अनिवार्य चाहिने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार काठमाडौं उपत्यकाका नगरप्रमुख तथा सुरक्षा प्रमुखहरुबीचको बैठकमा लकडाउनमा यहाँका विभिन्न नाकाबाट प्रवेश गर्ने सवारीसाधन र व्यक्तिहरूको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा छलफल भएको हो ।

बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएपछि गृहले नगरप्रमुखहरुको सुझावका आधारमा अतिआवश्यक काममा बाहेक उपत्यका प्रवेशमा रोक लगाउने तथा आगमनको स्रोत नै रोक्ने, उपत्यका प्रवेशका सबै नाकाहरू अतिआवश्यक प्रयोजनमा बाहेक पूर्णरूपमा सिल गर्ने र लुकीछिपी हुने प्रवेश पूर्णरूपमा नियन्त्रण गर्नेे निर्णय गरेको हो ।

भविष्यमा आवश्यक भएमा क्वारेन्टाइन प्रयोजनका लागि उपयोग गर्न मिल्ने होटल, पार्टी प्यालेस, सामुदायिक भवनलगायतको लगत संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘स्थानीय प्रशासनको समन्वयमा उपत्यका प्रवेश गरेकाहरूको खोजी, लगत संकलन, क्वारेन्टाइन र परीक्षण गर्ने निर्णय भएको छ,’ भक्तपुर नगरप्रमुख सुनिल प्रजापतीले भने, ‘उपत्यका प्रवेश गरेका व्यक्तिको पहिचान गरी समूह–समूहमा पीसीआर परीक्षण अगाडि बढाउन पहल गर्ने निर्णय पनि भएको छ ।’

प्रकाशित : जेष्ठ २, २०७७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?