कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नेकपा एकता : रस्साकसीमै अल्झियो दुई वर्ष

एकताका बेला नेकपा नेताहरूले दुई वर्षमा महाधिवेशन गर्ने घोषणा गरेका थिए । वाचाअनुसार भएको भए यतिखेर नेकपा नयाँ नेतृत्वसहित पार्टी काममा एकताबद्ध भइसक्नुपर्थ्‍यो तर अहिले पनि आन्तरिक भागबन्डामा कसको भूमिका के हुने भन्नेमै नेताहरूको ध्याउन्न छ ।
बिनु सुवेदी

काठमाडौँ — दुई वर्षअघि २०७५ जेठ ३ गते पार्टी एकीकरण हुँदा नेकपा अध्यक्षद्वयले प्रधानमन्त्री निवास बालुवाटारको पार्कमा सँगै रोपेको जापानी बिरुवा ‘जिंक्गो वाइलोवा’ विस्तारै हुर्किंदै छ । हिरोसिमा र नागासाकीमा आणविक आक्रमण हुँदासमेत नमरेको उक्त रुखजस्तै पार्टीलाई पनि बलियो बनाउँछौं भन्ने सांकेतिक अर्थ दिन अध्यक्षद्वयले त्यसको बिरुवा रोजका थिए ।

नेकपा एकता : रस्साकसीमै अल्झियो दुई वर्ष

त्यसयताका दुई वर्ष बालुवाटारभित्रको जिंक्गो वाइलोवाले जति घामपानी ब्यहोरेर हुर्किन संघर्ष गरिरहेको छ, नेकपाभित्रको एकीकरणको संघर्ष पनि लगभग त्यस्तै नै छ । किनकि वनस्पतिविज्ञहरू भन्छन्, उक्त बिरुवालाई हुर्काउन अत्यन्तै मिहिनेत गर्नुपर्छ ।

२०७५ जेठ ३ गते पार्टी एकता गर्दा नेताहरूको बाचा थियो– दुई वर्षभित्रमा महाधिवेशन गरिसक्छौं । घोषणा र बाचाअनुसार भएको भए यतिखेर नेकपा नयाँ नेतृत्वसहित पार्टी काममा एकताबद्ध भइसक्नुपथ्र्यो तर अहिले पनि आन्तरिक भागबन्डामा कसको भूमिका के हुने भन्नेमै नेताहरूको ध्याउन्न छ । उदाहरणका रूपमा गत वैशाख २४ र २० गते बसेको सचिवालय बैठकको परिदृश्य मात्रै हेर्दा पनि त्यसभित्रको किचलोबारे धेरै प्रस्ट हुन सकिन्छ ।

२० गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा सरकार र पार्टी चलाएको भन्दै आक्रोश पोखे । दाहालले बैठकमा बसाइको व्यवस्थापनदेखि ओलीपक्षीय नेताहरूका बीचमा भइरहेका गुट–उपगुटसम्मको विषयलाई छलफलको एजेन्डा बनाए । गत मंसिर ४ मा सरकार पाँचै वर्ष प्रधानमन्त्री ओलीले चलाउने र पार्टीको कार्यकारी जिम्मेवारी दाहालले लिने गरी भएको सहमति महिना दिन नबित्दै निष्क्रिय भयो ।

दाहालसहितको एउटा समूह प्रधानमन्त्री ओलीको कार्यशैली मन नपरेको भन्दै गुट/उपगुटको भेलामा सक्रिय रह्यो भने ओलीपक्षीय नेताहरू पनि आफ्ना गुट बलियो बनाउनै व्यस्त रहे । केन्द्रका नेताहरूले आआफू बलियो बन्ने खेलमा लागिरहँदा तल्लो तहका कार्यकर्ताले भने पार्टी सदस्यतासमेत नवीकरण गर्न सकिरहेका थिएनन् । महासचिव विष्णु पौडेल पार्टीभित्र समस्या भए पनि त्यो आफूहरूको काबुबाहिर नभएको दाबी गर्छन् । ‘एकीकरणको उद्देश्यअनुरूप प्रगति नभएको कतैकतै देखिएको छ,’ एकीकरण प्रक्रियामा उल्लेख्य भूमिका खेलेका महासचिव पौडेलले भने, ‘तर हामीले हाम्रो पार्टीलाई अझै बलियो बनाउने क्षमता राख्छौं, पार्टीको गुटको फेडेरेसन बन्न दिँदैनौं ।’

नेकपा कुनै गुटको फेडरेसन होइन : महासचिव पौडेल

नेकपा स्वयंको दाबीअनुसार मुलुकभर ८ लाख कार्यकर्ता छन् । तर नेकपा सचिवालयका ९ सदस्य र सबैभन्दा धेरै अध्यक्षद्वयकै तजबिजमा चलिरहेको देखिन्छ । विश्लेषक खगेन्द्र प्रसाईं नेकपा अहिले एउटा सानो पार्टीका रूपमा समेत नरहेको बताउँछन् । ‘एकीकरण भएको भन्दा पनि दुई पार्टी जोडिएको थियो, त्यतिखेर यी दुवै पार्टीको आन्तरिक लोकतान्त्रिक जीवन लगभग समाप्त भइसकेको थियो,’ उनले भने, ‘सिद्धान्तै नभई जोडिएको चिज भएकाले झन् शक्तिशाली जस्तो त देखियो तर वास्तवमा नेकपामा दुवै पार्टीबाट आएको संकट जोडिएर महासंकट देखिएको छ ।’

हुन पनि अध्यक्षद्वयको छलफलको प्राथमिकतासमेत उनीहरूकै वरिपरि केन्द्रित रहन्छ । ‘सम्भवत: त्यही भएर केही अघि सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, मेरो छलफल र बैठकका ७० प्रतिशत समय सचिवालयकै नेताहरूको गुनासा सुनेर र उनीहरूको चित्त बुझाएर सकिन्छ ।’

कान्तिपुरले संकलन गरेको तथ्यांकअुनसार पनि सरकार गठन भएयताका साढे दुई वर्षमा दुई अध्यक्षले मात्रै एक्लाएक्लै झन्डै ३ सय पटक भेटका छन् । कम्तीमा १ घण्टादेखि बढीमा ३ घण्टासम्म चल्ने त्यस्ता भेटहरू प्रायजसो दुई अध्यक्षकै शक्ति सन्तुलनमा केन्द्रित रहेका छन् । तर पनि कुरा मिल्न नसक्नु र घुमिफिरी एउटै बिन्दुमा पुगेर कुरा बल्झिनुका पछाडि स्वार्थहरू नमिलेर नै हो भन्ने तर्क नेताहरूको पनि छ ।

जस्तो कि गत २४ गते बसेको नेकपा सचिवालय बैठकमा स्थायी कमिटी बैठकको एजेन्डा तय गर्ने कार्यसूची थियो । तर स्थायी कमिटीलाई नै कसरी सञ्चालन गर्ने भन्ने विषयमा नेताहरूका बीचमा कुरा मिलेन । प्रधानमन्त्री ओली र अरू नेताहरूका बीचमा भनाभन भएपछि ओली आफू थाकेको भन्दै बैठक छोडेर हिँडे । ओलीले चार दिनअघिको बैठकमा आफैंले गरेको प्रतिबद्धता पूरा गर्न तत्परता नदेखाउनुका पछाडि सचिवालयमा फेरिएको समीकरण मुख्य कारण थियो । चार दिनका बीचमा उनी सचिवालयभित्र बलियो भइसकेका थिए ।

उता अब पार्टी एकतालाई मजबुत बनाउने भनेर बैठकबाट छुट्टिएका दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेताहरूको छुट्टै बैठक र भेला चलिरहेको थियो, जुन ओलीलाई चित्त बुझेको थिएन । त्यसैले नेकपा सचिवालयको पछिल्लो छलफल कसले कसका विरुद्ध षड्यन्त्र गरिरहेको छ भन्ने विषयमा आरोप/प्रत्यारोप गरेरै रोकियो ।

यसरी शीर्ष नेताहरूले एकले अर्कालाई आरोप/प्रत्यारोप गरेको गत २४ गतेको सचिवालय बैठक त पछिल्लो उदाहरण मात्र हो । यसअघिका अन्य बैठकमा पनि आरोप/प्रत्यारोपको शृंखला नै चलेको थियो । स–साना विषयमा स्वार्थ नमिल्दा नेताहरूले पार्टीलाई ससर्ती अघि बढ्न दिएका छैनन् । अझ पार्टी एकीकरणको एक वर्ष पुग्दा नपुग्दै यही सरकार रहिरहने वा सरकारको नेतृत्व परिवर्तन गर्ने भन्नेबारेको बहसको रापतापले नेकपावृत्त तात्यो, दुई अध्यक्षबीचको सम्बन्धमा चिसोपना आयो ।

टाउका टाउकाले कानेखुसी गरेर पार्टीमा समस्या बल्झिएको हो : शर्मा

ठ्याक्कै पार्टी एकीकरणको एक वर्ष पुगेपछि अध्यक्ष पुष्पकमल दाहालले साढे २ वर्षको अवधिमा सरकारको नेतृत्व आलोपालो गर्ने गरी दुई अध्यक्षबीच भएको सहमतिको खुलासा गरे । त्यसअघि पनि सरकार सञ्चालन र पार्टी एकताका विषयमा अध्यक्षद्वयबीच भागबन्डा मिलिरहेको थिएन । कतिसम्म भने कुन विभागको प्रमुख कसलाई बनाउने भन्ने विषयकै छलफल अध्यक्षहरूले महिनौंसम्म लम्ब्याए । अहिलेसम्म पनि ती विभागले पूर्णता नपाउँदा विभागीय कामहरू चलायमान हुन सकेका छैनन् । पार्टी एकीकरणमा सक्रिय भूमिका खेलेका अर्का नेता जनार्दन शर्मा नेतृत्वले आफूलाई विधानभन्दा माथि सोचेकाले पार्टीमा यस्तो खालको समस्या आएको बताउँछन् । ‘दुइटा फरक धारमा रहेका पार्टीलाई अघि बढाएका छौं, हामीमा नयाँ चुनौती थपिएको छ,’ शर्माले भने, ‘सबैभन्दा ठूलो चुनौती पार्टीको मूल नेतृत्वलाई विधिसम्मत बनाएर अघि बढाउनुपर्ने नै हो ।’

नेकपाको विधानमा प्रत्येक ६ महिनामा पार्टी केन्द्रीय कमिटी र तीन महिना स्थायी कमिटी बैठक राख्नुपर्ने प्रावधान छ । तर एकीकरण भएपछि केन्द्रीय कमिटी बैठक नेताहरूसमेत छलफलमा सहभागी हुन पाउने गरी जम्माजम्मी एकपटक मात्रै बस्यो भने स्थायी कमिटी चार पटकमात्रै । स्थायी कमिटी सदस्यहरूले चिठ्ठी नै लेखेर माग गरेको बैठक पनि दुई अध्यक्षकै कुरा नमिल्दा बस्न सकेन । नेकपाका शीर्ष नेताहरू पार्टी एकताताकाको सहमतिमा अड्किएको भए अहिले पार्टीको एकता महाधिवेशन भइसकेको हुन्थ्यो । तर आन्तरिक विवाद मिलाउनमै पार्टी एकताको घोषणा गर्दा दुई वर्षभित्र महाधिवेशन गर्छाैं भनेर घोषणा गरेको नेकपाले अहिलेसम्म पार्टी एकीकरण प्रक्रिया पूरा गरिसकेको छैन । बरु यो दुई वर्षमा नेकपाभित्र एकले अर्कालाई उचाल्ने र पछार्ने काम धेरैपटक भयो ।

पछिल्लो समय त सजिलै दल विभाजन गर्न सकिने अध्यादेश आएपछि नेकपा स्वयं पनि फुटको संघारमा पुगिसकेको छ भन्ने अड्कलबाजी पार्टी वृत्तभित्रै भयो । अध्यक्षद्वयकै छलफलमा समेत मिल्न सकिँदैन भने अब छुट्टिएकै बेस भन्ने आशयका कुराकानी धेरैपटक भए । विश्लेषक प्रसाईं नेकपाभित्र सैद्धान्तिक एकता नै नभएकाले यस्तो खालको छलफल हुनुलाई स्वाभाविक मान्छन् । नेकपाले बिताएको दुई वर्षलाई हेर्दा नेकपाको भविष्य पनि अनिश्चित रहेको तर्क उनको छ ।

‘अहिलेकै गतिमा हेर्दा यो वाम पार्टीबाट गैरवाम पार्टीमा परिणत भएको छ र यो अझै प्रमाणित हुँदै जाला,’ उनले भने, ‘जीवित भइरहने हो भने सबैभन्दा पहिला यो पार्टीका रूपमा बाँच्नुपर्छ, त्यसपछि लोकतान्त्रिक पार्टीका रूपमा बाँच्नुपर्छ अनि बल्ल वाम पार्टीका रूपमा बाँच्ने हो । त्यसका लागि यसले आफूभित्रको लोकतान्त्रिक स्पेसलाई पुनप्र्राप्ति गर्न जरुरी छ, नेकपाको नेत्तृवले धेरै नै मेहनत गर्नुपर्छ ।’

प्रकाशित : जेष्ठ २, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?