असुरक्षित सुरक्षाकर्मी

‘सुरक्षात्मक पहिरन थिएन । नांगो हात र आँखाले हेरेर सबै काम गर्नुपर्थ्यो । जोखिम हुँदाहुँदै काम गर्दा संक्रमण भयो’

कपिलवस्तु, रुपन्देही — कपिलवस्तुको सीमा नाकामा लामो समयदेखि कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई कोभिड–१९ संक्रमण भएको छ । उनीहरूले भारतबाट मुलुक प्रवेश गर्नेको ज्वरो नाप्नेदेखि अभिलेख राख्ने गर्दै आएका थिए । जबर्जस्ती नाका पार गर्न खोज्नेलाई रोक्नुका साथै मालवाहक गाडी जाँच गर्थे ।

असुरक्षित सुरक्षाकर्मी

बुधबार साँझ संक्रमण पुष्टि भएका सुरक्षाकर्मी दशगजामै रहेको कृष्णनगर नाकाको लिंक गेटमा खटिएका थिए । बिहीबारसम्म जिल्लाका ४० जनामा संक्रमण पाइएको छ । अधिकांश संक्रमित भारतबाट लुकेर आएका हुन् । मंगलबार जिल्ला अस्पतालमा कार्यरत एक नर्समा संक्रमण देखिएको थियो । बुधबार एकै पटक चार सुरक्षाकर्मी र दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । कृष्णनगरबाट ५० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये बुधबार १६ जनाको पीसीआर परीक्षण गर्दा आठ जना संक्रमित भेटिएका हुन् ।

संक्रमितमा नेपाल प्रहरी र सशस्त्रका नायब निरीक्षक (सइ) दुई जना र एक जना राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असइ) संक्रमित भेटिएका छन् । त्यस्तै इलाका प्रहरी कृष्णनगरका प्रमुख प्रहरी निरीक्षकको सवारी चालकमा पनि संक्रमण देखिएको छ । उनी कसरी संक्रमित भए भन्ने खुल्न सकेको छैन । उनको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । कृष्णनगर नगरपालिकाको कृषि शाखाका नायब सुब्बा र एक कार्यालय सहयोगी पनि संक्रमित भएका छन् । सुब्बालाई मुम्बईबाट आएका भाइलाई खाना पुर्‍याउन जाँदा संक्रमण भएको खुलेको छ । त्यस्तै कार्यालय सहयोगी क्वारेन्टाइनमा खटिएका थिए । त्यही बेला उनलाई संक्रमण भएको स्वास्थ्यकर्मीले बताए ।

राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असइ) ले सीमामै खटिँदा संक्रमण भएको अड्कल गरे । ‘सुरक्षात्मक पहिरन थिएन । नांगो हात र आँखाले हेरेर सबै काम गर्नुपथ्र्यो । जोखिम हुँदाहँुदै काम गर्दा संक्रमण भयो,’ उनले भने ।

कृष्णनगरमा संक्रमित अन्य दुई जना क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । चार सुरक्षाकर्मीलाई तौलिहवास्थित तिलौराकोट क्याफेको आइसोलेसनमा राखिएको छ ।

कपिलवस्तु र बुद्धभूमि नगरपालिका एवं यशोधरा गाउँपालिकाका २५ संक्रमितको ट्राभल हिस्ट्री र क्लोज कन्ट्याक्ट ट्ेरसिङको काम सुरु गरिएको छ । केस अनुसन्धान तथा कन्ट्याक्ट खोज पडताल टिमले बुधबार अभिमुखीकरण गरेपछि बिहीबारदेखि स्वास्थ्यकर्मीले काम थालेका हुन् । ‘एक जना संक्रमितका लागि दुई जना स्वास्थ्यकर्मी परिचालन गरेका छौं,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले भने, ‘शुक्रबार सबैको क्लोज कन्ट्याक्ट ट्रेसिङ सकिन्छ ।’

‘हेलचेक्र्याइँले संक्रमण’

कपिलवस्तुमा भारतको मुम्बईबाट फर्किएका धेरै जनामा संक्रमण पाइएको छ । दशगजाबाट लुकेर विभिन्न क्वारेन्टाइनमा पुगेका उनीहरूको स्वाब परीक्षणबाट संक्रमण पुष्टि भएको हो । विज्ञका अनुसार लकडाउनका बेला मुम्बईबाटै आउने क्रममा अपरिचित व्यक्तिसँग हेलमेल हुँदा बाटोमै संक्रमण भएको हुन सक्छ । अधिकांश व्यक्ति दशजगासम्म आएर चार/पाँच दिन अलपत्र परेका थिए । त्यसक्रममा धेरै जनाबीच घुलमिल हुँदा संक्रमण फैलिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीले बताए । ‘धेरै संक्रमित नाकाबाट आएर क्वारेन्टाइनमा पुगेको देखिन्छ,’ उनले भने, ‘त्यहाँ सतर्कता नअपनाउँदा अन्य व्यक्ति पनि संक्रमणको सिकार भइरहेका छन् ।’

नेपालीका अनुसार यहाँका क्वारेन्टाइन व्यवस्थित नहुँदा पनि संक्रमण बढिरहेको छ । ‘क्वारेन्टाइनमा बसेकालाई आफूहरूलाई किन राखिएको हो भन्नेबारे थाहै छैन,’ उनले भने, ‘क्वारेन्टाइनमा पनि घरमा बसेजस्तै व्यवहार गरिरहेका छन् ।’ खाटबीच दूरी भए पनि व्यक्तिले सामाजिक दूरी पालना गरेका छैनन् । ७० देखि दुई सय व्यक्ति एउटै क्वारेन्टाइनमा बसिरहेका छन् ।

रोकथाममा ‘कमजोर’

प्रदेश ५ मा कोभिड–१९ संक्रमण बढेको बढ्यै भए पनि रोकथाम र नियन्त्रणमा प्रदेश सरकारको भूमिका प्रभावकारी देखिएको छैन । संक्रमण रोकथाम, बिरामीको समयमा उद्धार र व्यवस्थापनमा समस्या भइरहेको छ । संक्रमण फैलिएको क्षेत्रका स्वास्थ्यकर्मी कसरी सुरक्षित रहने भन्नेमै अन्योलमा देखिन्छन् ।

प्रदेशमा पछिल्ला तीन दिनमा कोरोना पुष्टि भएका ६९ मध्ये ४० जनाको कन्ट्याक ट्रेसिङ अझै भएको छैन । कपिलवस्तुको यशोधरा गाउँपालिकाका स्वास्थ्य प्रमुख ज्योतिप्रकाश दुवेले काम गर्दै र सिक्दैको अवस्थामा रहेको बताए । ‘संक्रमितलाई परामर्श र उनीहरूको अनुसन्धान पनि कसरी गर्ने धेरैलाई थाहा छैन,’ उनले भने ।

प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्यकर्मी सक्षम भए पनि भाषागत समस्याले अनुसन्धानमा बाधा भइरहेको बताए । ‘डराएर वा रोगबारे जानकारी नभएर हो, धेरै बिरामी र उनका आफन्तले आफ्नो विवरण लुकाएका छन् । यात्रा विवरण पनि आफू अनुकूल भनेका छैनन्,’ उनले भने, ‘त्यसले गर्दा कन्ट्याक ट्रेसिङ र उनीसितका सम्पर्कका व्यक्ति खोज्न समस्या भएको छ ।’

प्रकाशित : जेष्ठ २, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?