कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जेठ ५ भित्र १० हजार जनाको पीसीआर परीक्षण तयारी

राजेश मिश्र

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमितको पहिचान गर्न एकैचोटि ठूलो संख्यामा स्वाब परीक्षणको तयारी गरेको छ । त्यसका लागि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले उपत्यकामा जेठ ५ भित्र कम्तीमा १० हजार जनाको स्वाब परीक्षण गर्ने तयारी थालेको हो । बुधबारसम्म देशैभर २२ हजार ६ सय ६४ जनाको मात्रै पीसीआर परीक्षण भएको छ ।

जेठ ५ भित्र १० हजार जनाको पीसीआर परीक्षण तयारी

सीसीएमसीको पहलमा बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपत्यका नगरपालिका फोरमका पदाधिकारीहरूसँग त्यसबारे छलफल भयो । उपत्यकामा कोभिड–१९ नियन्त्रणमा आएको आकलन गरिएका बेला बुधबार एकै दिन तीन जना संक्रमित भेटिएपछि सरकारले वडास्तरबाटै जोखिममा रहेका व्यक्तिको पहिचान गरी तिनको परीक्षण गर्ने भएको हो । लकडाउनको अवधि जेठ ५ मा सकिँदै छ । त्यसपूर्व काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमणको मोटामोटी अवस्था पहिचान गर्न ठूलो परिमाणमा परीक्षण गर्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले बताए । उनी सीसीएमसीका सदस्य पनि हुन् ।

‘आगामी ३/४ दिनभित्र उपत्यकामा १० हजार मानिसको स्वाब परीक्षणको लक्ष्य राखिएको छ,’ उनले भने, ‘त्यसको सुरुवात भइसकेको छ । एकैचोटि ठूलो संख्यामा गरिने परीक्षणले काठमाडौंको अवस्था स्पष्ट हुनेछ ।’ स्वाबबाट गरिने परीक्षणबाहेक अन्य धेरैको आरडीटी किटबाट समेत परीक्षण हुने उनले बताए ।

सीसीएमसीको निर्णयका आधारमा बिहीबार कालीमाटी तरकारी बजारका व्यापारी, ढुवानीकर्ता, चालक, सहयोगी, भरिया, मजदुर तथा सफाइ कर्मचारीहरूको जाँच गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार एकै दिन १ हजार ६४ जनाको परीक्षण भएको छ ।

त्यसमध्ये ३ सय ३४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । बाँकीको आरडीटी गरिएको हो । कालीमाटीपछि बल्खु तरकारी बजारमा यस्तै परीक्षणको तयारी छ । भीडभाड र चहलपहल हुने स्थान पहिचान गरी क्रमश: सबैतिर परीक्षणको गतिलाई बढाइने आचार्यले जनाए ।

संघीय मामिला मन्त्रालयमा भएको छलफलमा सीसीएमसी सचिव महेन्द्र गुरागाईंले उपत्यकाभित्र बढी जोखिममा रहेर काम गर्ने, धेरै मानिसको सम्पर्कमा रहने, बाहिरबाट उपत्यका छिरेका व्यक्ति तथा तिनको सम्पर्कमा रहेकाहरूको पहिचान गरी ‘मास स्केल’ मै स्वाब परीक्षणका लागि सरकार तयार रहेको बताए । उनले त्यसका लागि महानगर तथा नगरपालिकाहरूलाई सहयोग गर्न आग्रह गरे । छलफलमा काठमाडौं र ललितपुर महानगरपालिका तथा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सहभागी थिए । पछिल्लो समय पीसीआर किटको आपूर्ति केही बढेपछि परीक्षणको दायरा बढाउन लागिएको हो ।

घर–घरमा ग्यास ढुवानी गर्ने, दूध र पानी पुर्‍याउने, तरकारी विक्रेता, खाद्य स्टोरका सञ्चालक, विभिन्न अत्यावश्यकीय कार्यालयमा अग्रपंक्तिमा खटिने तथा उपत्यका बाहिरबाट केही दिन अगाडि मात्रै आएकाहरूको पहिलो चरणमा परीक्षण गरिने सहसचिव आचार्यले बताए । दोस्रो चरणमा एकैचोटि ठूलो संख्यामा सुरक्षाकर्मीको परीक्षण हुनेछ । त्यसका लागि वडा कार्यालयमार्फत समन्वय गरिने उनले जनाए । स्वाब संकलनका लागि व्यक्ति तथा स्थानको छनोट वडा कार्यालयले गर्नेछ । आवश्यक जनशक्ति र स्वास्थ्य सामग्रीको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नेछ ।

उपत्यकाभित्र १८ नगरपालिका छन् । ती नगरपालिकाभित्र जोखिमको सम्भावना रहेका क्षेत्र पहिचान सम्बन्धित नगरपालिकाले नै गर्नुपर्नेछ । परीक्षण गर्नुपर्ने व्यक्तिको पहिचान पनि वडामार्फत नै गरिनेछ ।

प्रकाशित : जेष्ठ २, २०७७ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?