२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

समुदायमा व्यापक बन्दै संक्रमण

सीमाबाट घुसपैठ, लकडाउनमा निस्फिक्री घुमफिर र सामाजिक दूरी कायम नगर्दा प्रदेश २ कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको छ । यहाँ दुई महिने शिशु, स्वास्थ्यकर्मी, थुनुवा र पत्रकारसमेतमा संक्रमण पुष्टि भएको छ ।

जनकपुर, वीरगन्‍ज — भारतीय सीमाबाट घुसपैठ र लकडाउनको अवज्ञा हुनुका साथै पर्याप्त कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण हुन नसक्दा कोरोना संक्रमण समुदायमा व्यापक बन्दै गएको छ । ‘हटस्पट’ बनेका प्रदेश २ र प्रदेश ५ मा दुईमहिने शिशुदेखि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र थुनुवासमेत संक्रमित भएका छन् । लुकीछिपी राजधानी पस्नेहरूसँगै उपत्यकामा पनि संक्रमण बढेको छ ।

समुदायमा व्यापक बन्दै संक्रमण

काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी, धादिङ र धनुषामा १/१ गरी ६ संक्रमित थपिएसँगै बिहीबार रातिसम्म संक्रमितको संख्या २ सय ४९ पुगेको छ । भारतमा रेल सेवा चालु भएसँगै सीमावर्ती रूपन्देही, कपिलवस्तु र बाँकेको दशगजाबाट स्वदेश आउन चाहनेको भीड बढेको छ ।

प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायमै फैलिएको चिकित्सकहरूले बताएका छन् । आठवटा जिल्ला रहेको प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या बिहीबारसम्म ९८ पुगेको छ । चिकित्सकहरूले संक्रमण समुदायमै फैलिएको दाबी गरिरहँदा तीनै तहका सरकार भने लकडाउनले प्रभावित परिवारलाई राहत वितरण, अस्पतालको पूर्वाधार थप्ने र स्वास्थ्य सामग्री खरिदमै अलमलिएका छन् ।

चैत २९ मा वीरगन्जमा तीन जनामा देखिएको कोरोना संक्रमण नै प्रदेश २ को पहिलो केस हो । वीरगन्जको छपकैयास्थित मस्जिदमा बसेका २१ जनाको स्वाब परीक्षण गर्दा तीन जना भारतीयमा संक्रमण पुष्टि भएको थियो । त्यसयता छपकैया क्षेत्रलाई सिल गरिए पनि वैशाख १७ मा सोही क्षेत्रका थप १७ जनामा संक्रमण देखियो । उनीहरू सबै एकै परिवारका हुन् । संक्रमितमध्ये एक दुईमहिने शिशुसमेत थिए ।

पर्सामा मंगलबार मात्रै ५७ जनामा कोरोना भाइरसको संक्रमण देखियो । बुधबार पनि त्यहाँ २ जना संक्रमित भेटिए । ‘हटस्पट’ बनेको वीरगन्जमा एक नर्स र दुई जना पत्रकारको पीसीआर रिपोर्टसमेत पोजिटिभ आएको थियो । पर्सा प्रहरीको थुनामा रहेका एक व्यक्तिमा पनि संक्रमण देखियो । वीरगन्ज महानगरपालिकाका ३१ वडामध्ये ६ वटा वडामा संक्रमण फैलिसकेको छ । हालसम्म वीरगन्ज २, ३, ५, ११, १२ र १६ मा कोरोना संक्रमित भेटिएका छन् ।

‘प्रदेश २ मा समुदायमै कोरोना फैलिइसकेको छ । एकैपटक धेरै संख्यामा संक्रमित देखिनु त्यसकै संकेत हो,’ जनकपुरका वरिष्ठ फिजिसियन विजय सिंहले कान्तिपुरसँग भने, ‘संक्रमण समुदायमै फैलिएपछि हटस्पट तोकेर परीक्षणको काम प्रभावकारी गरे मात्र यसलाई नियन्त्रण गर्न सकिन्छ ।’ संक्रमितकै उपचारमा खटिएका स्वास्थ्यकर्मीमै संक्रमण देखिएपछि बिहीबार नारायणी अस्पतालका चिकित्सकसहितको टोलीले स्वाब परीक्षण गराएका छन् ।

वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्ड अहिले भरिभराउ छ । त्यहाँ ७१ जना संक्रमित उपचाररत छन् । बाँकी १९ जनाको वीरगन्जकै सिद्धार्थ स्कुलमा बनाइएको आइसोलोसनमा उपचार भइरहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमा कुनै पनि गम्भीर लक्षण नदेखिएको चिकित्सकहरू बताउँछन् । ‘कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण देखिएको थिएन । तर, स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि भने धेरै जना झस्किएका छन्,’ डा. सिंहले भने ।

हालसम्म पर्सामा ८२ जना, बारा र रौतहटमा ३/३ जना, सर्लाही, महोत्तरी र धनुषामा २/२ जना र सप्तरीमा एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सिरहामा भने हालसम्म संक्रमित भेटिएका छैनन् । धनुषाको लालगढमा पनि एक नर्समा कोरोना संक्रमण भेटिएको छ । जनकपुरका एक पत्रकार र पुस्तक व्यवसायीमा समेत कोरोना पोजिटिभ देखिएको छ । यी दुवै संक्रमितले आफूहरू भीडभाडमा नगएको र सावधानीका सबै उपाय अपनाउँदा पनि संक्रमित भएको बताएका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालका फिजिसियन डा. जेपी जयसवालले प्रदेश २ मा कोरोना भाइरसको संक्रमण तेस्रो स्टेजमा पुगेको दाबी गरे । उनले बिरामीको संख्या ह्वात्तै बढिरहेकाले कोरोना समुदायस्तरमै फैलिएको उनको भनाइ छ । ‘पहिला बाहिरबाट आएका व्यक्तिमा मात्रै संक्रमण देखिन्थ्यो । अहिले कहीँकतै नगएकाहरू पनि संक्रमित हुन थालेको छन्,’ डा. जयसवालले भने, ‘यो स्थिति आउनु ठीक होइन । स्थिति भयावह हुनसक्छ ।’

कसरी फैलियो प्रदेशभरि संक्रमण ?

कोरोना भाइरसको संक्रमण वीरगन्जमा समुदायमै फैलिए पनि झन्डै ५४ लाख जनसंख्या रहेको प्रदेश २ का अन्य जिल्लामा यसको जोखिम उच्च थिएन । बारा, रौतहट र सर्लाहीमा फाट्टफुट्ट संक्रमित देखिए पनि प्रदेशलाई गाँज्ने गरी कोरोना भाइरस सरिसकेको थिएन । तर, उच्च जोखिमलाई छल्दै लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि संक्रमण समुदायमै फैलिएको हो ।

सीमाबाट घुसपैठ, लकडाउनमा निस्फिक्री घुमफिर र सामाजिक दूरी कायम नगर्दा प्रदेश २ कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको छ । मंगलबार एकै दिन प्रदेशका ६१ जनामा संक्रमण देखियो । मृत्यु संस्कार, पारिवारिक भेंटघाट, चोक–चौतारामा गफिनेको भीड लाग्न थालेपछि बुधबारदेखि भने लकडाउनमा कडाइ गरिएको छ । ‘लकडाउनमा घरमै बस्नुपर्‍यो । घरमा नबसे कोरोनालाई नियन्त्रण गर्न समस्या हुन्छ,’ प्रदेशको स्वास्थ्य विभागसमेत हेर्ने समाजिक विकास मन्त्री नवलकिशोर साहले भने ।

लकडाउनमा मानिसहरूको गतिविधि नरोकिएपछि मंगलबारदेखि बारा र पर्सामा निषेधाज्ञा लगाइएको छ । संक्रमण अन्य जिल्लामा पनि फैलिन थालेपछि प्रदेशभरि नै निषेधाज्ञा लगाउने तयारी भइरहेको उनले बताए । प्रदेश २ को सीमा नाकामा नेपाल प्रवेश गर्न खोज्ने बुधबारसम्म ९३ जना पुगेका छन् । सशस्त्र प्रहरी स्रोतका अनुसार सबैभन्दा बढी सिरहाको सीमापारि ६९ जना छन् ।

संक्रमण तीव्र भइरहँदा परीक्षणको दायरा बढाउनुपर्नेमा स्वास्थ्य सामग्री अभावमा झन् खुम्चिँदै गएको छ । जनकपुर, वीरगन्ज र राजविराजमा रहेको आइसोलेसन वार्डमा १ सय ६ जना उपचाररत छन् । हालसम्म प्रदेशभर १ हजार ७ सय ९२ जनाको मात्र स्वाब परीक्षण र ३ हजार १ सय ३१ जनाको आरडीटी गरिएको छ ।

प्रकाशित : जेष्ठ २, २०७७ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?