१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पूर्वी नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

पश्‍चिम बंगालको कोलकाताबाट काँकडभिट्टा हुँदै भरतपुर आएका थिए

भरतपुर, कावासोती — पूर्वी नवलपरासीमा भारतबाट आएका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमित पुरुष देवचुली नगरपालिका वडा नम्बर १२ का भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

पूर्वी नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिएका छन् ।

संक्रमित व्यक्ति भारतको कोलकाताबाट वैशाख २५ गते हिँडेर ३० गते चितवनको भरतपुर आइपुगेका हुन । ३० गते राति ११ बजे उनलाई सोझै भरतपुर कोरोना अस्पतालमा लगिएको हो । उनी अहिले अस्पतालमै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

उनी कोलकाताबाट औषधि बोकेको गाडीमा काँकडभिट्टासम्म आएका थिए । काँकडभिट्टाबाट पनि भरतपुरसम्म औषधि बोकेको गाडीमा आएका थिए ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सक्रमित हुनेको संख्या २४६ पुगेको छ ।

संक्रमित चढेको ट्रक खोजिँदै

भारतको कोलकताबाट चितवनको भरतपुर आएका पूर्वी नवलपरासीका कोरोना संक्रमित पुरुष चढेको ना३ख २६२० नम्बरको ट्रकको खोजी तीव्र पारिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दीपक रेग्मीले ट्रक अहिलेसम्म फेला नपरेको बताए । ट्रक चालकलाई संक्रमणको जोखिम भएकाले खोजी गरिएको हो । चालकको पनि कन्ट्याक्ट ट्रेसिङ गर्न र चालकको परीक्षण गराउन खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार राति भरतपुरबाट उक्त ट्रक काठमाडौंका लागि हिँडेको थियो । भारतको कोलकातास्थित एक अर्धसरकारी कार्यालयमा कार्यरत देवचुली नगरपालिका–१२ लक्ष्मीपुरका ती पुरुष गत मंगलबार त्यही ट्रकमा चढेर भरतपुर आएका थिए । उनका छिमेकी चिकित्सकले उनी आइरहेको जानकारी पाएपछि राति ११ बजे भरतपुरमा झारेर कोभिड–१९ प्रयोगशालामा पठाएका थिए । उनको बुधबार स्वाब परीक्षण गर्दा संक्रमण देखिएको हो ।

प्रकाशित : जेष्ठ १, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?