१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डब्लूएचओको चेतावनी : कोरोना भाइरस कहिल्यै निर्मूल नहुन पनि सक्छ

भ्याक्सिन र कोरोना निर्मूलबारे मिति नतोक्न चेतावनी
एजेन्सी

जेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ‘कहिल्यै समाप्त नहुने’ सम्भावना रहेको चेतावनी दिएको छ । विज्ञहरुले कोरोना महामारीका कारण वैश्विक मानसिक संकट उत्पन्न भइरहेको जनाइरहँदा डब्लूएचओले कोरोना कहिल्यै निर्मूल नहुने सम्भावना रहेको बताएको हो ।

डब्लूएचओको चेतावनी : कोरोना भाइरस कहिल्यै निर्मूल नहुन पनि सक्छ

बुधबार जेनेभामा भएको भर्चुअल पत्रकार सम्मेलनमा डब्लूएचओका आपत्कालीन विभागका प्रमुख डा. माइकल ऱ्यानले कोरोना भाइरस कहिलेसम्म रहन्छ भनेर आधारहीन भविष्यवाणी नगर्न पनि चेतावनी दिएका छन् । उनले कोरोना भाइरसको अवधि तोकेर बस्नुभन्दा पनि यसको नियन्त्रण र रोकथाममा बृहत् प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘यो विषयमा चर्चा आवश्यक छ कि कोरोना भाइरस हामीबीच क्षेत्रविशेषको भाइरस बनेर बस्ने सम्भावना रहेको छ । र, यो कहिल्यै निर्मूल नहुन पनि सक्छ,’ डाक्टर ऱ्यानले भने, ‘यसमा कुनै वाचा र मिति छैन । यो रोग दीर्घकालीन समस्या हुन सक्छ वा नहुन पनि सक्छ ।’

डाक्टर ऱ्यानले एचआईभी भाइरस पनि समाप्त नभएको उदाहरण दिँदै कोरोना भाइरसका बारेमा मिति तोक्ने काम र वाचा नगर्न पनि सबैलाई सुझाव दिएका छन् । उनका अनुसार बिनाभ्याक्सिन आम सर्वसाधारणलाई रोगप्रतिरोधात्मक क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौं लाग्न सक्नेछ ।

कोरोना भाइरसको भ्याक्सिन बनाउनका लागि विभिन्न देशले सयौं प्रयास गरे पनि विज्ञहरुका अनुसार तत्काल कुनै भ्याक्सिन तयार हुने लक्षण देखिएको छैन । कोरोनाविरुद्ध कुनै उपचार पद्धति विकास नहुँदै विश्वका कयौं देशले लकडाउन खुकुलो बनाएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस एडहानोम गेहब्रेयससले लकडाउन खुकुलो गर्दै जाने हो भने अझ तीव्र रूपमा संक्रमण फैलिने बताएका छन् । डा. ट्रेडोसले भने, ‘कतिपय देशले लकडाउनबाट बाहिर आउनका लागि विभिन्न तरिका अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशलाई अलर्ट रहन सल्लाह दिइरहेको छ । प्रत्येक देशले अहिले पनि उच्चतम स्तरमा सतर्क रहन आवश्यक छ ।’

डा. ऱ्यानले पनि कैयौं देशले लकडाउन खोलेर ‘जादुयी’ पाराले कोरोना भाइरसको संक्रमण रोक्न सकिन्छ भनेर सोचेको बताएका छन् । विश्वकै जनजीवन सामान्य हुन लामो समय लाग्ने पनि डा. ऱ्यानले बताए । उनले भने, ‘हामीले वास्तविक अवस्थालाई हेरेर सोच्नुपर्छ । मलाई लाग्छ, अहिले कोरोना भाइरस कहिलेसम्म रहन्छ भनेर कसैले पनि भन्न सक्दैन । यसको निदानको प्रक्रिया लामो हुन सक्छ ।’

त्यस्तै डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ मारिया भेन केरखोवेले पनि कोरोना महामारीबाट छुटकारा पाउन लामो समय लाग्न सक्ने बताएकी छिन् ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म विश्वभर २ लाख ९७ हजार २ सय २६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ४३ लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये करिब १५ लाख ५० हजार निको भएका छन् ।

कोरोना भाइसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । बिहीबार बिहानसम्म अमेरिकामा ८४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १३ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा करिब २ लाख ४३ हजार जना निको भएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?