२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

परीक्षण दायरा बढाउन सांसदको माग

‘संक्रमितको उपचार गर्ने अस्पताल प्रदेशपिच्छे स्थापना गर’
ऋषिराम पौड्याल

काठमाडौँ — सांसदहरूले कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य परीक्षणको दायरा बढाउन माग गरेका छन् । प्रतिनिधिसभामा बुधबार उनीहरूले जनताको स्वास्थ्य नै बढी महत्त्वपूर्ण भएकाले गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले स्वास्थ्यसम्बन्धी दीर्घकालीन नीति बनाउन सुझाव दिँदै हरेक प्रदेशमा संक्रमणको उपचार गर्ने अस्पताल स्थापना गर्नुपर्ने बताए ।

परीक्षण दायरा बढाउन सांसदको माग

नेकपाकी सांसद मनकुमारी जीसीले कोभिड–१९ नियन्त्रणमा सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । कांग्रेसकी सांसद सीतादेवी यादवले संक्रमण पहिचानका लागि घुम्ती सेवाबाट गाउँगाउँमा परीक्षण गर्नुपर्ने बताइन् । राजपाका लक्ष्मणलाल कर्णले कोभिड–१९ बाट प्रभावितको उद्धार र उपचारलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । उनले कोभिड–१९ को उपचारका लागि ठाउँठाउँमा अस्पताल व्यवस्था गर्न माग गरे । कांग्रेसकी सांसद प्रमिला राईले क्षेत्रगत रूपमा आधुनिक अस्पताल स्थापना गर्न माग गरिन् ।

कांग्रेसकै बहादुरसिंह लामाले सरकारले महामारी फैलिएको महिनौं भए पनि औषधि र स्वास्थ्य उपकरणको व्यवस्था गर्न नसकेको टिप्पणी गरे । ‘सरकार आफैं निदाएर बसेको छ । कोभिड–१९ विरुद्ध राजनीतिक शक्तिलाई एक बनाउन सरकारले सकेन,’ उनले भने । कांग्रेसकै सांसद लक्ष्मी परियारले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि बजेटमा प्राथमिकता दिनुपर्ने बताइन् ।

‘विदेशबाट उद्धार गर’

सांसदहरूले कोभिड–१९ बाट सिर्जित परिस्थितिका कारण विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउनैपर्ने धारणा राखेका छन् । उनीहरूले विदेशबाट आउन चाहने यहाँ ल्याएर क्वारेन्टाइनमा राख्न सुझाव दिए ।

राजपाका सांसद लक्ष्मणलाल कर्णले स्वदेशमा आउन चाहने नेपालीलाई तत्काल ल्याउन माग गरे । ‘उनीहरू नेपाल आउन नपाए कता जाने ?’ उनले भने, ‘उनीहरूलाई ल्याउने दायित्व सरकारको हो ।’

नेकपाकी सांसद चाँदतारा कुमारीले भारतीय सीमामा रहेका नेपालीलाई तत्काल मुलुकभित्र ल्याउन माग गरिन् । कांग्रेसकी सांसद प्रमिला राईले विदेशमा रहेका नेपालीलाई तत्काल उद्धार गरेर क्वारेन्टाइनमा राख्न माग गरिन् । उनले विदेशमा नेपालीको रुवाबासी भएको बताइन् ।

नेकपाका सांसद दीपकप्रकाश भट्टले विदेशमा रहेका नेपालीलाई ल्याएर स्थानीय तहको समन्वयमा क्वारेन्टाइनमा राख्नुपर्ने बताए । कांग्रेसकी लक्ष्मी परियारले रेमिट्यान्स पठाउने लाखौं नेपाली मुलुकमा फर्कने तथ्यांक पेस गर्दै सीपमूलक कार्यक्रम ल्याउन माग गरिन् ।

प्रकाशित : जेष्ठ १, २०७७ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?