प्रिबजेट छलफलमा भाग लिन नपाएपछि संसदमा नेकपाका सांसदहरूको आक्रोश

जयसिंह महरा

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९)को कारण यसपालि संसदको बजेट अधिवेशन ढिलोगरी आह्वान भयो । जसका कारण प्रिबजेटमाथि पर्याप्त छलफल हुन सकेन । अर्कोतिर, प्रिबजेट पहिले आउनुपर्ने सरकारको नीति तथा कार्यक्रम पछाडिका लागि सारियो । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । 

प्रिबजेट छलफलमा भाग लिन नपाएपछि संसदमा नेकपाका सांसदहरूको आक्रोश

संवैधानिक व्यवस्थाअनुसार बजेट जेठ १५ गते आउनुपर्छ । त्यसको १५ दिन पहिले प्रिबजेट छलफल सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था छ । यस्तो संवैधानिक र नियमावलीको व्यवस्थाअनुसार यसपालि सांसदहरूले प्रिबजेट छलफलमा पर्याप्त समय पाएनन् ।

चार दिन प्रिबजेट छलफल भएसँगै बुधबार सकिएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रिबजेटका क्रममा उठेका प्रश्नको जवाफ पनि दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रिबजेट छलफल सकिएको घोषणा गर्दै जवाफ दिन मन्त्री खतिवडालाई जवाफ दिन रोष्ट्रममा बोलाए लगत्तै सत्तारुढ नेकपाका सांसदहरूले भने बोल्न नपाएको भन्दै संसदमा हंगामा नै गरेका छन् ।

नेकपा संसद गंगा चौधरी सत्गौवाले आफूले प्रिबजेट छलफलमा बोल्न नपाएकोमा उभिएर आपत्ति जनाइन् । उनले आफू निश्चित जातिको भएको र समानुपातिक सांसद भएकाले बोल्न नदिएको आरोप लगाइन् । 'समानुपातिक सांसद हो, थारुको चेली हो बोल्न जान्दिन भनेर समय नदिइएको हो,' आक्रोशित भएकी उनले भनिरहेकी थिइन् ।

त्यस्तै, बोल्न नपाएका सांसद नारायणप्रसाद मरासिनीले तीन दिन बसेर पनि प्रिबजेट छलफलमा समय नपाएकोमा आपत्ति जनाए । 'हामी पनि जनप्रतिनिधि हौं, हामीले पनि बोल्न पाउनुपर्छ,' उनी कड्किरहेका थिए ।

अर्का सांसद प्रेम तुलाचनले आफूहरूले बोल्दा विवादित हुन्छ भनेर समय नदिइएको आरोप लगाए । सांसद नारायणप्रसाद खतिवडालगायतले पनि आपत्ति जनाएका थिए ।

सभामुख सापकोटाले भने दलीय आधारमा नाम आएको र समय सकिएकाले बोल्न दिन नसकिने बताए । उनले सांसदहरूले उठाउका कुराप्रति ध्यानाकर्षण भएको र अर्कोपटक बोल्न दिने जवाफ दिएका थिए । घडी देखाउँदै सभामुख सापकोटाले भने '१५ दिन पहिला प्रिबजेट छलफल सक्नैपर्छ । दलीय आधारमा आएको नाम हो तपाईंहरू बसिदिनुस् ।' सांसदहरूले त्यति गर्दा पनि नमानेपछि सभामुखले पार्टीको संसदीय दलको बैठकमा कुरा उठाउन सुझाव दिएका थिए ।

केही सांसदहरूले आफूहरूलाई दुर्गमका भनेर समय उपलब्ध नगराइएको भनिरहेका थिए । नेकपा सचेतक शान्ता चौधरीले हंगामा गर्ने सांसदहरूलाई सम्झाएकी थिइन् । उनीहरूले अर्थमन्त्रीले जवाफ दिइरहँदा पनि बोलिरहेका थिए ।

प्रकाशित : वैशाख ३१, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?