१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोनाको ‘हटस्पट’ बन्दै प्रदेश ५

भारतले प्रवासी कामदारलाई रेल र बसबाट ल्याएर छाड्न थालेपछि सीमाक्षेत्रमा चाप बढेको छ । त्यहाँबाट लुकिछिपी प्रवेश गरेका व्यक्तिहरूमै संक्रमण देखिइरहेको छ ।
जनकराज सापकोटा

काठमाडौँ — सीमाबाट लुकीछिपी प्रवेश गरेकाहरूसँगै कोरोना भित्रिन थालेपछि प्रदेश ५ उच्च जोखिममा परेको छ । भारतले लकडाउन खुकुलाे पारेसँगै सीमाक्षेत्रमा ल्याएर छाडिदिएकाहरू लुकेर नेपाल पस्ने गरेका हुन् ।

कोरोनाको ‘हटस्पट’ बन्दै प्रदेश ५

सीमानाकामा यसरी आएका नेपालीको भीड दिनहुँ थपिँदै गएकाले यो प्रदेश कोभिड–१९ संक्रमणको ‘हटस्पट’ बन्ने खतरा बढेको छ । कतिपय स्थानमा खेतको साँध, घरको छत र आँगनसमेत भारतसँग जोडिएकाले उनीहरूलाई रोक्न चुनौती छ ।

सोमबार र मंगलबार थपिएका ४१ सँगै यहाँ संक्रमितको संख्या ७० पुगिसकेको छ । मुलुकभर पुष्टि भएका संक्रमितमध्ये यो झन्डै ३३ प्रतिशत हो । बुधबारसम्म प्रदेश २ पछि सबैभन्दा धेरै संक्रमित भएको र एक जना पनि डिस्चार्ज नभएको प्रदेश ५ नै हो ।

हालसम्म भारतसँग सिमाना जोडिएका बाँके, कपिलवस्तु, रूपन्देही र बर्दियामा संक्रमित भेटिएका छन् । यी चारसहित ६ वटा जिल्लाको ४ सय ८५ किमि सीमा भारत, उत्तर प्रदेशका सात जिल्लासँग जोडिएको छ । ६ जिल्लामा साना–ठूला गरी ५६ वटाभन्दा बढी नाका छन् ।

उत्तर प्रदेशमा मंगलबार मात्रै १ सय ६ जनामा संक्रमण देखिएको छ भने कुल संख्या ३ हजार ६ सय नाघिसकेको छ । भारतको स्वास्थ्य मन्त्रालयले नेपालसँग सिमाना जोडिएका उत्तर प्रदेशका चार जिल्ला बहराइच, श्रावस्ती, बलरामपुर र पिलभिटलाई संक्रमणको मध्यम अवस्था (अरेन्ज जोन) र तीन जिल्ला लखिमपुर खेरी, सिद्धार्थनगर र महाराजगन्जलाई न्यून जोखिम (ग्रिन जोन) मा राखेको छ । ग्रिन जोन भनिने जिल्लाबाट नेपालीहरू सीमावर्ती क्षेत्रमा सजिलै आइरहेका छन् । तर सरकारले उनीहरूलाई के गर्ने भन्नेबारे नीति बनाएको छैन ।

अहिलेसम्म भेटिएका अधिकांश संक्रमित भारतबाटै आएको यात्रा विवरणले देखाएको छ । सुरुमा आएकालाई स्थानीय तहले क्वारेन्टाइनमा राखेका थिए । तीन/चार दिनयता सीमामा थेग्न नसकिने भीड बढेपछि स्थानीय तहले व्यवस्थापन गर्न सकेका छैनन् । सीमावर्ती पालिकाहरूले लुकेर आएकालाई क्वारेन्टाइनमा ठाउँ अभाव भएको जनाउँदै दशगजामै फर्काउन थालेका छन् । तर, यसरी फर्काइएकाहरू कहाँ पुगे भन्ने कुनै अभिलेख छैन ।

रूपन्देहीको मुख्य नाका सुनौलीमा एक सातादेखि भारतका विभिन्न सहरबाट आइरहेकाहरूको भीड छ । उत्तर प्रदेशको महाराजगन्जस्थित नौतनवा इन्टर कलेजको क्वारेन्टाइनमा रहेका ८२ नेपालीले मंगलबार क्वारेन्टाइन अवधि पूरा भएकाले नेपाल जान पाऊँ भन्दै नारा–जुलुस गरेका थिए । घर फर्किन पाउनुपर्ने भन्दै क्वारेन्टाइनबाट निस्कन खोजेपछि भारतीय प्रहरीले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा खबर पठाएका थिए । लगत्तै जिप्रकाका २ प्रतिनिधि, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीको क्वारेन्टाइनस्थल पुगेको थियो । यो घटनाले क्वारेन्टाइन अवधि पूरा गरेकालाई स्वदेश फर्काउने उचित व्यवस्थापन नहुँदा झडपको घटना बढन सक्ने संकेत गर्छ ।

नौतनवास्थित विभिन्न क्वारेन्टाइनमा पाँच सय जनालाई राखिएको चार साता कटिसकेको छ । त्यहाँ अहिले एक हजार हाराहारी बसिरहेका छन् । भारतीय प्रशासनले क्वारेन्टाइन अवधि पूरा गरिसकेकालाई लैजान बारम्बार नेपाली सुरक्षा अधिकारीलाई आग्रह गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सिमानामा देखिएका समस्याबारे दैनिक केन्द्रमा जानकारी गराउँदै आएको बताए । ‘क्वारेन्टाइन अवधि पूरा भएकालाई लैजान भनेर सीमावर्ती जिल्लाका डीएम (जिल्लाधिकारी) ले बारम्बार आग्रह गरिरहेका छन्,’ पन्थले भने, ‘यसबारे माथि कुरा गर्दा छलफल भइरहेको भन्ने जानकारी आउँछ ।’

रूपन्देहीकै रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले भारतमा अनेक दुःख–कष्ट खेप्दै स्वदेश आएका नेपालीले सहज रूपमा प्रवेश नपाएकाले लुकीछिपी खुला सिमानाबाट आइरहेको बताए । ‘क्वारेन्टाइनका नाममा आफ्नै नागरिकलाई थुनेर राख्दा मानसिक तनाबमा पर्न थालेका छन्,’ उनले भने, ‘स्वदेशकै क्वारेन्टाइनमा बस्ने गरी व्यवस्थित रूपमा मूल नाकाबाट ल्याउने हो भने खुला सिमानाबाट लुकेर आउन खोज्ने समस्या धेरै हदसम्म समाधान हुन्छ ।’

दशगजाका विभिन्न स्थानमा भेला भएका सर्वसाधारणले वैधानिक रूपमा मुलुक प्रवेश नपाएपछि चोर बाटो प्रयोग गरिरहेका छन् । लकडाउनपूर्व र त्यसको एक सातापछिसम्म पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तुका विभिन्न नाकाबाट सयौं प्रवासी नेपाली भित्रिएका थिए । त्यसरी आउने अधिकांश प्रदेश ५ का पहाडी जिल्लाका बासिन्दा थिए । यसरी भित्रिनेको नाकामा अभिलेख नराखिएकाले उनीहरूलाई क्वारेन्टाइनमा राख्न सम्भव भएको थिएन । उनीहरू सीधै आफ्नो घरमा पुगेका थिए । अहिले सीमा पार गरेर आउने अधिकांश सीमावर्ती जिल्लाकै बासिन्दा छन् ।

एक सातायता दशगजामा आएका सर्वसाधारणलाई भारतीय सीमा सुरक्षा बलले रोकेको छैन । दशगजामा आएपछि नेपाली सुरक्षाकर्मीले रोक्ने गरेका छन् । स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको प्रयासले लुकेर आउनेलाई पनि क्वारेन्टाइनमा राख्ने गरिएको छ । तर, तिनीहरूको स्वास्थ्य परीक्षण निकै सुस्त छ । सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार सरकारले स्वास्थ्यकर्मीकै अभावमा अहिले पनि कन्ट्याक्ट ट्रेसिङको काम गर्न सकेको छैन ।

आइतबार मात्रै कपिलवस्तुको खुल्ला सीमा हुँदै भारततर्फबाट प्रवेश गरेका ८, रूपन्देहीको मर्चवार गाउँपालिकाको खैराघाट क्षेत्रबाट प्रवेश गरेका २० र सम्मरीमाई गाउँपालिकाको खुल्ला क्षेत्रबाट प्रवेश गरेका ४९ गरी ७७ जनालाई स्थानीय तहसँगको समन्वयमा क्वारेन्टाइनमा राखिएको थियो । २८ गते नै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको दशगजा क्षेत्रबाट ५ जना, प्रतापपुर गाउँपालिका हुँदै ९ जना र बलिनगर क्षेत्रबाट ३५ जना गरी कुल ७५ जनालाई नेपाल प्रवेश गर्न प्रहरीले रोकेको थियो ।

गृहस्रोतका अनुसार सोमबारसम्म उत्तरप्रदेशसँग सीमा जोडिएका बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीको पारिपट्टि भारतीय क्षेत्रमा ९ सय ३८ नेपाली जम्मा भएका छन् । मंगलबार यो संख्या २ सय ६४ ले बढेर १२ सय २ पुगेको छ । तर सीमा सुरक्षामा खटिएका प्रहरीबाट संकलित अनौपचारिक तथ्यांकमा भने ३ हजारभन्दा धेरै नेपाली समूह–समूह बनाएर बसेको देखिन्छ । सुरक्षा स्रोतका अनुसार मंगलबारसम्म मात्रै पश्चिम नवलपरासीको पारिपट्टि ४९ जना, कपिलस्तुको दशगजा क्षेत्रमा २१ सय ३७ र रूपन्देही पारी ९ सय जना जम्मा भएका छन् । कपिलवस्तुको सीमावर्ती क्षेत्रमा खटिएका एक प्रहरी अधिकारीले यस्तो संख्या प्रत्येक दिन बढ्दो क्रममा रहेको र जुनसुकै बेला झडपको अवस्था निम्तिन सक्ने जोखिम रहेको बताए ।

संक्रमण तीव्र भएका जिल्लाका संक्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि काठमाडौंबाट दुई टोली गएका छन् । स्वास्थ्य मन्त्रालयका डा. यदुचन्द्र घिमिरेको नेतृत्वमा डा. प्रकाश बुढाथोकीसहितको टोली कपिलवस्तुमा छ । त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका राम नेपालीको नेतृत्वमा खटिएको चार जनाको टोली नेपालगन्जदेखि बुटवलसम्मका आइसोलेसन अस्पतालमा खटिएको छ । त्यस्तै १२ वटै जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी, स्थानीय तहका जनस्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, सुरक्षाकर्मी पनि कन्ट्याक्ट ट्रेसिङमा खटिएका छन् । नेपालगन्जमा नेपाली सेनाको टोली पनि छ ।

सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले पछिल्लो चरणमा भारतबाट लुकीछिपी आउने र घरमा लुक्ने प्रक्रिया भित्रभित्रै चलिरहेकाले चुनौती बढ्दै गएको बताए । ‘अहिले देखिएको मुख्य जोखिम भनेकै दैनिक भारतबाट लुकेर आउने र घरभित्रै बस्ने गरेकाबाट हो,’ उनले भने, ‘अहिले बढिरहेको संक्रमितको संख्याले पनि त्यही देखाएको छ ।’

ठूलो संख्या भारतबाट भित्रिने क्रम जारी रहे पनि आइतबारसम्म प्रदेश ५ मा ४७ जना मात्रै आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइसोलेसनबाट २ सय ९४ जना घर फर्किएका छन् तर यसरी फर्किनेहरूको निगरानीमा प्रदेश सरकार चुकिरहेको देखिन्छ ।

सोमबारसम्म प्रदेशका ५ सयभन्दा बढी क्वारेन्टाइनमा ५ हजार ३ सय ५४ जना र होम क्वारेन्टाइनमा ४ सय ६३ जना छन् । होम क्वारेन्टाइनमा बस्नेको संख्या अन्य ६ प्रदेशको तुलनामा सबैभन्दा कम हो । यहाँ परीक्षण दर पनि अन्य प्रदेशको तुलनामा कम छ ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले भारतबाट लुकीछिपी आउने र घरमा लुक्ने प्रवृत्ति रहेकाले नियन्त्रणमा मुख्य समस्या देखिएको बताए । ‘नाकाभरि पुलिस परिचालन भएको छ,’ उनले भने, ‘तर पनि दिनहुँ आउने क्रम रोकिएकै छैन ।’ कुनै हालतमा पनि रोकिने अवस्था नदेखिएपछि अब के गर्ने भन्ने विषयमा नेपालतर्फका सुरक्षा निकाय, स्थानीय तह र भारततर्फका सुरक्षा निकायसँग छलफल भइरहेको उनले बताए । सीमामा अल्झिएकालाई नेपाल ल्याएर सीमाक्षेत्रमै क्वारेन्टाइनमा राख्ने तयारीमा सरकार रहेको उनले जानकारी दिए । त्यससँगै परीक्षणको दर पनि तीव्र पारिएको उनको भनाइ छ ।

प्रदेश ५ का डीआईजी रवीन्द्रसिंह धानुकले प्रदेशका कतिपय पहाडी जिल्लाबाट समेत प्रहरी झिकाएर सीमा नाकामा परिचालन गरिएको बताए । ‘दिनरात नभनी जोखिम मोलेर सीमा नाकामा प्रहरी खटाएका छौं,’ उनले भने ।

पश्चिम नवलपरासीमा महेशपुर र झुलनीपुरका अलावा अरू पाँच नाका छन् । रूपन्देहीमा बेलहिला मुख्य भन्सार नाका र लुम्बिनी क्षेत्रमा कालीदह छोटी भन्सार छ । मैनिहवा, पिपरहवासहित ६ भन्दा बढी अन्य सडक जोडिएका क्षेत्र छन् । जहाँबाट साइकलसहित साना सवारीसाधनसमेत गुड्छन् । कपिलवस्तुको कृष्णनगर भन्सार नाका हो भने मरियातपुर र चाकलगौडा चलेका नाका हुन् । यीबाहेक आधा दर्जनभन्दा बढी साना तर सहजै प्रवेश गर्न सकिने नाका छन् । बाँकेमा रुपैडिया र नरैनापुर मुख्य नाका छन् । त्यसबाहेक पाँचभन्दा बढी अन्य खुला नाका छन् । बर्दियामा गुलरिया र राजापुर नाकाका अलावा अन्य क्षेत्रबाट सजिलै सीमापार गर्न सकिन्छ । दाङमा साना–ठूला गरेर ३४ नाका छन् । कोइलाबास, अर्ना र खांग्रासहित ६ नाकामा स्थायी सुरक्षा क्याम्प रहे पनि अन्यमा अस्थायी क्याम्प बनाएर सुरक्षाकर्मी परिचालित छन् ।

भारतका विभिन्न प्रदेशमा कार्यरत नेपालीलाई स्वदेश फर्काउन भारत सरकारले प्रेरित गरिरहेकाले सीमा नाकामा नेपाली थुप्रिने क्रम क्रमशः बढिरहेको छ । गत बिहीबार मात्रै टाइम्स अफ इन्डियासँगको कुराकानीमा गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले गोवाका विभिन्न क्षेत्रमा कार्यरत ८० हजार नेपालीलाई घर फर्काउन कार्यक्रम सुरु गरिएको बताएका थिए । उनले टाइम्स अफ इन्डियासँग ‘घर फर्किन चाहनेले आफ्नो नाम दर्ता गराउन सक्ने’ बताएका थिए । उनले नेपाल फर्किन चाहनेलाई तोकिएको गन्तव्यसम्मका लागि रेलसेवा उपलब्ध गराइएको र रेल स्टेसनसम्म सरकारले नै पुर्‍याउने प्रबन्ध गरेको जनाएका थिए ।

नवीन पौडेल (परासी), घनश्याम गौतम र माधव ढुंगाना (रूपन्देही) को सहयोगमा

प्रकाशित : वैशाख ३१, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?