१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खुल्न थाले ओपीडी

लकडाउन खुकुलो भएसँगै राजधानीका ठूला अस्पतालले पनि ओपीडी सेवा सुचारु गरेका छन् । जसका कारण अस्पतालमा बिरामीको संख्यासमेत ह्वात्तै बढेको छ ।

काठमाडौं र धनगढी — लकडाउन खुकुलो भएसँगै राजधानीका ठूला सरकारी अस्पतालले बहिरंग सेवा (ओपीडी) सुरु गरेका छन् । सरकारी, गैरसरकारी र शिक्षण अस्पतालका ओपीडी खोल्न सरकारले दिएको निर्देशनअनुसार राजधानीका अस्पतालले उक्त सेवा थालेका हुन् ।

खुल्न थाले ओपीडी

लकडाउन अवधिभर आकस्मिक कक्षमा सीमित भएको उपचार अब बिरामीले ओपीडीबाटै नियमित रूपमै पाउनेछन् । लकडाउनमा केही अस्पतालले भने ओपीडीसमेत सुचारु गरेका थिए तर बिरामीको उपस्थिति न्यून थियो । लकडाउनअघि दैनिक दुई हजार बिरामी आउने गरेको पाटन अस्पतालमा कोरोनाको संक्रमण बढेपछि त्रासका कारण बिरामीको संख्या घटेको निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए । लकडाउन अवधिमा दैनिक एक सय बिरामीले मात्रै ओपीडीबाट सेवा लिने गरेको उनले सुनाए । ‘सबै सेवा इमर्जेन्सीबाट सञ्चालनमा थियो,’ उनले भने, ‘ओपीडीमा सकभर नआउन हामीले आग्रह गरेका थियौं ।’ लकडाउन खुकुलो भएसँगै दैनिक साढे पाँच सय बिरामी अस्पताल आउन थालेको उनले जानकारी दिए । उनका अनुसार अस्पतालमा दाँत र आँखा विभागबाहेक सबै विभाग खुला गरिएको छ ।

लकडाउनभर वीर अस्पतालको ओपीडी पनि खुलै थियो तर बिरामीको संख्या न्यून । अस्पतालले फोनबाटै बिरामीको उपचार गर्ने अभ्यास गरिरहेको थियो । दैनिक दुई हजारभन्दा बढी बिरामीको ओइरो लाग्ने यो अस्पताल लकडाउनका कारण डेढ सय बिरामीको उपचारमा सीमित भयो । लकडाउन खुकुलो भएसँगै ओपीडीमा भीड बढेको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । अहिले अस्पतालमा दैनिक पाँच सय जनासम्म आइरहेका छन् । ‘योभन्दा बढी बिरामी आउन थाले भने व्यवस्थापन गर्न गाह्रो छ,’ उनले भने, ‘आएका जति सबैलाई ज्वरो नापेर अन्य जाँच गरिरहेका छौं ।’ वीरका १८ वटा विभागबाट अहिले ओपीडी सेवा दिइएको उनले जानकारी दिए ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालले दुई साता अघिदेखि ओपीडी सेवा सञ्चालनमा ल्याएको छ । लकडाउनअघि दैनिक सात सय बिरामीले सेवा लिने गरेकामा अहिले दुई सय जति ओपीडीमा आइरहेका निर्देशक डा. दीर्घराज आरसी बताउँछन् । ‘सबैलाई मास्क लगाएर मात्रै छिर्न दिएका छौं,’ उनले भने, ‘ढोकामा भीडभाड गर्न दिइएको छैन, दूरी कायम गरेर बिरामी हेरिरहेका छौं ।’

थापाथलीस्थित प्रसूति गृहमा पनि बिरामीको आगमन बढिरहेको छ । लकडाउनमा केही दिन बन्द भएको ओपीडी सेवा पछि खुला गरियो । खुला गरे पनि दैनिक बढीमा दुई सय बिरामीले ओपीडीबाट सेवा लिन्थे । लकडाउन खुकुलो भएसँगै यहाँ दैनिक चार सय जनासम्म बिरामी आउन थालेका अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए । ‘सुत्केरी हुनेको संख्या त कुनै दिन पनि घटेन,’ उनले भने, ‘दैनिक ८० जनासम्म सुत्केरी हुन आउँथे, ओपीडीचाहिँ प्रभावित भएको थियो ।’ ओपीडी खुला भए पनि अझै गम्भीर शल्यक्रिया भने गर्न सक्ने अवस्था नभएको उनले स्पष्ट पारे । ‘आकस्मिकबाहेक पाठेघरको शल्यक्रिया पनि गर्न सकिँदैन,’ उनले भने, ‘ल्याप्रोसकोपीबाट गरिने ठूला शल्यक्रिया गरिँदैन ।’

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि दुई सातायता ओपीडी सेवा सुचारु गरिएको छ । लकडाउन अवधिमा पनि बिरामीको आगमन भइरहेपछि बिरामीले सेवा पाउन् भनेर यसो गरिएको अस्पताल प्रशासन प्रमुख माधव घिमिरे बताउँछन् । ‘ओपीडी खुला छ भनेर हामीले कुनै सार्वजनिक सूचना त निकालेको होइन तर बिरामी आइरहेपछि सेवा दिएका हौं,’ उनले भने, ‘अस्पताल आउन नसक्ने बिरामीले फोनबाटै पनि परामर्श र उपचार पाएका छन् ।’ लकडाउनअघि यहाँ दैनिक दुई हजार बिरामी आउँथे । अहिले यो संख्या करिब तीन सय छ । उनका अनुसार भाइरस संक्रमणको जोखिम कम गर्न टिकट काउन्टर र ओपीडीमा सेवा लिनेलाई एकदेखि तीन मिटरको दूरी कायम गर्न लगाइएको छ ।

बाँसबारीको सहिद गंगालाल हृदयरोग केन्द्रमा पनि मुटुका बिरामी आउने क्रम बढिरहेको छ । लकडाउनअघि यहाँ दैनिक सात सय बिरामी आउँथे । यसबीचमा ओपीडी बन्द भयो । तर, दैनिक ४/५ जना बिरामी भने आइरहे । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारी भन्छन्, ‘आएका बिरामी फर्काएनौं, इमर्जेन्सीबाट सेवा दियौं ।’ वैशाख १९ बाट पुन: ओपीडी सेवा सञ्चालन गरे पनि बिरामीको संख्या धेरै नबढेको उनले बताए । लकडाउन खुकुलो भएपछि सोमबार मात्रै एक सय चार जनाले ओपीडी सेवा लिएका छन् । संक्रमणको जोखिम कम गर्न खुला ठाउँमा ओपीडी राखिएको र भीड गर्न नदिइएको डा. अधिकारी बताउँछन् ।

स्पष्ट निर्देशिकाबिनै अस्पतालको ओपीडी खोल्ने निर्णयप्रति उपचार गर्ने चिकित्सक सहमत छैनन् । चिकित्सकलाई मास्क, पन्जा र सेनिटाइजरजस्ता सुरक्षात्मक सामग्री दिएर मात्रै बिरामी जाँच्न लगाउनुपर्ने सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेको भनाइ छ । ‘सरकारले ओपीडीमा बिरामी हेर भनेर निर्देशन दिएपछि हामीले पालना गर्नैपर्‍यो,’ उनले भने, ‘तर पहिलेजस्तो भीड जम्मा गरेर बिरामी हेरिहाल्ने अवस्था छैन, सावधानी अपनाएर थोरै बिरामी हेर्ने प्रणाली बनाउन आवश्यक छ ।’

सुदूरमा पनि ओपीडी सञ्चालन तयारी

कोरोना भाइरस संक्रमितहरु देखिन थालेपछि बहिरंग सेवा (ओपीडी) बन्द गरेका सुदूरपश्चिमका सरकारी अस्पतालहरुले उक्त सेवा सुचारु गर्ने तयारी गरेका छन् । सबै संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका र नयाँ संक्रमितसमेत नदेखिएपछि अस्पतालहरुले सेवा पुन: सञ्चालनको तयारी गरेका हुन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशमा सञ्चालित सबै अस्पतालहरुलाई ओपीडी सेवा सुचारु गर्न निर्देशन दिएपछि सरकारी अस्पतालहरुले सेवा सुचारु गर्ने निर्णय गरेका छन् । ओपीडी सेवा बन्द भएपछि दैनिक ६ सय बिरामीको जाँच तथा उपचार हुँदै आएको धनगढीस्थित सुविधासम्पन्न सेती प्रादेशिक अस्पताल विगतका तुलनामा सुनसानजस्तै छ । सुदूरपश्चिमको रेफरल सेन्टरका रूपमा रहेको यस अस्पताललाई प्रदेश सरकारले कोरोना उपचारका लागि डेडिकेटेड अस्पतालका रूपमा तोकेको थियो । त्यससँंगै यहाँ देखिएका संक्रमितहरुलाई यसै अस्पतालमा भर्ना गरेर उपचार गर्न थालेपछि अन्य सेवाहरु प्रभावित भएका थिए । ओपीडी सेवा बन्द गरेपछि यस अवधिमा अस्पतालले आकस्मिक उपचार गर्नुपर्ने र सुत्केरी सेवा लिन आउनेहरुबाहेकका बिरामीहरु अस्पताल आउन छाडेका थिए ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार विगतमा बहिरंगमा दैनिक साढे ३ सय र आकस्मिकमा अढाइ सय बिरामी आउने गरेका थिए । यस अस्पताललाई कोरोना उपचार केन्द्र बनाएदेखि बहिरंग सेवा बन्द गरिएको छ । आकस्मिक कक्षमा आउने बिरामीको संख्या पनि न्यून रहेको श्रेष्ठले बताए । उनले भने, ‘सर्वसाधारणमा त्रास पनि भयो । त्यसैमा लकडाउनका कारणले पनि हुन सक्ला ।’ मंगलबारदेखि ओपीडी सेवा सुचारु गर्ने तयारी गरेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । उनले भने, ‘कोरोनाको त्रास कायमै रहेकाले आवश्यक सतर्कता र व्यवस्थापन मिलाउने तयारीमा कर्मचारीहरु खटिरहेका छन् ।’

नयाँ संक्रमित नदेखिएको अवस्थामा ओपीडी सुचारु गर्न निर्देशन दिइएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘लामो समयसम्म ओपीडी सेवा बन्द भएकाले सर्वसाधारण बिरामी उपचारबाट वञ्चित भएको परिस्थिति र हाललाई कोरोनाका नयाँ बिरामी पनि नदेखिएकाले पुन: सञ्चालन गर्न निर्देशन दिएका हौं,’ डा. अवस्थीले भने, ‘अस्पतालहरुलाई आवश्यक सतर्कता अपनाएर मात्रै सेवा प्रवाह गर्न भनेका छौं ।’

निर्देशनालयद्वारा ओपीडी सेवा सुचारु गर्न निर्देशन दिइएपछि जिल्ला अस्पतालहरुलेसमेत सेवा सुचारु गर्ने तयारी गरेका छन् । बझाङ जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भानुभक्त जोशीका अनुसार बझाङ अस्पतालले सोमबारदेखि सेवा सुरु गरेको छ । जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ओपीडी सेवा सञ्चालन गरेको अस्पतालका प्रमुख डा. रूपचन्द्र विश्वकर्माले बताए । डोटीका अस्पतालहरुले यसअघि नै सेवा सुरु गरिसकेको जिल्ला स्वास्थ्य प्रमुख रमेश मलासीले बताए ।

प्रकाशित : वैशाख ३१, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?