राजमार्गमा बाघको परेड !

लकडाउनयता बर्दिया राष्ट्रिय निकुञ्ज भएर जाने पूर्व–पश्चिम राजमार्गमा बाघको आवागमन बढेको छ । ४० दिनमा ६ वटा बाघ क्यामेरामा कैद भएका छन् । एउटै बाघ धेरै पटक एकै क्षेत्रमा देखिएका छन् ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — लकडाउनअघि सवारीसाधनले कब्जा जमाएका जंगलमा पर्ने राजमार्गमा यतिबेला बाघको चहलपहल बढेको छ । जंगलभित्र पनि देख्न मुस्किल पर्ने बाघ बर्दियाको राजमार्ग क्षेत्रममा निर्धक्क हिँडिरहेका देखिन्छन् ।

राजमार्गमा बाघको परेड !

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियाको अम्रेनीबाट कर्णाली चिसापानी पुलसम्म राखिएका स्वचालित क्यामेरामा राजमार्गमा रातभर बाघ हिँड्ने गरेको देखिएको हो । बर्दिया राष्ट्रिय निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) अन्तर्गत बर्दिया संरक्षण कार्यक्रमको प्राविधिक सहयोगमा लकडाउन सुरु भएपछि राजमार्गको १६ किलोमिटरभित्र १० स्थानमा क्यामेरा जडान गरेको थियो । एक मिटर उचाइमा रूखमा ती क्यामेरा जडान थिए ।

‘क्यामेराले रातभर राजमार्गमा बाघ हिँडडुल गरिरहेको तस्बिर कैद गरेको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) अणनाथ बरालले कान्तिपुरसँग भने, ‘कोलाहल नहुँदा बाघ, हात्तीलगायतका वन्यजन्तु राजमार्ग क्षेत्रमा स्वतन्त्र रूपमा हिँडिरहेका छन् ।’ अम्रेनीदेखि कर्णाली पुलसम्म ४० दिनमा ६ वटा बाघ आवतजावत गरेको देखिएको छ । क्यामेरामा हात्तीको झुन्ड, चित्तल, जरायो, बाँदर, स्याललगायतका वन्यजन्तुसमेत कैद भएका छन् । एउटै बाघ धेरै पटक एकै क्षेत्रमा देखिएका छन् ।

रातको समयमा राजमार्गमा कुन–कुन वन्यजन्तुको आवागमन हुन्छ भनेर बुझ्न क्यामेरा जडान गरिएको हो । क्यामेरा जडान गरिएकै क्षेत्रमा केही वर्षअघि गाडीको ठक्करबाट दुईवटा बाघ मरेका थिए । ‘त्यसले पनि उक्त क्षेत्र बाघको ओहोरदोहोर हुने क्षेत्र रहेको पुष्टि हुन्छ,’ बरालले भने, ‘यो पटक क्यामेराको फुटेज हेर्दा राजमार्ग क्षेत्र र आसपासमा बाघको संख्या उल्लेख्य भएको प्रमाणित हुन्छ ।’

तस्बिर : उमेश पौडेल/एनटीएनसी

(एनटीएनसी) को बर्दिया संरक्षण कार्यक्रमका प्रमुख रविन कडरियाका अनुसार लकडाउन सुरु भएपछि राजमार्गमा बाघको ओहोरदोहोर हेर्नलायक भएको बताए । ‘यतिबेला राजमार्ग बाघलगायतका वन्यजन्तुको कब्जामा छ भन्दा हुन्छ,’ कडरियाले भने, ‘हरेक दिनजसो बाघ हिँडेको देखिन्छ, एउटै बाघ धेरैपटक क्यामेरामा कैद भएको छ ।’

बरालका अनुसार लकडाउनको र सवारी चलेको अवधिमा राजमार्गमा बाघलगायतका वन्यजन्तुको ओहोरदोहोरको अवस्था बुझ्ने निकुञ्जको मुख्य उद्देश्य हो । ‘लकडाउन खुलेपछि पनि क्यामेरा राखेर बाघको अनुगमन गर्छौं,’ बरालले भने, ‘सवारी चल्दा र नचल्दा वन्यजन्तुको मोबिलिटी कस्तो हुन्छ भन्ने थाहा हुन्छ ।’

दुई वर्षअघिको गणनाअनुसार बर्दिया निकुञ्जमा ८७ वयस्क बाघ छन् । अन्य निकुञ्जमा भन्दा बर्दियामा बाघको वृद्धिदर राम्रो छ । सन् २०१३ मा त्यहाँ ५० र सन् २००९ मा जम्मा १८ वटा बाघ थिए । बर्दिया निकुञ्ज भएर पूर्व–पश्चिम राजमार्ग गएको छ । राजमार्गको उत्तर र दक्षिण दुवैतिर बाघ बस्दै आएका छन् । बरालका अनुसार लकडाउनपछि राजमार्गसहित निकुञ्जका अन्य क्षेत्रमा पनि बाघ धेरै देखिएको छ । केही दिनअघि बाघको आक्रमणबाट एक जनाको मृत्युसमेत भएको थियो ।

प्रकाशित : वैशाख ३१, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?