कोरोनाले रोकियो गोर्खा भर्ती

पुरानैलाई लिँदा निष्पक्ष र पारदर्शी हुनेमा शंका
दीपक परियार

पोखरा — बेलायती सेनामा भर्ती हुन तनहुँका कमल श्रेष्ठले दुई वर्ष उमेर घटाएर इमर्जेन्सी पासपोर्ट निकाले । पहिलो प्रयासमै सफल हुने आसमा लकडाउन अघि ट्ेरनिङ सेन्टरमा भर्ना भए । तर, ब्रिटिस गोर्खा नेपाल (बीजीएन) ले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै यस वर्ष नयाँ आवेदन नलिने जनाएको छ ।

कोरोनाले रोकियो गोर्खा भर्ती

बीजीएनले आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त सूचना सोमबार सार्वजनिक गरेपछि कमलजस्तै यस वर्ष भर्ती देखिन चाहने हजारौं बञ्चित हुने भएका छन् ।

बीजीएनले रेक्रुट इन्टेक २१ को रजिस्ट्रेसन तथा रिजनल सेलेक्सन सुरक्षित ढंगले गर्न नसक्ने जानकारी गराएको हो । यसअघि पोखरामा जेठ ८ देखि र धरानमा जेठ १० देखि असार २६ सम्म दर्ता प्रक्रियाका लागि मिति तय गरिएको थियो । पछिल्लो सूचना प्रकाशित भएपछि यस वर्ष भर्ती हुनका लागि नाम दर्ता गराउने फारम खुल्ने छैन ।

प्रकाशित सूचनामा हालको अवस्थामा सुधार आए सेन्ट्रल सेलेक्सन (केन्द्रीय छनोट) सञ्चालन हुनसक्ने जनाइएको छ । सेन्ट्रल सेलेक्सन हुने अवस्थामा रेक्रुट इन्टेक २० को रिजनल तथा सेन्ट्रल सेलेक्सनमा उत्कृष्ट नतिजा ल्याएकालाई मात्र बोलाइने बताइएको छ । अघिल्लो वर्षको क्षेत्रीय र केन्द्रीय छनोटमा उत्कृष्ट नतिजा ल्याएका तर मेरिटका आधारमा भर्ती हुनेको सूचीमा नपरेकाले मात्रै यस वर्ष पुन: भर्ती हुन पाउनेछन् । त्यस्तो संख्या झन्डै ४ सयको हाराहारीमा मात्रै छ । वर्षैपिच्छे नयाँ भर्ती देखिने भने झन्डै १० हजारको हाराहारीमा हुन्छन् ।

सेन्ट्रल सेलेक्सन हुने अवस्थामा नामावली वेबसाइटमा प्रकाशित गर्ने र फोनमार्फत जानकारी गराइने सूचनामा उल्लेख छ । ‘यो कुरा निर्णय हुन केही महिना लाग्न सक्छ,’ सूचनामा भनिएको छ, ‘हामी यो कुराको निर्णय २०२० सेप्टेम्बर महिनाको १ तारिखमा हाम्रो वेबसाइटद्वारा अवगत गराउनेछौं ।’ यसअघि ०७२ मा भूकम्प आउँदा सन् २०१५ को इन्टेकमा पनि नयाँ भर्ना लिइएको थिएन ।

ब्रिटिस गोर्खा नेपालले भर्ती प्रक्रियालाई नि:शुल्क, निष्पक्ष र पारदर्शी भन्दै आएको छ । नयाँ आवेदन नलिने निर्णप्रति अधिकांशले असन्तुष्टि व्यक्त गरेका छन् । उसको आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्नेले केही समय पछि धकेलेर भए पनि सबैलाई बराबरी मौका दिनुपर्ने सुझाएका छन् । ‘यो मेरो पहिलो प्रयास हुने थियो । यत्रो मिहिनेत गरें । यो लकडाउनमा इमर्जेन्सी पासपोर्ट बनाएर पहिलो प्रयास गर्ने कति छन् होला,’ कमल श्रेष्ठले भने, ‘यो सबैका लागि को जिम्मेवार हुन्छ ? हामीसँग यो वर्ष अझैं ८–९ महिना बाँकी छ । यो निर्णयले केही सय पहिलेका रिक्रुटहरू हाँसिरहेका होलान् तर हजारौंजना रोइरहेका छन् । हामी निस्पक्ष निर्णय चाहन्छौं ।’

पहिलो प्रयास गर्नेलाई मौका नदिने हो भने सबैलाई बराबरी मौका दिइनेछ भन्नुको कुनै अर्थ नहुने मनिराज दुरा बताउँछन् । सफल गुरुङ लेख्छन्, ‘ब्रिटिस गोर्खा नेपालले अर्को निष्पक्ष निर्णय लिनुपर्छ । गत वर्ष भर्ती देखिएकालाई यो राम्रो अवसर हो तर नयाँ भर्ती देखिन चाहने सम्भाव्यलाई दर्ता प्रक्रियामा सामेल नगर्ने हो भने उनीहरूको समय खेर जानेछ ।’

पोखरा र धरानबाट दर्ता प्रक्रिया र क्षेत्रीय छनोट हुन्छ । अन्तिम अर्थात केन्द्रीय छनोट पोखराको ब्रिटिस क्याम्पबाट हुन्छ । पोखरामा लाहुरे तयारीका लागि ट्ेरनिङ सेन्टरका एक सञ्चालकले पुरानालाई मात्रै मौका दिँदा क्याम्पभित्रबाटै चलखेल हुनसक्ने अत्यधिक सम्भावना रहने बताउँछन् । ‘क्याम्पका कर्मचारीले आफूले इच्छाएको रिक्रुटलाई मात्रै बोलाउन सक्ने सम्भावना प्रवल रहन्छ,’ उनले भने, ‘त्यसमा आर्थिक लेनदेनले पनि भूमिका खेल्छ ।’

नेपाल फर्किएर ट्ेरनिङ सेन्टर चलाइरहेका केही भूतपूर्व गोर्खा सैनिक र क्याम्पका अधिकारीबीचको पुरानो चिनजानले पनि मिलिमतो सहज भएको उनको दाबी छ । ‘आफ्नै बलबुतामा भर्ती हुनेसँग पनि २०–३० लाख रुपैयाँ असुल्ने काम हुन्छ,’ उनी भन्छन्, ‘पैसा दिएर भर्ती भएको थाहा पाए आफैं निकालिनुपर्ने डरले पैसा बुझाएकाहरू पनि बोल्न चाहँदैनन् ।’ सन् २०२० इन्टेकमा भर्ती भएर जनवरीमा बेलायत प्रवेश गरेकाले पनि उता कोरोनाकै कारण ट्ेरनिङ सुरु गर्न नपाएको उनले सुनाए

प्रकाशित : वैशाख ३०, २०७७ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?