कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘सीमामा रोक्दा संक्रमण भित्रभित्रै फैलने डर’

कूटनीतिक नोटका भरमा मात्र अतिक्रमित भूमि फिर्ता गर्न भारत नमान्ने सांसदहरूको भनाइ
ऋषिराम पौड्याल

काठमाडौँ — भारतीय प्रहरीले नेपालीलाई खान नदिएको, गलत स्थानबाट नेपालमा प्रवेश गर्न दबाब दिने गरेको र क्वारेन्टाइनमा नराखेको भन्दै सीमावर्ती क्षेत्रका सांसदहरूले आफ्ना नागरिकलाई नेपाल प्रवेशमा गर्न दिन माग गरेका छन् ।

‘सीमामा रोक्दा संक्रमण भित्रभित्रै फैलने डर’

प्रतिनिधिसभा बैठकमा सोमबार उनीहरूले सीमामा आइपुगेका नेपालीलाई रोक्दा कोभिड–१९ को संक्रमण भित्रभित्रै फैलिने र सीमा क्षेत्रमा यसको प्रभाव झन् बढ्दै जाने चिन्ता व्यक्त गरे ।

कांग्रेसका सांसद भरतकुमार शाहले रूपन्देही, कपिलवस्तु, नवपरासीलगायतका जिल्लाको सिमानामा ५ हजारभन्दा बढी नेपाली बिजोग अवस्थामा रहेको बताए । भारतीय प्रहरीले नेपालीमाथि गरेको व्यवहारले मन रुने गरेको भन्दै उनीहरूलाई तत्काल ल्याउन माग गरे । राति भारतीय प्रहरीले गलत ठाउँबाट नेपाल छिर्न लगाउने गरेको उनको भनाइ थियो । ‘हामी राष्ट्रियताका कुरा गर्छौं, माटो, ढुंगा राष्ट्रियता होइन, जनता राष्ट्रियता हो,’ उनले भने, ‘उनीहरू बिचल्लीमा पर्दा पनि सरकारले केही गरेन ।’

कांग्रेसकै सांसद अभिषेकप्रताप शाहले सीमामा रहेका नेपालीलाई स्वास्थ्य परीक्षण गरेर नेपाल भित्र्याउन माग गरे । उनले सरकारले सीमामा आएका नागरिकको विषयमा बेवास्ता गरेको टिप्पणी गरे । उनीहरूलाई नेपाल भित्र्याएर स्थानीय तहलाई जिम्मा लगाउनुपर्ने शाहले माग गरे । कांग्रेसका सांसद अमरेशकुमार सिंहले विदेशमा बिजोग अवस्थामा रहेका नेपालीको सरकारले उद्धार गर्नुपर्ने बताए । ‘भारतको सिमानामा खाने व्यवस्था छैन । उनीहरूलाई नेपालमा ल्याएर क्वारेन्टाइनमा राख्नुपर्छ,’ उनले भने ।राजपाकी सांसद अमृतादेवी अग्रहरीले सीमाबाट आउन नदिइएपछि खेतबारीबाट भागेर नागरिक आउने गरेको बताइन् । लकडाउनको ४८ दिन बित्दा पनि सरकार आँखा चिम्लेर बसेको उनको टिप्पणी थियो । ‘सीमामा निगरानी नराख्दा मधेसका प्रत्येक जिल्लामा कोरोना भाइरसको प्रकोप बढेको छ,’ उनले भनिन् ।

नेकपाकी सांसद इन्दुकुमारी शर्माले महोत्तरीमा खाद्यान्न तस्करी बढेको भन्दै नियन्त्रण गर्न माग गरिन् । उनले लकडाउनको मौका छोपेर सीमा क्षेत्रमा बढेको तस्करी नियन्त्रण गर्न माग गरिन् । घरेलु हिंसाले महोत्तरी र धनुषामा एक महिनामा २० जनाको मृत्यु भएको उनले जानकारी दिइन् ।

नेकपाका सांसद गणेशसिंह ठगुन्नाले भारतलगायत विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन माग गरे । १४ दिन क्वारेन्टाइनमा राखेर भारत सरकारले पठाएका नेपालीलाई सरकारले किन आउन नदिएको भनी शर्माले प्रश्न पनि गरिन् । ‘भारतबाट आउनेलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न चाहे पनि यता आउन दिइएको छैन,’ उनले भनिन् ।

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले कोभिड–१९ परीक्षण गर्ने किट जिल्लाका अस्पतालमा पर्याप्त नभएको बताइन् । कोभिड–१९ परीक्षणमा पक्षपात गरिएको उनको आरोप थियो । उनले पनि विदेशमा अलपत्र परेका नेपालीलाई ल्याएर क्वारेन्टाइनमा राख्न माग गरिन् । ‘रेमिट्यान्स राम्रो मान्ने, नागरिकको दु:खचाहि नहेर्ने ?’ उनले भनिन् ।

कांग्रेसका सांसद उमाकान्त चौधरीले नागरिकको पसिीआर परीक्षण व्यापक गर्न माग गरे । नेकपाका सांसद खेमप्रसाद लोहनीले सरकारले घोषणा गरेको लकडाउन उचित र प्रशंसनीय रहेको बताए । उनले विदेशमा रहेको नेपालीको उचित व्यवस्थापन र उपचारको व्यवस्था गर्न माग गरे ।

‘सांसदले सीडीओको चाकरी गर्ने हो ?’

नेकपाका सांसद गजेन्द्रबहादुर महतले लकडाउनको परिभाषा माग्दै सरकारले सांसदलाई सीडीओको चाकरी गर्न विवश बनाएको बताए । लकडाउनले जनतालाई कति मर्का परेको छ भन्ने हेक्का सरकारले राख्न नसकेको उनको टिप्पणी थियो । ‘जिल्ला आउजाउ गर्नसमेत सीडीओको चाकरी गर्नुपर्ने भएको छ । ७७ जिल्लाका सीडीओलाई टाकुरे राजा बनाइएको छ,’ उनले भने, ‘सातवटा प्रदेश राजा भएर बसेका छन् । गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय महाराज भएर बसेका छन् । जिल्ला जान पनि गृह मन्त्रालयको आदेश चाहिने हो ?’

कांग्रेस सांसद भरतकुमार शाहले प्रमुख जिल्ला अधिकारीको अधिकार खोसेर स्थानीय तहका प्रमुखहरूलाई दिनुपर्ने बताए । सरकारले कोभिड–१९ को नियन्त्रणमा लकडाउनबाहेक केही नगरेको उनको भनाइ थियो ।

‘कूटनीतिक नोटले पुग्दैन’

सांसदहरूले भारतले नेपाली भूमिमा सडक बनाएको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्नेमा जोड दिए । सकभर कूटनीतिक पहल गर्नुपर्ने र त्यस्तो हुन नसके अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने उनीहरूको सुझाव छ । कूटनीतिक नोटका भरमा मात्र भारतले नमान्ने सांसदहरूको भनाइ थियो ।

नेकपाका सांसद गणेशकुमार पहाडीले ऐतिहासिक प्रमाणका आधारमा कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भन्ने तथ्यहरूले प्रमाणित गरेकाले भारतको हस्तक्षेप हटाउन माग गरे । उनले लिम्पियाधुराबाट निस्कने कुटियाङ्री नै महाकाली नदी भएकाले त्यसको पूर्वतर्फको करिब ४ सय वर्गकिमि भूभाग नेपालको भएको बताए । उनले भारतीय सुरक्षाकर्मी बसेको स्थानमा नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति गराउन माग गरे ।

सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन भारतसँग उच्चस्तरीय वार्ता गर्न माग गरे । कालापानी क्षेत्र दार्चुलाबाट निर्वाचित ठगुन्नाले व्यास गाउँपालिका–१ कौवा भन्ने स्थानमा सशस्त्र प्रहरी र नेपाली सेनाको ब्यारेक राख्न माग गरे । नेकपाकी सांसद गंगा चौधरी सत्गौवाले भारतले नेपालको भूमि मिचेको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताइन् । कांग्रेसका सांसद जिपछिरिङ लामाले नेता र सरकारले चाकडी गर्दै आएकाले विदेशीले हेपेको बताए । उनले भारतले अतिक्रमण गरेको जमिन फिर्ता गराउन माग गरे ।

‘चीनको नियत ठीक देखिएन’

नेकपाका सांसद घनश्याम खतिवडाले राष्ट्रियताका सवालमा चीनको नियत पनि ठीक नभएको बताए । ‘हाम्रो भूमिलाई प्रयोग गरेर चीन र भारतले व्यापारिक मार्ग बनाएका छन् । यसबाट चीनको नियत ठीक नरहेको देखिन्छ,’ उनले भने । उनले पनि दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीमाथि व्यंग्य गर्दै कविता

कांग्रेस सांसद गगनकुमार थापाले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग गर्दै ‘म त भाग्यमानी’ शीर्षकमा ‘बाल कविता’ सुनाएका छन् । उनले कवितामा सरकार र प्रधानमन्त्रीमाथि व्यंग गरेर मुलुकको परिस्थिति उजागर गर्ने कोसिस गरेका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकमा व्याप्त भ्रष्टाचार, भारतले सीमामा गरेको अतिक्रमण, लकडाउनले सडक मजदुरको बिचल्ली, किसान र साना व्यवसायीको मर्का र विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा चासो नदिएको भन्दै थापाले कवितामार्फत व्यंग्य गरेका थिए । कवितामा उनले मुलुकमा थुप्रै समस्या भए पनि प्रधानमन्त्री ओली कविता पढेर बसेको र कुनै कामै नभए पनि मुलुकमा सबै ठीक भएको भनिदिनुपर्ने अवस्था बनेको थापाको आशय थियो ।

प्रकाशित : वैशाख ३०, २०७७ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?