कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जनता समाजवादी पार्टीको घोषणापत्र र विधान मस्यौदा तयार

५१ सदस्सीय पदाधिकारी रहने व्यवस्था
बबिता शर्मा

काठमाडौँ — तीन साताअघि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जन्मिएको जनता समाजवादी पार्टीले घोषणा पत्र र पार्टी विधानको मस्यौदा तयार गरेको छ । 

जनता समाजवादी पार्टीको घोषणापत्र र विधान मस्यौदा तयार

तत्कालीन समाजवादीका तर्फबाट नवराज सुवेदी र राजेन्द्र श्रेष्ठ तथा तत्कालीन राजपाबाट लक्ष्मणकाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको समितिले घोषणा पत्र र विधानको मस्यौदा तयार गरेर शीर्ष नेतृत्वलाई बुझाएको छ ।

‘हामीले पार्टी घोषणापत्र, विधान, नियमावलीको मस्यौदा तयार गरेर दुवै पार्टीका शीर्ष नेतृत्वलाई बुझाईसकेको छौं,’ समिति सदस्य नवराज सुवेदीले भने, ‘हामीले बुझाएको मस्यौदामाथि दुवै पार्टीको शीर्ष तहमा छलफल चलिरहेको छ । अब मस्यौदालाई अन्तिम रुप दिन मात्रै बाँकी छ ।’

दुवै पार्टीका शीर्ष नेताहरुसँग नियमित परामर्श र छलफलमा बसेर कार्यदलले घोषणा पत्र, विधानको मस्यौदा तयार गरेको सुवेदीले बताए । उनका अनुसार दुवै पार्टीका शीर्ष नेतृत्वले मस्यौदालाई अन्तिम रुप दिएलगत्तै त्यसलाई अनुमोदन गरेर जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा आवश्यक सबै कागजात बुझाउने छ ।

यी सबै प्रक्रिया पूरा हुन अझै केही समय लाग्ने कार्यदलका अर्का सदस्य राजेन्द्र श्रेष्ठले बताए । ‘हामीले पार्टी घोषणापत्र र विधानको मस्यौदा तयार गरेका छौं । अहिले त्यसलाई अन्तिमरुप दिने प्रक्रियामै छौं । अब धेरै लेख्नुपर्ने केही छैन । तर, सबै काम सकाएर निर्वाचन आयोगमा जान अझै केही दिन लाग्न सक्छ ।’ श्रेष्ठका अनुसार सैद्धान्तिक र बैचारिक कुरा टुंगिन अझै बाँकी छ ।

पार्टी दर्ताका लागि निवेदन दिएको ४५ दिनभित्रै सबै कागजाताहरू बुझाउनुपर्ने कानुनी व्यवस्था छ । बैशाख १० गते राति दुई पार्टीबीच एकीकरणमा सैद्धान्तिक सहमति जुटेपछि नयाँ बनेको जनता समाजवादीले बैशाख ११ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेको छ ।

जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव, शरतसिंह भण्डारी, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, केशव झालगायत नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए । दल दर्ताका लागि दुवै पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय, एकताको सहमति, पार्टीको विधान, नियमावली, घोषणापत्र, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको नामसहितको दस्ताबेज आयोगमा बुझाउनु पर्ने हुन्छ । त्यसपछि मात्रै आयोगले दल दर्ता प्रक्रिया अगाडि बढाउँछ । सोही प्रक्रियाका लागि जनता समाजवादीका नेताहरुले विधान, नियमावली, घोषणापत्रलाई अन्तिप रुप दिन थालेका हुन् ।

समितिले तयार गरेको विधान मस्यौदामा पार्टीको सांगठनिक संरचना अर्न्तगत केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति, सचिवालय र राजनैतिक समिति छन् ।

समितिले ५१ सदस्यीय केन्द्रीय पदाधिकारी रहने प्रस्ताव गरेको छ । केन्द्रीय समितिमा भने तत्कालीन दुवै पार्टीको केन्द्रीय समितिका सदस्य यथावत रहने प्रस्ताव गरेको छ । हाल राजपाको करिब ८ सय सदस्यीय केन्द्रीय समिति छ भने समाजवादीको ४ सय ३१ सदस्यीय छ ।

खासगरी नेताहरूको महत्त्वकांक्षा व्यवस्थापन गर्ने काम जनता समाजवादीलाई चुनौती बनेको छ । वैशाख १० गते दुवै पार्टीबीच एकीकरण हुँदा पहिलो अध्यक्षमा महन्थ ठाकुर र दोस्रो अध्यक्षमा बाबुराम भट्टराइलाई राख्ने सहमति भएको थियो । अहिले दुवै पार्टीमा गरी करिब एक दर्जन नेतृत्व तहका नेता छन् । उनीहरूको पदीय बाँडफाँट र जिम्मेवारी नै मुख्य समस्या बनेको छ ।

कानुनी प्रक्रिया मिलाएर दल दर्ताका लागि दुवै पार्टीका केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन भईसकेको छ । ‘लकडाउनका कारण दुवै पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्न सम्भव भएन,’ सुवेदीले भने, ‘त्यसकारण प्रदेशमा रहनु भएका दुवै पार्टीका साथिहरुले आ–आफ्नो केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई भेटेर हस्ताक्षर संकलन र कागजपत्र जुटाउने काम भइसकेको छ ।’

प्रकाशित : वैशाख २९, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?