किन भइरहेछ जनप्रतिनिधिमाथि आक्रमण ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन भइरहेछ जनप्रतिनिधिमाथि आक्रमण ?

राहत वितरणमा भएको विभेददेखि विकास निर्माणसम्मका विवादले घटना भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार लकडाउन अवधिमा जनप्रतिनिधिमाथि आक्रमणका ५ वटा घटना दर्ता भएका छन् ।
कर्णाली प्रदेश ब्युरो

सुर्खेत — सडक निर्माणका लागि डोजरसहित धौलागोहको लार्फ पुगेका कालीकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बममाथि शनिबार दिउँसो आक्रमण भयो ।

सडक निर्माणको विषयमा विवाद हुँदा वडा नं. १ का अध्यक्ष मानबहादुर भण्डारी र नेकपा गाउँ कमिटी अध्यक्ष विष्णु रोकायाले उनीमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ ।

वैशाख १७ गते कालीकोटकै पचालझरना गाउँपालिका–१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि स्थानीय ५ युवाले आक्रमण गरेका थिए । एक लाख रुपैयाँ बजेटको चिन्तु पाध्यको थान निर्माण उपभोक्ता समिति एकलौटी रुपमा गठन गरेको भन्दै उनीमाथि आक्रमण भएको हो ।

यी केही प्रतिनिधिमूलक घटना मात्र हुन् । लकडाउनको बेला कर्णालीका विभिन्न स्थानीय तहमा जनप्रतिनिधिमाथि आक्रमण हुने क्रम बढेको छ । विशेषगरी विकास निर्माण गर्ने क्रममा असमझदारी हुँदा यस्ता घटना हुने प्रहरीको भनाइ छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार लकडाउनको समयमा जनप्रतिनिधिमाथि आक्रमणको ५ वटा घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल र मिडियामार्फत अन्य घटना जानकारीमा आए पनि आधिकारिक रुपमा रिपोर्टिङ नभएको कार्यालयका प्रवक्ता डीएसपी लोकनाथ तिम्सिनाले बताए । ‘राहत वितरणमा भएको विभेददेखि विकास निर्माणसम्मका विवादले घटना भएका देखिन्छन्,’ उनले भने, ‘यस्ता घटना कतिपय मिलापत्र भएका छन् भने केही मुद्दाको प्रक्रियामा गएका छन् ।’

कालीकोटमा वडाध्यक्ष न्यौपानेमाथि आक्रमण भएकै दिन वैशाख १७ गते हुम्लाको सर्केगार्ड गाउँपालिका–५ का वडाध्यक्ष कर्णजंग शाहीलाई कार्यपालिकाको बैठकमै प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले कुटेका थिए । उनीहरुबीच गत वर्ष वडा कार्यालय भवन निर्माणको विषयलाई लिएर पहिलेदेखि विवाद रहेको थियो । घटनापछि वडाध्यक्ष शाहीले फेसबुकमा लेखेका थिए, ‘गाउँपालिकाका कर्मचारीहरु हिटलरको जस्तो शासन गर्न थाले ।’

आक्रमणमा घाइते भएकी कालीकोटको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमकी श्रीमती सुर्खेतस्थित प्रदेश अस्पतालमा । तस्बिरः कान्तिपुर

घटना हुनुमा पुरानो रिसिबी पनि कारकको रुपमा रहने गरेको छ । कालीकोटका जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार पलाँतामा गाउँपालिका अध्यक्ष बम, वडाध्यक्ष भण्डारी र पार्टी (नेकपा) अध्यक्ष रोकायाबीच पहिलेदेखि विवाद थियो । अहिले आएर सडकको निहुँमा दुवै पक्षबीच कुटाकुट भएको उनले बताए । ‘अध्यक्ष बमले आफ्नो डोजर लगेर सडक खन्न थालेपछि विवाद भएको प्रारम्भिक जानकारी आएको छ,’ उनले भने, ‘अर्को पक्षका पनि घाइते भएका छन् ।’

जाजरकोटको जुननीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली वैशाख ९ गते आफ्नो कार्यकक्षमै कुटिएका थिए । स्थानीय जयबहादुर नाथसहित उनका भाइहरुले कुटपिट गरेको प्रहरीको भनाइ छ । आफ्नो गाउँमा पानीको योजना नदिएकाले वडाध्यक्षमाथि कुटपिट गरेको उनीहरुले प्रहरीसँगको बयानमा बताएका छन् ।

त्यस्तै, वैशाख १३ गते जाजरकोटकै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि सत्तारूढ नेकपाको युवा संघका जिल्ला संयोजक दीपेन्द्र शाहीको समूहले आक्रमण गर्‍यो । उनीहरुले पनि मेयरले विकास योजना वितरणमा विभेद गरेको आरोप लगाउँदै आक्रमण गरेका थिए ।

लकडाउनको बेला राहत वितरणजस्ता कार्यमा विभेद हुँदा पनि जनप्रतिनिधिमाथि आक्रमणका घटना हुने गरेका छन् । कालीकोटमा चैत अन्तिम साता रास्कोट–८ का वडाध्यक्ष कृष्णप्रसाद धमालालाई दाडेमष्टा देवताका पुजारी जन्म बराल र धर्म विश्वकर्माले आक्रमण गरे । घटनापछि वडाध्यक्ष धमालाका आफन्तले धर्मलाई कुटपिट गरेका थिए । राहत वितरण व्यवस्थित नभएको भन्दै वैशाख पहिलो साता सान्नीत्रिवेणी–६ का वडाध्यक्ष रंगराज सार्कीमाथि पनि कुटपिट भएको थियो । प्रहरीका अनुसार क्वारेन्टाइन व्यवस्थित नगरेको आरोपमा एक साताअघि तिलागुफा–७ का वडाध्यक्ष नेत्रवहादुर शाही पनि आक्रमणमा परेका थिए ।

जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायामाथि पनि वैशाख १२ गते कार्यपालिकाको बैठकमै प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले दुर्व्यवहार गरेका थिए । उनले बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएकी छिन् । ‘हैसियत नभएकी, अनपढ, नक्कली उपाध्यक्ष भन्दै अपशब्द प्रयोग गरे,’ उपाध्यक्ष रोकायाले दिएको उजुरीमा भनिएको छ ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल पछिल्लो समय विकास निर्माण, उपभोक्ता समिति गठनलगायत विषयमा विवाद बढी हुने गरेका बताउँछन् । ‘विकास निर्माणका विषयमा एक पक्षले यता र अर्को पक्षले उता भन्दा पनि झगडा हुने गरेको छ,’ उनले भने, ‘स्वार्थ बाझिएपछि आक्रमण हुने सामान्य भइसक्यो ।’ सामूहिक भावनाले काम नहुँदा समस्या भइरहेको उनको बुझाइ छ ।

कालीकोटका नागरिक समाजका अगुवा हिक्मतबहादुर बिष्ट जनप्रतिनिधिले जनचाहनाअनुसार काम गर्न नसक्दा आक्रोश पोखिने गरेको बताउँछन् । ‘लकडाउनका बेला यस्ता घटना बढ्नुको कारण के हो खोजको विषय बनेको छ,’ उनले भने, ‘घटनाका कारकलाई पनि केलाउनुपर्छ ।’

उपभोक्ता समितिमा झडप

दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका–४, स्थित धनपाया–साल्टाकुरा–साल्तडाजंगले सडकमा उपभोक्ता समितिबीच विवाद हुँदा झडप भएको छ । धनपायाबाट आधिघर हुँदै सातटाकुरासम्मको निर्माणाधीन सडकमा विवादका क्रमम झडप हुँदा प्रहरी जवान भीमबहादुर सुनार, स्थानीय कमल शाही र उपभोक्ता समितिका अध्यक्ष रमेश शाही घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीका अनुसार सडक निर्माणको क्रममा समिति गठन र जग्गा विवाद हुँदा झडप भएको हो । विवाद सुल्झाउन पुगेको प्रहरीमाथि स्थानीयले आक्रमण गर्न थालेपछि दुई राउन्ड हवाइ फायर गरिएको उनले बताए । राजनीतिक खिचातानीका कारण सडक निर्माणको कामले तीन वर्षदेखि गति लिन नसकेको स्थानीयको भनाइ छ । सडकमा नगरपालिकाले बर्सेनि बजेट विनियोजन गरे पनि उपभोक्ता समिति गठनमै विवाद हुने गरेको नगरपालिकाकी उपप्रमुख तारा शाहीले बताइन् ।

सडकमा यस वर्ष कर्णाली प्रदेश सरकारले २० लाख र चामुण्डाविन्द्रसैनी नगरपालिकाको ५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ । २०७४/०७५ मा ५ लाख , ०७५/०७६ मा नगरपालिकाले ३ लाख विनियोजन गरेको थियो । करिब १३ किलोमिटरको उक्त सडकमा ध्रुवकुमारी शाहीको अध्यक्षतामा समानान्तर उपभोक्ता समितिसमेत गठन गरिएको छ ।

नगरपालिकाका कर्मचारीका अनुसार उपभोक्ता समिति गठनमा नेकपा र कांग्रेसका कार्यकर्ता लामो समयदेखि विभाजित छन् । जग्गाधनी कमल शाहीले जग्गा दिन्न भनेपछि सडकमा विवाद उत्पन्न भएको एक कर्मचारीले बताए ।

तुलाराम पाण्डे (कालीकोट), ज्योति कटुवाल (दैलेख), भीमबहादुर सिंह (जाजरकोट) र छपाल लामा (हुम्ला)

प्रकाशित : वैशाख २९, २०७७ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्

विदेशबाट फर्किनेको परीक्षण गर्न कर्णालीमा आरडीटी किट

स्वाब संकलन र परीक्षणका लागि स्वास्थ्यकर्मी प्रदेशका १० वटै जिल्लाका गाउँगाउँ खटिइसकेका छन्
कर्णाली प्रदेश ब्युरो

सुर्खेत — विदेशबाट फर्किएकामा कोरोना संक्रमणबारे परीक्षण गर्न कर्णालीका १० वटै जिल्लामा र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) किट पठाउन थालिएको छ। किट जिल्लामा पुगेसँगै परीक्षणका लागि स्वास्थ्यकर्मी गाउँगाउँमा खटिन थालेका छन्।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सबै जिल्लामा ५ हजार किट नमुना संकलनका लागि पठाइनेछ। बाहिरबाट फर्किएकाको तथ्यांकअनुसार जिल्लामा किट पठाइएको निर्देशक रीता भण्डारीले बताइन्। उनका अनुसार दैलेख र डोल्पाबाहेक सबै जिल्लामा आवश्यक किट पठाइसकिएको छ।

हुम्ला, रुकुम र जाजरकोटमा ४ सयका दरले किट पठाउने तयारी गरे पनि तत्कालका लागि २ सय थान पठाइएको उनले जानकारी दिइन्। जुम्लामा २ सय र कालिकोटमा ३ सय थान किट पठाइएको निर्देशनालयले जनाएको छ। ‘दुर्गममा भीटीएम संकलन गर्न समस्या भएकाले किटको आवश्यकता महत्वपूर्ण छ,’ उनले भनिन्, ‘केही जिल्लामा स्वाब संकलन र परीक्षण गर्न स्वास्थ्यकर्मी खटिइसकेका छन्।’

यसअघि उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावमा स्वाब संकलनमा समस्या भएको थियो। पीपीई, सर्जिकल मास्क, आइसीयू र भेन्टिलेटरलगायतको अभावका कारण कर्णालीमा कोरोना संक्रमणको जोखिम बढिरहेको निर्देशनालयले जनाएको छ। कर्णालीमा ८ सय ७९ स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा ३ सय जनामात्र कार्यरत छन्।

‘उपकरण, चिकित्सक र स्वास्थ्यकर्मी अभावमा स्वाब संकलन र परीक्षणलाई सोचेजस्तो प्रभावकारी बनाउन सकिएको छैन,’ निर्देशक भण्डारीले भनिन्, ‘दोस्रो चरणमा आवश्यकताअनुसार किट पठाइनेछ।’ दैलेख अस्पतालले स्वाब संकलन गरेर सुर्खेत पठाउने गरेको छ। दैलेखबाट पठाइएका ५९ स्वाबमध्ये २५ नमुना ‘नेगेटिभ’ देखिएको अस्पताल प्रमुख डा. निरन्जन पन्तले बताए।

जुम्लामै परीक्षणको तयारी

भारतबाट जिल्लामा भित्रिएकाको आरडीटी किटमार्फत द्रुत परीक्षण थालिने भएको छ। भारतबाट आएकामा कोरोना भाइरस संक्रमण भए/नभएकोबारे द्रुत परीक्षण गर्न प्रदेश सरकारले २ सय किट पठाएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर परीक्षण थालिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। पर्याप्त विशेषज्ञ, स्वास्थ्यकर्मी र पीपीई भएकाले तत्कालै परीक्षण सुरु गर्न थालिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए। ‘शिक्षण अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्न अत्याधुनिक ल्याब तयारी अवस्थामा छ,’ उनले भने, ‘एक साताभित्रै पीसीआर मेसिन ल्याएर परीक्षणलाई तीव्रता दिइनेछ।’ प्रतिष्ठानले यसअघि सञ्चालनमा रहेका ३ आइसियू बेड विस्तार गरी १० शय्याको बनाउने तयारी थालेको उनले जानकारी दिए।

गाउँगाउँमा स्वास्थ्यकर्मी

जाजरकोट अस्पतालले भारतलगायत मुलुकबाट फर्किएका व्यक्तिका घरघरमा पुगेर कोरोना भए/नभएको द्रुत परीक्षण थालेको छ। कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले आइतबार ३ सय आरडीटी किट पठाएपछि गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गर्न थालिएको हो।

निर्देशनालयबाट आएको टोलीले अस्पतालका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिरहेको छ। तालिम सकिएसँगै दुई दिनभित्र सबै पालिकामा स्वास्थ्यकर्मी खटाइने अस्पतालका स्वास्थ्यकर्मी कृष्ण केसीले बताए। ‘केन्द्रबाट किट ढिलोगरी आएकाले यसअघि परीक्षणको काम प्रभावित भएको थियो,’ उनले भने, ‘अभिमुखीकरण सकिएपछि किट लिएर मेडिकल अधिकृतसहितको टोली पालिकास्तरमा परिचालन हुनेछ।’

यसअघि अस्पतालले १४ जनाको स्वाब संकलन गरेर प्रदेश प्रयोगशाला, सुर्खेत पठाएको थियो। परीक्षणपछि सबैको नमुना रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ। निर्देशनालयका फोकल पर्सन श्याम आचार्यका अनुसार सुर्खेतबाट ३ दिनअघि सुरु भएको परीक्षण शनिबारदेखि कालीकोट र जुम्लामा जारी छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जाजरकोटमा लकडाउनपछि भारतबाट ३ सय र खाडी मुलुकबाट १८ जना भित्रिएका छन्।
(ज्योति कटुवाल (वीरेन्द्रनगर, सुर्खेत), भीमबहादुर सिंह (जाजरकोट) र एलपी देवकोटा (जुम्ला) को रिपोर्ट।)

प्रकाशित : चैत्र ३०, २०७६ १८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×