कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोरोनाविरुद्ध 'सेन्ट्री'

कर्णाली राजमार्गबाट माथि चढेपछि पुगिने गाउँमा कोरोना संक्रमण फैलिन नदिन सेन्ट्री बसालेर गाउँ प्रवेश गर्नेहरुको रेकर्ड राख्ने गरिएको छ ।
तुलाराम पाण्डे

कालीकोट — खाँडाचक्र–८, सेराबाडाका बिस्नबहादुर मल्ल एकाबिहानै गाउँको ढुस्कामा सेन्ट्री बस्न जान्छन् । बिहानको खाना खान घर फर्किँदा पनि नाकामा अरुलाई बसाल्छन् । साँझ करिब ७ बजेसम्म उनको दैनिकी यसैगरी बित्ने गर्छ ।

कोरोनाविरुद्ध 'सेन्ट्री'

कोरोना संक्रमणको कारण उनी सेन्ट्री बस्न थालेका हुन् । गाउँमा प्रवेश गर्ने नयाँ व्यक्तिलाई सोधीखोजी गर्दै कापीमा नाम, ठेगाना, उमेर, आएको ठाउँ र उद्देश्यबारे लेखेर नियमित वडापालिकामा रिपोर्ट पेस गर्छन् । उनको जिम्मा कर्णाली राजमार्गसँगै जोडिएको सेरावाडा बजारमाथि गाउँ प्रवेश गर्ने नाकामा छ ।

उनीजस्तै गाउँका २८ वर्षीय प्रकाश चौलागाई पनि यसैगरी सेन्ट्री बस्छन् । उनी बित्तामोड नाकाबाट प्रवेश गर्नेको रेखदेख गर्न ऐछेना ड्युटीमा बस्ने गर्छन् । उनीहरुलाई बिहानदेखि बेलुकीसम्म स्वयंसेवकको रुपमा वडाले दैनिक ५ सय ज्याला पाउने गरी सेन्ट्रीमा खटाएको छ ।

‘हामी त वडा सरकारले राखेका सेन्ट्री हौं,’ लकडाउनअघि बागलुङबाट सुर्खेत क्वारेन्टाइन बसेर आएका मल्लले भने, ‘माओवादी जनयुद्धमा त्यत्तिकै सेन्ट्री गर्नुपर्थ्यो, अचेल पैसा पनि दिने भनेका छन् ।’ उनले बिहानदेखि बेलुकीसम्म ड्युटी गर्नुपर्दा कहिलेकाहीँ दिक्क लाग्ने गरेको बताए ।

कोरोनाको अवस्था अनुगमनमा गएका मानवअधिकारकर्मी कालीबहादुर मल्लले सेरावाडाको सेन्ट्रीले सोधपुछ गर्न थालेपछि आश्चर्यमा परे । ‘कोरोनाले गाउँ सुनसान छन्, सेन्ट्रीले पनि केरकार निकै गरे,’ उनले भने, ‘युद्धकालको झल्को पो आयो ।’ पहिले 'जनयुद्ध'को बेला गाउँ जाँदा डाँडामा बसेका सेन्ट्रीले सोधीखोजी गरेपछि मात्र गाउँ जान पाइने अवस्था उनले स्मरण गरे ।

खाँडाचक्र नगरपालिकाको वडा नं ८, ९ र १० ले तल कर्णाली राजमार्गमाथि उकालो चढेपछि पुगिने गाउँमा कोरोनाको संक्रमण फैलिन नदिन नाका जाँचलाई कडाइ गर्दै सेन्ट्री बसालेर गाउँ प्रवेश गर्नेको रेकर्ड राख्ने गरेको छ ।

जिल्लाबाहिरबाट हालसम्म खाँडाचक्रमा २ सय ९३, भारतबाट ४२, दुबईबाट १ र कतारबाट १ गरी ३ सय ३७ जना आएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुवालले बताए । बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गरेर पठाउने गरेको उनको भनाइ छ ।

यहाँको जनप्रभात मावि सेराबाडा क्वारेन्टाइनमा कैलालीबाट आएका एकै परिवाका ३ भाइबहिनी बसिरहेका छन् । उनीहरु व्यापार गर्न कैलाली गएका थिए । कोरोनाको जोखिम भएको ठाउँबाट आएकाले सर्तकताका लागि घर नजिकैको विद्यालयमा बसेको २५ वर्षीय जीवन मल्लले बताए ।

उनले क्वारेन्टाइनमा वडाले खानाको लागि दाल, चामल, तरकारी नुन, तेल उपलब्ध गराए पनि ओढ्ने ओछ्याउने कपडा आफ्नै घरबाट ल्याएको सुनाए । क्वारेन्टाइनमा बसेको एक साता हुँदा थर्मोमिटरले ज्वरो जाँच्नेबाहेक अरु जाँच नभएको गुनासो पोखे । 'क्वारेन्टाइनमा प्रहरी हुनुपर्ने हो । गाउँमा त सेन्ट्रीमात्र देखिए,' उनले भने ।

खाँडाचक्र नगरपालिकाले ६ वटा स्थलमा क्वारेन्टाइन राखेको छ । नगरप्रमुख जसीप्रसाद पाण्डेले ११ वटै वडामा ५५ जना स्वयंसेवक खटाइएको सुनाए । केही वडाले आवश्यकताअनुसार गाउँ छिर्ने नाकामा सेन्ट्री राखेको उनको भनाइ छ ।

उद्धार गरिएकाबाट जोखिम

लकडाउनको बेला ठाउँठाउँमा अलपत्र परेका नागरिकलाई गाउँ ल्याउँदा कोरोनाको जोखिम बढेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । उनले यहीँ बसेकाबाट भन्दा जिल्ला बाहिरबाट आएकाबाट बढी जोखिम भएकाले सर्तकता अपनाउन जिल्लाका सरोकारवालालाई निर्देशन दिए ।

विपद व्यवस्थापन केन्द्रको बैठकमा सहभागी हुन सोमबार जुम्ला हुँदै कालीकोट आएका मुख्यमन्त्री शाहीले सबै स्थानीय तह, सुरक्षा निकाय र स्वास्थ्यकर्मी अझै सजग रहनुपर्ने अवस्था रहेको बताए । अहिले कालीकोटभर ५८ स्थलमा १ हजार ७४ वटा क्वारेन्टाइन बेड संख्या छ । १५ वटा आइसोलेसन वार्ड छ । यहाँका सबै स्थानीय तहमा गरी १ हजार ५३ जना क्वारेन्टाइनमा बसेका छन् ।

प्रकाशित : वैशाख २९, २०७७ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?