कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

विश्वविद्यालयमा अनलाइन कक्षा चलाउन ४७ करोड

अनलाइन कक्षामा सहभागी हुन नसक्ने विपन्न वर्गका ११ हजार ४ सय विद्यार्थीलाईसमेत सहयोग उपलब्ध गराइने
सुदीप कैनी

काठमाडौँ — विश्वविद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगले ४७ करोड रुपैयाँ खर्चने भएको छ ।

विश्वविद्यालयमा अनलाइन कक्षा चलाउन ४७ करोड

आयोगले अनलाइनमार्फत पठनपाठन गराउन विभिन्न शीर्षकमा ११ वटै विश्वविद्यालयमा उक्त रकम खर्च गर्न लागेको हो । विश्वभर फैलिएको कोरोना भाइरसले नेपालमा पारेको प्रभावबारे अध्ययन गर्न पनि विश्वविद्यालयहरुलाई ३ करोड रुपैयाँ छुट्टयाइएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित उच्चशिक्षा सुधार परियोजना अन्र्तगतको बजेट कोरोनापछिको शैक्षिक गतिवधिमा खर्च गर्न लागिएको हो ।

विश्वविद्यालयका आंगिक, स्कुल, विभाग र सामुदायिक क्याम्पसमा अनलाइन कक्षा सञ्चालन, सञ्चार प्रविधि खरिद, शिक्षक तालिम र विद्यार्थीलाई सहयोग गर्न ४७ करोड विनियोजन गरिएको हो । ११ वटै विश्वविद्यालयका ३ सय वटा युनिटमा रकम खर्च गरिने आयोगका सदस्य सचिव देवराज अधिकारीले जानकारी दिए । ४ महिनाभित्र उक्त रकम खर्च गरिसक्न योजना बनाइएको आयोगले जनाएको छ । परियोजनामा रहेको रकम कोरोना प्रभावित विश्वविद्यालयको वैकल्पिक शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन लागिएको हो ।

४ वर्षदेखि सञ्चालित परियोजना आगामी जुलाईबाट सकिन्छ । परियोजनाले उच्चशिक्षाको गुणस्तर सुधार लगायतका क्षेत्रमा काम गर्दै आएको थियो । परियोजनामा बचत रहेको रकम अनलाइन कक्षा सञ्चालनको सहयोगमा खर्च हुने भएको आयोगका सदस्यहरुले बताए । शिक्षा मन्त्रालय र आयोगको पहलमा परियोजनाको रकम कोरोना प्रभावित विश्वविद्यालयमा खर्च हुने भएको हो ।

शिक्षकलाई पाठ्यक्रम, अनलाइन पाठ्यक्रमगुणस्तर सुधारमा काम हुँदै आएको थियो । सिकाइ व्यवस्थापन प्रणालीको विकास, शिक्षक तालिम, प्रत्यक्ष कक्षा सञ्चालन, कक्षा सञ्चालनको भिडियो रेकर्डिङ र आवश्यक सामग्री व्यवस्थामा विश्वविद्यालयहरुले उक्त रकम खर्च गर्न सक्नेछन् । अनलाइन पाठ्यक्रम सामग्री र पाठ्यक्रमसमेत निर्माण गर्ने लक्ष्य लिइएको छ ।

अनलाइन कक्षामा सहभागी हुननसक्ने विपन्न वर्गका ११ हजार ४ सय छात्रछात्रालाईसमेत सहयोग उपलब्ध गराइने भएको छ । विद्यार्थी वित्तिय सहायता कोषमार्फत विद्यार्थीले सहयोग पाउनेछन् । इन्टरनेटमा पहुँच नभएका विद्यार्थीलाई डाटा प्याकेज खरिद गर्न राहत दिइने अधिकारीले बताए । ‘सरकारलाई पनि विद्यार्थीका लागि सस्तोमा डाटा ल्याउन लेखि पठाएका छौं,’ उनले भने, ‘तत्कालका लागि केही सहयोग गरेर विद्यार्थीलाई अनलाइनमा जोड्न खोजिएको हो ।’

त्रिभुवन विश्वविद्यालयका ६१ आंगिक क्याम्पस, ३९ विभाग, ३ स्कुल, संस्कृत विश्वविद्यालयका १४ क्याम्पस, काठमाडौं विश्वविद्यालयका ७ स्कुल, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका क्रमश: ५ र ४ स्कुलले उक्त सहयोग पाउनेछन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १ क्याम्पस, कृषि तथा वनविज्ञान र मध्यपश्चिम विश्वविद्यालयका १५/१५ क्याम्पस र सुदुरपश्चिम विश्वविद्यालयको १ क्याम्पसलाई सहयोग गरिनेछ । आयोगबाट छनौटमा परेका सामुदायिक क्याम्पसलाईसमेत सहयोग प्रदान गरिनेछ ।

कोभिड–१९ सँग सम्बन्धित अनुसन्धानका लागि एक करोडका दरले ३ करोड रुपैयाँ उपलब्ध गराइने छ । अनुसन्धानका लागि विश्वविद्यालयले प्रस्ताव पेस गर्नुपर्ने आयोगले जनाएको छ । प्रस्तावको मुल्यांकनपछि विश्वविद्यालय छनोट गरेर अनुसन्धानको जिम्मा दिइनेछ ।

शिक्षा मन्त्रालयको सिकाइ चौतारी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाहरुको सिकाइलाई निरन्तरता दिन अनलाइन पोर्टल तयार पारेको छ । सिकाइ चौतारी नामक पोर्टलमा कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यसामग्री राखिएको छ । विद्यालयहरु बन्द रहेको अवस्थामा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन पोर्टल तयार पारिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधव दाहालले जानकारी दिए । अनलाइन कक्षाको प्रभावकारिता माथि प्रश्न उठिरहेको बेला मन्त्रालयले पनि इन्टरनेटको सहायताले सञ्चालन गर्न सकिने पोर्टल तयार पारेको हो ।

ती सामग्रीलाई विद्युतीय सामग्रीमा डाउनलोड गरेर जुनकुनै बेला अध्ययन गर्न सकिने व्यवस्था पनि गरिएको छ । केन्द्रले यसबाहेक मन्त्रालय मातहतका विभिन्न संघसंस्था र एजुकेसन कलस्टरद्वारा निर्मित सामग्रीको लिंक समेत आफ्नो वेबसाइटमा राखेको छ । सिकाइ चौतारी नामक पोर्टल लर्निङ डट सिइएचआरडि डट जिओभी डट एनपी लगइन गर्नुपर्छ । शिक्षक, अभिभावक, सामुदायिक र निजी विद्यालयले पनि ती सामग्री उपयोग गर्न सक्ने उनले बताए ।

प्रकाशित : वैशाख २९, २०७७ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?