सीमाबारे पहिला भारतसँग, त्यसपछि चीनसँग कुरा हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

'सीमा मिचेकोबारे भोलि फुर्सदमा छलफल गरौंला भन्ने पक्षमा नेपाल छैन'
जयसिंह महरा

काठमाडौँ — लिपुलेकमा भारतले सडक निर्माण गरेकोबारे तत्काल चीनसँग छलफल गर्न नहुने परराष्ट्रमन्त्रीले बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनसँग छलफल गर्नुपर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका हुन् ।

सीमाबारे पहिला भारतसँग, त्यसपछि चीनसँग कुरा हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनलाई समस्या समाधानमा लाग्नुपर्ने उनको भनाइ थियो । चीनसँग दुई विषयमा छलफल आवश्यक भएको उनको भनाइ थियो । 'नेपाल, भारत र चीनको बीचमा त्रिदेशीय विन्दु टुंगो भएको थिएन । शून्य नम्बर पिल्लर टुंग्याउन बाँकी छ । त्यसैले चीनसँग छलफल गर्नुपर्ने हुन्छ । आजको समस्या भारतसँग नै समस्या हो । त्यसपछि त्रिदेशीय बिन्दु कहाँ हो भन्नेबारे छलफल गर्ने हो,' उनले भने ।

चीनसँग दोस्रो छलफलको विषय भने भारत र चीनबीच सन् २०१५ मा भएको सम्झौताबारे रहेको मन्त्री ज्ञवालीको भनाइ थियो । मन्त्री ज्ञवालीले भने, 'पहिला भारतसँग कुरा गर्छौं र समस्या समाधान गर्छौं । त्यसपछि चीनसँग ।'

मन्त्री ज्ञवालीले भारतसँग छिट्टै वार्ता गर्ने पनि बताए । भारतले कोरोनाको संक्रमण सकिएपछि वार्तामा बस्ने भनेको अवस्थामा नेपालले त्यो समय कुर्न नसक्ने उनको भनाइ थियो । भारतीय विदेश मन्त्रालयले नेपाली भूमि नमिचेको भन्दै कोरोना संक्रमण सकिएपछि नेपालसँग छलफल गर्ने भनेको थियो ।

'हामी त्यतिबेलासम्म कुर्न सक्दैनौं, सरकार छिटो वार्ता सुरु गरिनुपर्छ भन्नेमा छ,' ज्ञवालीले भने । सांसदहरूले भिडियो कन्फरेन्समार्फत् भए पनि भारतसँग तत्काल वार्ता गर्न दिएको सुझावमा भने उनले प्रश्न उठाए । उनले भने, 'मुलुकको सुरक्षाको कुरा छ । डाटा सुरक्षाको कुरा उठ्छ ।' नेपालले भारतलाई गत नोभेम्बर यता वार्ताका लागि ताकेता गरिरहेको ज्ञवालीले बताए । भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि वार्ताका लागि ताकेता भइरहेको उनले भने । 'यो विषयमा भोलि फुर्सदमा छलफल गरौंला भन्ने पक्षमा सरकार छैन । नोभेम्बरयता ताकेता गरिरहेका छौं । हामी त्यै बाटोमा अगाडि बढिरहेका छौं,' मन्त्री ज्ञवालीले भने ।

सरकार सीमाको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा नरहेको पनि ज्ञवालीको भनाइ थियो । ठूला मुलुकहरूका अन्तर्राष्ट्रिय सम्बन्ध र शक्ति फरक हुने भएकाले दुई पक्षीय वार्ताद्वारा नै समस्या समाधान गर्नुपर्ने उनले बताए । 'दुई पक्षीय वार्ताको माध्यमबाट नै समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार छ । अन्तर्राष्ट्रियकरण गर्ने बेला आयो भने त्यै बेला कुरा गरौंला,' उनले भने ।

सन् २०१५ मा लिपुलेक भएर व्यापार गर्ने चीन र भारतको सम्झौताबारे चीनले आधिकारीक रूपमा प्रतिक्रिया दिएको नभेटिएको मन्त्री ज्ञवालीले बताए । यसअघि चीनले उक्त सम्झौताको २८ नम्बर बुँदामा नेपालले असन्तुष्टि जनाएपछि पछि हटेको भन्ने अभिव्यक्ति सरकारको नेतृत्वले दिँदै आएको थियो । कांग्रेस सांसद नारायण खड्काले उक्त सम्झौतामा चीनले नेपालको 'कन्सर्न'बारे प्रतिक्रिया दिएको छ कि छैन भनेर प्रश्न गरेका थिए । जवाफमा मन्त्री ज्ञवालीले भने, 'चीनको रेस्पोन्स रेकर्डमा भेटिएको छैन । अनौपचारिक कुराकानीमा चिनियाँहरूको रियलाइजेसन भेटिन्छ तर फर्मल डकुमेन्ट छैन ।'

सीमा समस्याबारे नेपालमा सबै एकताबद्ध भएको र त्यसले सरकारलाई बल मिलेको मन्त्री ज्ञवालीको भनाइ थियो ।

प्रकाशित : वैशाख २९, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?