लुकेर रातिराति सीमापार

प्रदेश ५ का सीमावर्ती ६ जिल्लाका दशगजामा तीन हजार हाराहारी व्यक्ति अलपत्र, रातिराति लुकेर सीमापार गर्नेको संख्या बढ्दै, न स्वास्थ्य जाँच न क्वारेन्टाइन– सीधै घरघरमा ।

रुपन्देही, कपिलवस्तु, परासी — प्रदेश ५ का सीमावर्ती जिल्लाका विभिन्न स्थानबाट लुकेर मुलुक प्रवेश गर्ने दिनहुँ बढिरहेका छन् । एक साताअघि लुकेर आएका कपिलवस्तुका पाँच युवामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । रूपन्देहीमा साताअघि संक्रमण पुष्टि भएका युवा पनि सीमाबाट अवैध रूपमा भित्रिएका हुन् ।

लुकेर रातिराति सीमापार

धेरै संक्रमित पाइएको नेपालगन्जमा पनि भारतबाट आएर क्वारेन्टाइनबाट भागेका ६० वर्षीय वृद्धबाट संक्रमण समुदायमा फैलिएको अनुमान गरिएको छ ।

भारतले लकडाउन खुकुलो बनाएर प्रवासी कामदारलाई उनीहरूको गन्तव्यमा पुर्‍याउन सुरु गरेपछि मुलुक आउन चाहने नेपालीको दशगजामा भीड लाग्न थालेको हो । आइतबारसम्म प्रदेशका सीमावर्ती ६ जिल्लाका दशगजामा तीन हजार हाराहारी व्यक्ति अलपत्र छन् । वैधानिक रूपमा सीमाबाट प्रवेश नपाएपछि उनीहरू रातिराति लुकीछिपी आउन थालेका छन् । त्यसले कोरोना संक्रमणको जोखिम बढेको छ । दशगजामा अलपत्रको अवस्था दयनीय बन्दै गएको छ । सीमावर्ती स्थानीय तहलाई उनीहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । जनप्रतिनिधिले उनीहरूलाई सीमाका क्वारेन्टाइनमा राख्ने प्रयास गरिरहेका छन् । सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले यस्ता व्यक्तिलाई दशगजामै फिर्ता पठाइरहेका छन् ।

रूपन्देहीमा रातिको समय र पानी पर्न थालेपछि लुकीछिपी भित्रिरहेका छन् । १३ किलोमिटर सीमा क्षेत्र रहेको सम्मरीमाई गाउँपालिकाबाट प्रवेश गर्ने धेरै छन् । गाउँपालिकाको सीमामा धेरै चोर बाटा छन् । अन्य गाउँपालिकाका बासिन्दा पनि त्यहींबाट प्रवेश गरिरहेका छन् । ‘खुला क्षेत्र भएकाले सशस्त्र प्रहरीको आँखा छलेर राति पानी परेका बेला खोला तरेर आउँछन्,’ पालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लले भने, ‘यता आएपछि व्यवस्थापन गर्न चुनौती भएको छ, अहिले आउनेबारे सरकारले कुनै निर्णय गरेको छैन ।’

दशगजामा यस्तो भद्रगोल अवस्था बनाउनुभन्दा सरकारले एउटा नाका खोलेर सीधै क्वारेन्टाइनमा पठाउने व्यवस्था गरेको भए सहज हुने उनले बताए । गाउँपालिकाका विभिन्न स्थानबाट दैनिक ७० देखि ७५ जनासम्म प्रवेश गर्ने गरेको शुक्लले बताए । उनका अनुसार सम्मरीमाई–७ स्थित एउटा मदरसामा क्वारेन्टाइन बनाइएको छ । आइतबारसम्म त्यहाँ ७८ जना छन् । अबदेखि सबैलाई एउटैमा राख्नुभन्दा सबै वडाले नजिकका विद्यालयमा क्वारेन्टाइन निर्माण गरी राख्ने निर्णय गरिने शुक्लले बताए । उनका अनुसार शनिबार राति ३८ जना प्रवेश गरेका थिए ।

सीमावर्ती मर्चवारी गाउँपालिकामा पनि दशगजा पार गरेर १०/१५ जना दैनिक आउने गरेको गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले बताए । गाउँपालिकामा तीनवटा क्वारेन्टाइन छन् । मर्चवारी–२ स्थित जनहित प्राविमा ४० जना छन् । मर्चवारी–५ स्थित जनता माविमा ७५ र मर्चवारी–३ स्थित श्रीमती मनराजी माविमा १७ जना रहेको उनले बताए । अधिकांश लकडाउनको अवधिमा भारतबाट आएका हुन् । प्रत्येक दिन सीमाबाट आउँदा खाना र आवासको व्यवस्थापन गर्न चुनौती थपिएको उनले बताए । ३८ हजार जनसंख्या रहेको गाउँपालिकामा दिनहुँ करिब तीन जना भारतका विभिन्न ठाउँबाट आउने क्रममा रहेको उनले बताए ।

रूपन्देहीको दक्षिणी क्षेत्र सम्मरीमाई गाउँपालिका र भारतको सीमा नाका । तस्बिर M कान्तिपुर

एक जनामा संक्रमण देखिएको कोटहीमाई गाउँपालिकाका क्वारेन्टाइनमा मानिस थपिने र अवधि पूरा गरेर घर जाने क्रम चलिरहेको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए । ‘थोरैथोरै आए समस्या हुने थिएन,’ उनले भने, ‘एकैपटक धेरै आउनाले चुनौती देखिएको छ ।’ गाउँपालिकामा ५ हजार ५ सय ९३ परिवार छन् । अहिले १ हजार १ सय नागरिक भारतबाट आउने क्रममा रहेको उनले बताए । ‘भारतमा रहेकाको अभिलेख तयार गरेर अब वडासँग समन्वय र व्यवस्थापन गर्छौं,’ उनले भने, ‘भारतमै आफन्त भएकालाई परिवारमार्फत नआउन आग्रह गरेका छौं ।’

सीमा जोडिएको मायादेवी गाउँपालिकाले एउटा तालिम केन्द्र र अर्को विद्यालयमा क्वारेन्टाइन बनाएको छ । अहिले त्यहाँ चाप छ । ‘यही अवस्था रहेसम्म व्यवस्थापन गर्न हम्मे पर्छ,’ मायादेवी गाउँपालिका अध्यक्ष धु्रवनारायण चौधरीले भने, ‘दैनिक १०/१२ जना आइरहेका छन् । ४९ हजार जनसंख्या रहेको गाउँपालिकामा अहिलेसम्म्म भारतबाट दुई सय जना हाराहारीमा आइसकेको चौधरीले बताए । मायादेवी–८ स्थित तालिम केन्द्रको क्वारेन्टाइनमा अन्य गाउँपालिकाबाट मानिस ल्याएर राखिएको छ । ‘स्थानीयले ढुंगामुढा र राजनीति गर्न छाडेका छैनन्,’ मायादेवी–८ का वडाध्यक्ष चोकबहादुर थापाले भने, ‘यस्तो बेलामा समन्वयात्मक भूमिकाको खाँचो छ ।’

यसरी आएकालाई कसरी व्यवस्थान गर्ने भन्नेबारेमा जिल्ला प्रशासन पनि अन्योलमा छ । संघीय सरकारले ठोस निर्णय नगरेकाले प्रशासन जवाफविहीन छ । ‘नागरिक आएपछि धपाउन भएन,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘क्वारेन्टाइनको संख्या बढाएर व्यवस्थापन गर्ने भनी निर्णय भएको छ ।’ छेकवार गर्दासमेत लुकेर आउनेलाई क्वारेन्टाइनमा राख्नु र परीक्षण गर्नुको विकल्प नरहेको उनले बताए ।

‘भद्रगोल’ अवस्थाले झन् जोखिम

कपिलवस्तुमा कोभिड–१९ संक्रमको जोखिम बढे पनि सतर्कता अपनाइएको छैन । सीमामा आइतबारसम्म १ हजार ७ सय जनाभन्दा बढी अलपत्र छन् । कतिपय भागेर घर पुगिसकेका छन् । उनीहरूलाई घरबाट ल्याएर क्वारेन्टाइनमा बसाल्न कसैले ध्यान पुगेको छैन । अधिकांशलाई क्वारेन्टाइनमा ठाउँ छैन भन्दै फर्काउने गरिएको छ । सीमावर्ती जिल्लामा भइरहेको हेलचेक्र्याइँप्रति नागरिकले चिन्ता व्यक्त गरेका छन् । तीन जना संक्रमित पाइएको मायादेवी गाउँपालिका–२, अभिरावलाई सिल गरिएको छैन ।

संक्रमित पाँच जनाको समूहमा अवैध बाटोबाट प्रवेश गरेका थिए । आइतबारसम्म उनीहरू घर पुगे/नपुगेको खुलेको छैन । गाउँमा सहज आवागमन छ । पसल खुलेका छन् । ‘कुनै चिन्ता छैन,’ स्थानीय फैजल खानले भने, ‘गाउँबाहिर बाटोमा पनि उस्तै चहलपहल छ । प्रशासन र गाउँपालिकाले गाउँमा सतर्कता अपनाएका छैनन् । स्वास्थ्य मन्त्रालयबाट खटिएका चिकित्सकको टोलीसँग समन्वय गरे पनि तत्काल गाउँ सिल गर्न आवश्यक नभएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । पर्याप्त जनशक्ति नभएकाले तत्कालै सिल गर्न सक्ने अवस्था नरहेको जिल्लास्थित एक सुरक्षा अधिकारीले बताए । थप पाँच सय सुरक्षाकर्मी माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए ।

शुद्धोदन गाउँपालिका–६, कर्माका संक्रमित युवा घर पुगेपछि उनका आफन्तले क्वारेन्टाइनमा ल्याएका थिए । मायादेवी–८, विजुवाका संक्रमित घर पुगेर नुहाइधुवाइ गरी क्वारेन्टाइनमा आएका थिए । कर्मा र बिजुवा गाउँ पनि सिल गरिएको छैन । त्यहाँ पनि सर्वसाधारणको आवतजावत बाक्लो छ । कुनै सतर्कता अपनाइएको छैन । गाउँँका पसल खुलेका छन् । पहिलेकै जस्तो दिनचर्या छ ।

दिनैपिच्छे संख्या बढेपछि मायादेवी गाउँपालिकाले क्वारेन्टाइनमा बसेकालाई खाना उपलब्ध गराउन छाडेको छ । ‘बिहीबारसम्म खाना दियौं,’ अध्यक्ष बजरंगी चौधरीले भने, ‘हामी अब थेग्न सक्दैनौं ।’

कपिलवस्तु नगरपालिकाले सीमाबाट लुकेर आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न मानेको छैन । बुद्धपद्म मावि र महेन्द्र प्राविस्थित क्वारेन्टाइनमा ठाउँ अभाव भएपछि नगरपालिकाले ६ जनालाई दशगजामै फर्काएको छ । लौसा, कोदाहवा र महुवाका ६ जनाले मम्बईबाट आएको भन्दै आफूलाई क्वारेन्टाइनमा राख्न आग्रह गरे । तर, क्वारेन्टाइनमा बसेका १ सय ३ जनाको स्वाब परीक्षण गर्न पठाइएका कारण राख्न नमिल्ने भन्दै फर्काइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । भारतबाट आएका कपिलवस्तु नगरपालिका–८, कचरिहवाका श्याम गुप्ता क्वारेन्टाइनमा बस्न भन्दै गए पनि नराखेपछि घर फर्किएको बताए । ‘घरका मान्छे पनि चिन्तित छन् । तर के गर्ने,’ उनले भने । त्यस्तै मुम्बईबाट आएर शनिबार क्वारेन्टाइनमा बस्न गएका कपिलवस्तु नगरपालिका–४, महुवाका छोटु यादवले पनि क्वारेन्टाइनमा नबसालेको गुनासो गरे । सीमावर्ती हर्दौनास्थित दशगजामा बसेकाहरू बिहीबार बिहान पानी परेपछि सीमा नजिकैको विद्यालयमा ओत लाग्ने बहानामा भागेर घर पुगेपछि स्थानीयले नगरपालिकालाई खबर गरेका थिए । शुक्रबार नगरपालिकाको गाडीले ती २४ जनालाई गोरुसिंगेमा बनाएको क्वारेन्टाइनमा पुर्‍याएको थियो ।

स्थानीयको सहयोगमा व्यवस्थापन

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा क्वारेन्टाइन व्यवस्थापनमा स्थानीयले सहयोग गरेका छन् । अधिकांश स्थानीय तहले होटल तथा अन्य व्यक्तिलाई प्रतिछाकका दरले रकम उपलब्ध गराएर क्वारेन्टाइनमा बस्नेका लागि खाना र नास्ताको व्यवस्था गरिरहेका छन् । सुनवलका स्थानीयले भने स्वस्र्फुत रूपमा नि:शुल्क रूपमा खाना पकाउनेदेखि तरकारी र नगद सहयोग गर्न थालेका छन् । स्थानीय कारेश्वर मन्दिर व्यवस्थापन समितिले दैनिक खाना र नास्ता खुवाउने गरेको छ । स्थानीयले पालो मिलाएर तरकारी उपलब्ध गराइरहेको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक सुनवल–४ का अध्यक्ष वीरबहादुर गुरुङले बताए । ‘नगरपालिकाको दायित्व भए पनि स्थानीयले आफ्नो घरमा उत्पादन भएका तरकारी, फलफूल दिने गरेका छन्,’ उनले भने, ‘यसले क्वारेन्टाइन व्यवस्थापन र खर्च दुवैमा सहुलियत भएको छ ।’

भारतबाट हरेक दिन जिल्लामा आउने स्थानीयको संख्या बढ्दै जाँदा समस्या थपिएको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए । महाकवि देवकोटा क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा अहिले २२ जना छन् । उनीहरू सबै भारतबाट आएका हुन् । उक्त क्याम्पसमा दुई सय जना राख्न सकिने गरी व्यवस्थापन मिलाइएको छ । हरेक दिन संख्या बढ्दै गएपछि नगरपालिकाले हरेक वडामा रहेका सामुदायिक भवन र विद्यालयलाई क्वारेन्टाइनमा परिणत गर्ने तयारी गरेको छ । नगर क्षेत्रमा पाँच हजार जना राख्न सकिने गरी क्वारेन्टाइनको व्यवस्थापनका लागि पहल सुरु भएको नगर प्रमुख थापाले बताए । आइतबारसम्म जिल्लाका सात स्थानीय तहमा रहेका क्वारेन्टाइनमा २ सय २८ व्यक्ति रहेका छन् ।

प्रकाशित : वैशाख २९, २०७७ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?