१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

लकडाउनले मध्यपहाडी लोकमार्गको काम अलपत्र

सडक अलपत्र छाड्दा वर्षामा ढुंगा खसेर दुर्घटनाको सम्भावना बढेको छ । ती स्थानमा पानीसमेत तर्काइएको छैन । खाद्यान्न बोकेका सवारी यहाँ पटकपटक फसेका छन् ।
प्रकाश बराल

बागलुङ — मध्यपहाडी लोकमार्गको बागलुङदेखि घोडाबाँधे खण्डको २५ किमि सडक कालोपत्र योजना लकडाउनले अलपत्र परेको छ ।

लकडाउनले मध्यपहाडी लोकमार्गको काम अलपत्र

यो सडको सुलडाँडा बिहुँ हुँदै घोडाबाँधे तर्फको १३ किमि खण्डमा कालोपत्र गर्ने रफ्तारमा काम भइरहेको थियो । लकडाउनपछि मदजुरहरु घर फर्कंदा काम अवरुद्ध भएको लोकमार्गको पोखरा बागलुङ खण्डका आयोजना प्रमुख शाशिष थापामगरले बताए ।

बिहुँ खण्डको १३ किमि सडक १३ करोडमा सक्ने जिम्मा लिएको एमपी सूर्य कन्स्ट्रक्सन संयुक्त निर्माण कम्पनीले मजदुर अभावमा पूरा गर्न नपाएको हो । इन्जिनियर रामप्रसाद सुवेदीले बसेका केही मजदुरबाट भने ग्राभेलको काम भएको बताए । यो खण्डमा २/४ किमि भए पनि असारभित्रै कालोपत्र गर्ने योजना छ ।

सदरमुकामदेखि अक्षेतेसम्मको १२ किमि खण्डको काम अलपत्रै छ । १२ करोडमा जिम्मा लिएको भारत सिद्धिशाही प्रकाश निर्माण कम्पनीले लकडाउन अघि पनि काम नगर्दा सडक अस्तव्यस्त बनेको छ । केही खण्डमा पहरा आधा फोडिएको छ । त्यस्तै बोक्सेको भीरमा हिलाम्मे छाडिएपछि सवारीसाधन गुड्नै नसक्ने अवस्थाको छ । लकडाउनकै समयमा पनि खाद्यान्न बोकेका सवारी यहाँ पटकपटक फसेका छन् ।

गत कात्तिकमा एमपी सूर्य कन्स्ट्रक्सनले असारभित्र काम सक्ने गरी म्याद थपेको थियो । पटकपटक थपेको म्याद पनि गुजारेको सिद्धिशाहीलाई भने कालोसूचीमै राख्ने बेला भएको थापा मगरले बताए । ‘प्रशासन र आयोजना मिलेर पटकपटक आस र त्रास देखाएर भए पनि काम लगाउने प्रयास गरियो, तर भएन,’ उनले भने, ‘अब के गरेर छिटो काम सक्ने भन्ने अर्को योजना बनाउनुपर्ने भएको छ ।’

अन्तिम अवस्थासम्म काम गर्छु भन्दै रोकेर समयसीमा कटाएकाले कालोसूचीमा राख्ने विषयमा स्पष्टीकरण सोधिएको थियो । सूर्य कन्स्ट्रक्सनले बैंक ग्यारेन्टी र म्याद थप्ने आधार मागेपछि काम थालेको हो ।

बागलुङभित्रको १ सय ४२ किमि सडकमध्ये घोडाबाँधेसम्म २५ किमि खण्ड मात्र जीर्ण छ । निसीखोला तर्फको १५ किमि पनि चालु वर्षभित्रै कालोपत्रे गर्ने योजना छ । केही खण्डमा काम भइसकेको छ । मदजुर अभावले केही खण्ड बाँकी रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।

बिहुँ र सुलडाँडा लगायतका स्थानमा भने लकडाउनकै अवसर छोपेर पहरो काट्ने काम भएको हो । ‘अधिकांश स्थानमा ग्राभेल पनि राखिएको छ,’ मगरले भने, ‘अब यहाँ केही काम होला जस्तो छ ।’ लकडाउनपछि केही मदजुर थप्न सकेमा बिहुँ खण्ड कालोपत्र हुने उनले बताए ।

अक्षेते खण्डमा भने अर्को ठोस व्यवस्थापन गर्न मन्त्रालयदेखि स्थानीय प्रशासनमा छलफल चलाउने उनको भनाइ छ । अलपत्रै छाड्दा वर्षामा ढुंगा खसेर दुर्घटना पर्न सक्ने अवस्था समेत छ । ‘ती स्थानमा पानी समेत तर्काइएको छैन । सडक हिलाम्मे हुन्छ भने पहिरो खस्ने खतरा पनि छ,’ काठेखोला गाउँपालिका-१ का अध्यक्ष खड्ग थापाले भने, ‘काम गर्छु भनेर एक महिनासम्म आवागमन रोकियो, तर कामको प्रगति भएन ।’

लोकमार्गकै बागलुङ नगरपालिकाभित्रका केही घरको मुआब्जा दिन बाँकी छ । केही खण्डमा सडक चौडा पार्ने काम स्थानीयको अवरोधपछि रोकिएको छ । ‘सरकारले समय मिलाएर मुआब्जा देला भनेर हामीले संरचनामा असर पारेका छैनौं,’ उनले भने, ‘आगामी आर्थिक वर्षसम्म जिल्लाको १ सय ४२ किमि खण्डमै कालोपत्रे भैसक्छ ।’

प्रकाशित : वैशाख २८, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?