२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

भारतमै फर्काउँदै सशस्त्र

प्रदेश २ का सीमामा १५१७ जना अलपत्र
दुवै देशका सुरक्षाकर्मीले फर्काइदिँदा यता न उता
प्रदेश २ ब्युरो

जनकपुर — दुवै देशका सुरक्षाकर्मीले रोकेपछि प्रदेश २ को नेपाल–भारत सीमामा लकडाउन सुरु भएयता १५ सय १७ जना अलपत्र परेका छन् । दशगजा क्षेत्रमा रोकिएका उनीहरूले जबर्जस्ती स्वदेश आउन खोज्दा बारा र पर्सामा सशस्त्र प्रहरीसँग झडपसमेत भएको छ ।

भारतमै फर्काउँदै सशस्त्र

प्रदेश २ का आठ वटै जिल्लाको भारतसँग ४ सय ६५ किलोमिटर सीमा जोडिएको छ । कोभिड–१९ संक्रमण रोक्न सीमा सिल गरिएपछि नाकामा सशस्त्र प्रहरीको निगरानी बढाइएको छ । नाकाबाट नेपालतर्फ आउन खोजेका ६८१ जनालाई सशस्त्र प्रहरीले शनिबार मात्र फर्काइदिएका छन् । धनुषाको नाकाबाट लकडाउनयता भारत जान खोज्ने ८३१ जनालाई सशस्त्र प्रहरीले छिर्न दिएको छैन । ‘नाकामा अलपत्र परेकालाई ल्याउँदा वा फर्काउँदा समस्या छ,’ सशस्त्रका एक अधिकारीले भने, ‘नेपाल–भारत दुवैतिर मानिसहरू अड्किएका छन् । धपाउनबाहेक केही गर्न सकिएको छैन ।’

नेपालको क्वारेन्टाइनमा बसेर भारततिर जानेलाई पनि भारतीय सुरक्षाकर्मीले नेपालतिरै फर्काइदिँदा समस्या झन् बढेको छ । नाकामा भोकभोकै उनीहरू कष्टकर समय बिताइरहेका छन् । गत साता ६ दिन पैदल यात्रा गरेर धनुषाको जटही नाका आइपुगेका ३६ भारतीयलाई नेपालमै राख्ने कि भारत पठाउने भन्ने अन्योल भएको थियो । सुरक्षा अधिकारीहरूले उनीहरूलाई नगराइनस्थित विद्यालयमा १४ दिन क्वारेन्टाइनमा राखेर भारत जान अनुमति दिए पनि भारतीय सुरक्षाकर्मीले उनीहरूलाई नेपालतर्फ फर्काइदिएको थियो ।

सीमा सिलपछि सर्लाहीसँग सीमा जोडिएको भारतीय नाकामा आइपुगेका एक सयभन्दा बढी नेपाली घर फिर्ने टुंगो नहुँदा परिवार चिन्तामा परेका छन् ।

उनीहरूले सम्बन्धित निकायलाई सीमामा अलपत्र परेकालाई घर फर्काइदिन आग्रह गरिरहेका छन् । भारतीय क्वारेन्टाइनको साटो नेपालमै स्थानीय तहको क्वारेन्टाइनमा राख्न उनीहरूको माग छ ।

सीमापारि क्वारेन्टाइनमा बसेको एक महिनाभन्दा बढी भए पनि उनीहरू आउन पाएका छैनन् । सीमावर्ती क्षेत्रका क्वरेन्टाइनमा बसेका १ सय २३ नेपालीलाई गत वैशाख ४ गते भारतीय सुरक्षाकर्मीले चोर बाटोबाट नेपालतर्फ पठाएका थिए । तीमध्ये ९१ जनालाई सीमामा खटिएका सुरक्षाकर्मीले फेरि भारतमै फर्काइदिएका छन् । सुरक्षाकर्मीको आँखा छलेर गाउँ आउन सफल भएका ३२ जना भने गाउँपालिकाको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किसकेका छन् । भारतीय क्वारेन्टाइनमा बसेका ९१ जना र पछि थप आएका गरी एक सयभन्दा बढी नेपाली सीमापारि अलपत्र परेका छन् ।

उनीहरूले भारतीय क्वारेन्टाइनमा खाना र बस्नलगायतका समस्या भइरहेको, घरपरिवारसँग कुरा गर्न मोबाइलसमेत नदिएको गुनासो पोखेको परिवारजनले बताएका छन् । क्वारेन्टाइनमा लुकीछिपी मोबाइल प्रयोग गर्दा भारतीय सुरक्षाकर्मीले कुट्ने गरेको उनीहरूका आफन्तले दुखेसो पोखेका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ मुसहर टोलका ६५ वर्षीया मरनीदेवी माझीका तीन छोरा र एक नाति उत्तर प्रदेशमा मजदुरी गरेर घर फर्किने क्रममा सीमास्थित क्वारेन्टाइनमा बसेका छन् । फोनमा सम्पर्क भएका बेला एउटै कोठामा कोचाकोच गरेर बस्नुपरेको र शौचालय जाँदा लाइनमा बस्नुपर्नेलगायत समस्या रहेको गुनासो पोखेको उनले बताइन् । ‘उत्तर प्रदेशबाट फर्कने क्रममा सोनवर्षामा भारतीय प्रहरीले समातेर राख्यो, १५ दिनपछि त्यहाँबाट छाडिए पनि नेपाल प्रहरीले फेरि भारतमै पठाइदियो,’ उनले भनिन्, ‘सँगै रहेका केही लुकेर आएका छन्, हाम्रा घरका सीमामै अलपत्र छन्, महामारीका बेला पनि आउन दिएनन् ।’ उनले छोरा र नाति सीमामा कैदीजस्तै जीवन बिताइरहेको गुनासो गरिन् । महामारीका बेला परिवारका सदस्य अलपत्र हुँदा राति निद्रा लाग्न छाडेको उनले बताइन् ।

मुसहर टोलका ५० परिवारका ९२ जना सीमावर्ती बजार सोनवर्षा र ५२ जना सीतामढीका क्वारेन्टाइनमा बसेको स्थानीयले जनाएका छन् । भारतमा मजदुरी गरेर फर्केका अन्य स्थानीय तहका मानिस पनि सीमामा रोकिएका छन् ।

सर्लाहीकै मलंगवा नगरपालिकाका मेयर निरसल साहले लुकेर सीमा पार गर्दा समस्या भएकाले अलपत्र परेका दुवै देशका नागरिकलाई आ–आफ्नो मुलुक लगेर क्वारेन्टाइनमा राख्न उचित हुने बताए । ‘उनीहरूलाई यहाँ ल्याएर पनि क्वारेन्टाइनमा राख्न सकिन्थ्यो तर केन्द्र सरकारको निर्णय भन्दै स्थानीय प्रशासनले मानेको छैन,’ उनले भने, ‘सीमामा अलपत्र परेका नेपालीभन्दा धेरै भारतीयलाई क्वारेन्टाइनमा पालेर बसिएको छ ।’

सीमापारि सर्लाहीका बासिन्दाभन्दा बढी यहाँ भारतीयहरू क्वारेन्टाइनमा छन् । इँटा उद्योगका मजदुर धेरैजसो घर फर्कने क्रममा यहाँ रोकिएका थिए । उनीहरूको व्यवस्थापन स्थानीय तहहरूले गरिरहेका छन् ।

आफ्नै मुलुकको क्वारेन्टाइनमा बसाउने गरी ल्याउनुपर्ने भए पनि दुई देशको कुरा भएकाले सरकारले नै निर्णय गर्नुपर्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बताए । गृह मन्त्रालयको आदेशअनुसार नेपाली भूमि टेकिसकेकालाई गाउँ फर्काउनुको साटो भारतमै पठाएको उनले जानकारी दिए ।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले अहिले पनि भारतको सीतामढीका क्वारेन्टाइनमा १५२ जना नेपालीलाई राखिएको जनाए । उनीहरूलाई घर ल्याउने विषयमा माथिबाट कुनै आदेश नआएको उनले बताए । क्वारेन्टाइनमा बसेकासित स्थानीय प्रशासनले सम्पर्क गर्दा खान बस्न समस्या नभए पनि घर फर्केन पहल गरिदिन उनीहरूले माग गरेको उनले बताए ।

भारतमा लकडाउनमा कडाइ गर्दा नेपाली मजदुर पैदल र एम्बुलेन्सलगायत सवारीबाट सीमासम्म आएका थिए । सीमा सिल गरिएपछि उनीहरू नेपाल प्रवेश गर्न पाएनन् । चोर बाटो हुँदै छिरेकालाई समेत प्रहरीले नियन्त्रणमा लिएर भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको थियो । उनीहरू अहिले उतै क्वारेन्टाइनमा छन् ।

वृन्दावन नगरपालिकाका मेयर रामस्नेही रायले भारतका क्वारेन्टाइनमा बसेकालाई स्वदेश फर्काउन पहल थालिए पनि स्थानीय प्रशासनले चासो नदिएको बताए ।

रौतहटका अधिकाश स्थानीय तहले भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्न तयार रहेको बताएका छन् । ‘भारतमा जति दिन बसे पनि हामीले आफ्ना नागरिकलाई दुई साता क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौं,’ ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले भने, ‘सरकारले उनीहरूलाई ल्याउन पहल गरे क्वारेन्टाइनमा राख्न कुनै समस्या हुँदैन ।’

अजित तिवारी (जनकपुर), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट)

प्रकाशित : वैशाख २८, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?