ओली र दाहालले भारत सरकारलाई भने : सीमा विवाद झन् जटिल बनाउने काम रोक्नुस् 

काठमाडौँ — भारतले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोमा सत्तारुढ नेकपाले विरोध जनाएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै नेपाल-भारतको सीमा विवाद जटिल बनाउने कुनै पनि कदम नचाल्न भारतलाई सचेत गराएका छन् । 

ओली र दाहालले भारत सरकारलाई भने : सीमा विवाद झन् जटिल बनाउने काम रोक्नुस् 

ओली-दाहालको विज्ञप्तिमा लेखिएको छ, 'भारत सरकारलाई सडक निर्माण कार्य तुरुन्त बन्द गर्न नेकपा आग्रह गर्दछ । साथै भारत सरकारलाई दुई देशबीचको सीमा विवादलाई झन् जटिल बनाउने कुनै पनि कदम नचाल्न सचेत गराउँदछ ।'

नेकपाका अध्यक्षद्वयले नेपाल र भारत सरकारलाई सीमा विवाद कूटनीतिक तवरबाट समाधान गर्न पनि आग्रह गरेका छन् । दुवै मुलुकको सहमतिमा सीमा विवाद समाधान हुनुपर्ने उनीहरूको भनाइ छ । दुवै सरकारका संयन्त्रहरूले सीमा विवाद सल्ट्याउने तर्फ काम गरिरहेको अवस्थामा भारतले नेपाली भूमिमा सडक निर्माण गरेर उद्घाटन गरेकोप्रति उनीहरूले विरोध जनाएका छन् ।

भारतीय कब्जामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको भन्दै अध्यक्षद्वयले सीमा विवाद उच्च राजनीतिक तहबाट समाधान गर्नुपर्नेमा पनि जोड दिएका छन् । सुगौली सन्धि (१८१६)लाई आधार मानेर दुवै देशबीचको सीमा तय भएकाले सोही आधारलाई मान्न पनि नेकपाले भनेको छ । भारत र चीनले सन् २०१५ मा लिम्पियाधुरा भएर व्यापारीक नाका खोल्ने सहमति गरेलगत्तै दुवै देशसामू नेपाल सरकारले असहमति जनाएको पनि नेकपाले स्मरण गराएको छ ।

सम्पूर्ण मानवजाति कोरोना भाइरस (कोभिड - १९)को महामारीविरुद्ध लडिरहेका बेला भारतले नेपालको सार्वभौमिकतालाई अवमूल्यन गर्ने कदम चालेकोप्रति पनि नेकपाका अध्यक्षद्वयले रोष प्रकट गरेका छन् ।

दुई देशबीच असल छिमेकीको सम्बन्धमा नेकपाले विश्वास गर्ने अध्यक्षद्वयको विज्ञप्तिमा लेखिएको छ । दुई देशबीचको सम्बन्ध सार्वभौम समानता, भौगोलिक अखण्डता, आपसी सम्मान र सहयोगमा हुनुपर्ने विज्ञप्तिमा लेखिएको छ ।

भारतले लिपुलेक भएर मानसरोबर जाने सडक शुक्रबार मात्रै उद्घाटन गरेको थियो । रक्षामन्त्री राजनाथ सिंहले उक्त सडक उद्घाटन गरेको सार्वजनिक भएसँगै नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । नेपालको परराष्ट्र मन्त्रालयले पनि उक्त कदमको विरोध गरिसकेको छ । उता भारतीय विदेश मन्त्रालयले भने आफ्नो भूमिमा सडक निर्माण गरेको दाबी गरेको छ

सम्बन्धित समाचार

लिपुलेकमा भारतको सडक : स्थानीय प्रशासन र बासिन्दा चकित

भारतले खोल्यो नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो

प्रकाशित : वैशाख २८, २०७७ ००:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?