२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

नेपाली भूमिमा सडक बनाएकोमा माफी माग्दै भारत फिर्ता हुनुपर्छ : साझा पार्टी

काठमाडौँ — साझा पार्टीले नेपाली भूमि लिपुलेकबाट भारत फर्कनुपर्ने बताएको छ । दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेर भारतले हेपाहा प्रवृत्ति देखाएको साझा पार्टीले आरोप लगाएको छ ।

नेपाली भूमिमा सडक बनाएकोमा माफी माग्दै भारत फिर्ता हुनुपर्छ : साझा पार्टी

शनिबार विज्ञप्ति जारी गर्दै पार्टीका सह-प्रवक्ता शरदराज पाठकले धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दाबी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेको प्रतिक्रिया दिएका छन् ।

साझा पार्टीले भारत सरकारको लगातारका यस्ता कदम अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको पनि बताएको छ ।

नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद गरेर भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन पनि साझा पार्टीले आग्रह गरेको छ । नेपालले कूटनीतिक पहल नगरेका कारण पनि भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना भएको साझा पार्टीको बुझाइ छ । विज्ञप्तिमा भनिएको छ, 'आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु अत्यन्तै विडम्वनापूर्ण स्थिति हो।'

अतिक्रमित भूमिबाट भारत फिर्ता हुनुपर्ने भन्दै साझाले भनेको छ, ' भारतले सबै अतिक्रमित भूमि छोडेर जानु पर्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नु पर्छ, पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नु पर्छ भन्ने साझा पार्टीको धारणा रहेको छ।'

सम्बन्धित समाचार

भारतले खोल्यो नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो

लिपुलेकमा भारतको सडक : स्थानीय प्रशासन र बासिन्दा चकित

प्रकाशित : वैशाख २७, २०७७ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?