१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

संसद्‍को वर्षे अधिवेशन सुरु : कोरोनाविरुद्ध सबै दल एक ठाउँ

संकटका बेला सबै सँगसँगै लड्न सकिन्छ भन्ने भावनाको विकास गर्नुपर्छ : देउवा
ऋषिराम पौड्याल

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामका लागि सत्ता र प्रतिपक्ष एकै ठाउँमा उभिएका छन् । उनीहरूले संक्रमण फैलन नदिन सरकारले प्रभावकारी कदम चालेर नागरिकको जीवन बचाउनुपर्ने सुझाव दिएका छन् ।

संसद्‍को वर्षे अधिवेशन सुरु : कोरोनाविरुद्ध सबै दल एक ठाउँ

संघीय संसद्को शुक्रबार सुरु वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभा बैठकमा बोल्दै सबै दलका शीर्ष नेताले कोभिड–१९ विरुद्ध हातेमालो जरुरी भएको बताए । अहिलेको मुख्य चुनौती जीवन रक्षा हो भन्दै उनीहरूले परीक्षणको दायरा बढाउन र स्वास्थ्य उपकरणको पर्याप्त व्यवस्था गर्न सरकारसँग माग गरे । नेताहरूले विदेशमा रहेका नेपालीलाई मुलुकमा ल्याउन सुझाव दिए ।

प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको लडाइँमा राष्ट्रिय भावना जरुरी रहेको बताए । संकटका बेला सबै सँगसँगै लड्न सकिन्छ भन्ने भावनाको विकास गर्नुपर्ने भन्दै उनले संक्रमणविरुद्धको अभियानमा आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्न चाहेको जनाए । स्वास्थ्य परीक्षणको दायरा बढाउनुपर्नेमा उनले जोड दिए । उनले कोरोनाको विश्वव्यापी महामारीबाट नेपालीको रक्षा गर्न भएका प्रयासको गहिरो समीक्षा गर्नुपर्ने बताए । उनले नागरिकलाई उचित राहतको व्यवस्था गर्न माग गरे । पार्टीका सदस्य र शुभचिन्तकहरूलाई कोरोनाविरुद्ध लड्न आह्वान गरेको जानकारी उनले दिए । ‘कोरोनाविरुद्धको लडाइँमा कांग्रेस सरकार सँगै छ,’ उनले भने ।

लकडाउनले श्रमिक, बेरोजगार र विद्यार्थीलाई संकटमा पारेको भन्दै उनले सरकारले पर्याप्त राहत नदिँदा हजारौं श्रमिक पैदलै गाउँ फर्किनुपरेको बताए । ‘न खान दिने, न घर जान दिने सरकारको यस्तो व्यवहारले जनतालाई आहत बनाएको छ,’ उनले भने ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले लकडाउनका कारण संक्रमण फैलिन नपाएको प्रसंग जोड्दै यस कार्यमा सबै नागरिकको सहयोगका कारण अहिलेसम्म सफलता मिलेको बताए । उनले कोभिड–१९ विरुद्ध लड्न सबै एक हुनु सकारात्मक भएको जनाए । ‘लकडाउन आवश्यकता र बाध्यता हो,’ उनले भने, ‘यसकै कारण कोरोनाको संक्रमण बढ्न पाएन ।’ उनले सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयासको सराहना गर्दै विदेशमा रहेका नेपालीको उद्धार गरिने बताए । ‘कोरोनाविरुद्धको लडाइँमा संसद्ले एउटा आधार तयार गर्छ, यसमा राजनीतिक दलहरू एकै ठाउँमा उभिने कुरामा विवाद नभएको’ उनले बताए । कोरोनाले पुर्‍याएको नकारात्मक असर कम गर्दै लैजानुपर्ने र विगतका अधिवेशनमा संसद् र समितिमा रहेको विधेयक टुंग्याउनुपर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले कोरोनाका कारण जीवन रक्षा कसरी गर्ने भन्ने प्रश्न नै अहिलेको महत्त्वपूर्ण विषय भएको बताए । ‘कोरोना कहिलेसम्म रहन्छ र कति क्षति गर्छ भन्ने छैन,’ उनले भने । नेपालमा थोरै मात्र परीक्षण भएकाले ढुक्क नहुन र क्षति हुने खतरामा ध्यान दिन आग्रह गरे । उनले स्वास्थ्य र सुरक्षाका विषयमा थप तयारी गर्नुपर्ने धारणा राखे । ‘लकडाउन गर्नैपथ्र्यो, अरूले जे गरेका छन्, हामीले त्यही गरेका छौं । कोरोना नियन्त्रणमा सरकारको तयारी भने पर्याप्त देखिएन,’ उनले भने ।

राजपा नेता राजेन्द्र महतोले कोरोना महामारीबाट जोगिन सबै नेपाली एक हुनुपर्ने बताए । लकडाउन बाध्यता भएको भन्दै उनले यसको पालना भएकामा सबैप्रति आभार प्रकट गरे । विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेप्रति उनले समवेदना प्रकट गरे । ‘संक्रमित बिरामीको सिधै स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने । उनले सबै राजनीतिक दल र नागरिक एक भएरमात्र संक्रमणलाई परास्त गर्न सकिने धारणा राखे । अहिले सरकारको पहिलो काम जनताको जीवन रक्षा नै रहेको भनाइ उनले राखे । ‘सरकारसँग म जनतालाई जोगाउन माग गर्छु,’ उनले भने ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पीसीआर प्रविधिबाट कोरोनाको जाँचलाई फराकिलो बनाउनुपर्ने बताइन् । नेमकिपाका सांसद प्रेम सुवालले संक्रमणको जाँचलाई विस्तार गर्न माग गरे ।

विदेशका नेपाली ल्याउन माग

प्रतिपक्ष दलका नेताहरूले विदेशमा रहेका नेपालीलाई मुलुकभित्र ल्याउन माग गरेका छन् । कांग्रेस संसदीय दलका नेता देउवा, पूर्वप्रधानमन्त्री भट्टराई र सांसदले विदेशबाट आउन चाहने नेपालीलाई तत्काल ल्याउनुपर्ने धारणा राखे । विदेशमा आर्थिक मन्दी बढेको, तेलको मूल्य घटेको र रोजगारी गुमेको भन्दै प्रतिपक्षले नेपालीलाई अनागरिक नबनाउन सरकारको ध्यानाकर्षण गराए । उनीहरूले प्रभावितका लागि राहत प्याकेज ल्याउन माग गरे । ‘विदेशमा रहेका नेपालीको बिजोग देखेर आँसु आउने अवस्था छ,’ उनीहरूले भने । मुलुकभित्रै पनि मजदुरहरू रुँदै गाउँतिर लाग्दा सरकार मूकदर्शक बनेको आरोप उनीहरूले लगाए ।

देउवाले विदेशमा रहेका कोरोनाबाट अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्नु सरकारको कर्तव्य भएको बताए । ‘यसका लागि आवश्यक व्यवस्थापन गरेर यथाशीघ्र निकास खोज्नुपर्छ,’ उनले भने । ‘विदेशमा रहेका नेपाली पनि यतिबेला कोरोनाबाट प्रताडित छन्,’ उनले भने । नेकपा उपनेता नेम्वाङले विदेशमा रहेका नेपाली ल्याउन पहल गरिने बताए । उनले सबै समस्यालाई संसद्बाट निकास दिने विश्वास व्यक्त गरे ।

सांसद पौडेलले विदेशमा रहेका नेपालीको अवस्था दयनीय बन्दै गएको प्रसंग जोड्दै उनीहरूलाई नेपाल ल्याउन तत्काल पहल गर्नुपर्ने बताइन् । उनले खासगरी भारतमा रहेका झन्डै २५ हजार नेपाली आफ्नो देश आउन चाहेको जानकारी गराइन् । विदेशबाट आउनेलाई रोजगारीको व्यवस्था गर्नुपर्ने धारणा उनले राखिन् ।

स्वास्थ्य सामग्री खरिदको छानबिन माग

कोरोना नियन्त्रणका लागि चीनबाट खरिद गरेको औषधि तथा उपकरण खरिद प्रकरणको छानबिन गर्नुपर्ने माग उनीहरूले गरेका छन् । कांग्रेस संसदीय दलका नेता देउवाले कोरोनासँग जुध्नुपर्ने बेलामा स्वास्थ्य सामग्री खरिद, परीक्षण किटलगायतका सामग्रीको अझै अभाव हुनु लाजमर्दो घटना भएको बताए ।

‘समयमै सामग्री प्रबन्ध नगर्नु, खरिद प्रक्रियामा पारदर्शिता नहुनु र बजार मूल्यभन्दा बढी रकम राज्यकोषबाट निकासा दिनु भ्रष्टाचार हो,’ उनले भने । संकटका बेला भ्रष्टाचार गरिनु अत्यन्तै गम्भीर र अक्षम्य विषय भएको तर्क उनले गरे । ‘यस्ता घटनाका दोषीलाई पदमुक्त गरेर प्रकरणको छानबिन गर्न माग गर्छु,’ देउवाले भने । सांसद दुर्गा पौडेलले यस्तो संकटका बेला पनि स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरेको भन्दै उनले यसको छानबिन हुनुपर्ने बताइन् । उनले त्यस्ता व्यक्तिलाई तत्काल कठघरामा उभ्याउनुपर्ने बताइन् । सांसद सुवालले स्वास्थ्य सामग्री र राहतमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरे । उनले सबै समस्याका बारेमा सरकारले श्वेतपत्र जारी गरेर दोषीमाथि कारबाही गर्नुपर्ने बताए ।

प्रकाशित : वैशाख २७, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?