कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुई तिहाईको सरकारले दुई कौडीको काम गरेन : महतो

काठमाडौँ — प्रतिपक्षी राजपाका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकारले शक्तिअनुसारको काम गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, 'दुई तिहाईको सरकारले दुई कौडीको काम गरेको छैन । जनताको यस्तो पीडाको अवस्थामा केही काम नगरेपछि भन्ने के ?'

दुई तिहाईको सरकारले दुई कौडीको काम गरेन : महतो

जनताका पीडा एकातिर र सरकारका गतिविधि अर्कैतिर भएको महतोको भनाइ थियो । 'संकटको बेलामा सरकार काम नलागे के मतलब ? जनतालाई पीडा पुर्‍याउन जनताले भोट दिएको हो ? यो कुरा किन बुझिरहेको छैन सरकार ?,' सरकारको नेतृत्व नै पार्टी फुटउने काममा लागेको आरोप लगाउँदै महतोले भने, 'फुटाउन त हाम्रो पार्टी र मित्र समाजवादी पनि फुटाउने र कुर्सी जोगाउने रे ! के हो यो ? सरप्राइज, रातारात सरप्राइज ?'

सरकारले ल्याएका अध्यादेशतिर लक्षित गर्दै उनले सरकारले कोरोना लक्षित प्याकेज ल्याउला भन्ने अपेक्षा गरेकोमा पार्टी विभाजन गर्ने सरप्राइज ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग गरेका थिए ।

वर्तमान समयमा सबैले आफ्ना एजेन्डा थाँती राखेर कोरोनाविरुद्ध लाग्ने साझा दायित्व भएको महतोको भनाइ थियो । उनले पहिलो अधिवेशनदेखि राजपाले उठाउँदै आएका मुद्दा अहिलेलाई थाती राखेको र जनतालाई राहत मात्रै माग्ने नीति लिएको बताए । पहिचान, संविधान संशोधन, नेताहरूमाथि लागेका मुद्दाका विषय उठाउँदै आएको उसले यो अधिवेशनमा ती मुद्दा थाती राख्ने संकेत देखाएको हो । राजपाले यसअघि संविधान संशोधनको मुद्दालाई लिएर बारम्बार संसद अवरुद्धसमेत गरेको थियो । उनले भने, 'अब नेपाली नागरिकको जीवन रक्षा गरिदेऊ, नेपाली नागरिकलाई जोगाइदेउ, नेपाली जनता संकटमा छ । बाँकी प्रश्न उठाउँदैनौं ।'

सरकारले इमान्दार भएर काम नगरिरहेको महतोको भनाइ थियो । लकडाउनका कारण सडकमा जान नसकिए पनि संसदमा आवाज उठाउने उनले बताए । उनले जनताको जीवन रक्षा, राहत र उपचारको व्यवस्था तत्काल गर्नुपर्ने धारणा राखेका थिए ।

'यहाँ त मानवताविरुद्धको अपराध सरकारले गरेको छ । जनता त्राहिमाममा छ । उता पद पाउ, पार्टी फुटाउ । जनता जोगाउनुपर्नेमा ऊर्जा लगाउनुपर्नेमा सरकार के गरिरहेको छ ?,' उनले भने, 'अध्यादेश लोकतन्त्र बलियो बनाउन, स्थिरता ल्याउन, पार्टी पद्धतिलाई बलियो पार्न ल्याएको हो ? पार्टी फुटाउने र लोकतन्त्रलाई कमजोर बनाउने रे ! जनता मरिरहेको छ, स्वास्थ्यकर्मीले स्वास्थ्य सामग्री पाएको छैन । सरकार अर्कै धन्दामा लागिरहेको छ । पार्टी फोर्ने सांसद चोर्ने धन्दामा जनताको पीडा कम हुन्छ ?'

राज्य संयन्त्र कानुनअनुसार नभइ हुकुमी शासनमा चलिरहेको महतोको भनाइ थियो । कानुनमा अपहरणको निवेदन जहाँबाट पनि लिने व्यवस्था भएपनि प्रहरीले सांसद अपहरणको निवेदन नलिएकोमा उनले रोष प्रकट गरेका थिए ।

सम्बन्धित समाचारः

प्रकाशित : वैशाख २६, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?