नेकपा कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा छैन : नेम्वाङ 

काठमाडौँ — सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद अपहरणको यथार्थ संसदको चालु अधिवेशनमा बाहिर आउने भन्दै आफूहरू कुनै पनि प्रकारको आपराधिक गतिविधिको पक्षमा नरहेको बताएका छन् । 

नेकपा कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा छैन : नेम्वाङ 

संघीय संसद्को छैटौं अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेम्वाङले सांसद अपहरणको विषमया चालु अधिवेशनमा सत्य र यथार्थ बाहिर आउने बताएका हुन् । शुक्रबारको बैठकमा उनले भने, 'हामी कुनै प्रकारका आपराधिक कार्यको पक्षमा छैनौं ।'

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठका साथै पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पार्टी फुटाउने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा महोत्तरीबाट अहपरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।

उक्त विषयलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवाले पनि संसदमा उठाएका थिए । नेम्वाङभन्दा अगाडि बोलेका देउवाले अहपरणमा संलग्नलाई पदमुक्त गरेर कारबाही गर्न माग गरेका थिए । जवाफमा नेम्वाङले सत्यतथ्य बाहिर आउने बताएका हुन् ।

नेम्वाङले कोरोना संकटको बेला सबै राजनीतिक दलहरू एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । उनले कोरोनाले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको र त्यसलाई पराजित गर्न लाग्नुपर्ने बताए । उनले भने, 'कोरोना विरुद्धको लडाइ प्रभावकारी रूपमा अगाडि बढाउनका निम्ती संसदले आधार तयार गर्नुछ । यसबारेमा संसदका सम्पूर्ण राजनीतिक दलहरू एकठाउँमा उभिनुहुन्छ भन्ने विषयमा विवाद छैन ।'

संसदको यो अधिवेशनले बजेट पारित गर्नुका साथै शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कानुन बनाउनुपर्ने, समितिमा अड्किएका विधेयक पारित गर्नुका साथै संविधान कार्यान्वयनमा भूमिका खेल्नुपर्ने नेम्वाङको भनाइ थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : वैशाख २६, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?