नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय २ पुग्यो- समाचार - कान्तिपुर समाचार

नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय २ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १ सय २ पुगेको बताएको छ ।

नेपालग‍न्जको प्रयोगशाालमा परीक्षण गर्दा थप १ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनी १६ वर्षीय पुरुष रहेको मन्त्रालयले जानकारी दिएको हो ।

शुक्रबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटा अनुसार कोसी अञ्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएका छन् । ५ जना १७ औँ दिनको उपचारपछि र ३ जना १६ औँ दिनपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ ।

त्यस्तै नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ ।

त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।

यद्यपि निको भएर फर्किएका ३ जनामा पुनः कोरोना पोजिटिभ देखिएकाले उपचारमा छन् । दुई जना नारायणी अस्पतालमा र १ जना पाटन अस्पतालमा उपचाररत छन् ।

शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट ५४ हजार ५ सय ३१ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १५ हजार ४ सय ९२ परीक्षणहरु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म आइसोलेसनमा देशभरी १३५ जना रहेका छन् । काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १३२ जना रहेका छन् । क्वारेन्टाइनमा १५ हजार ६ सय २४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : वैशाख २६, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

सुरु भयो बजेट अधिवेशन

कान्तिपुर संवाददाता

काठमाडौँ — लकडाउनका बीच संघीय संसद्‌को बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेलगत्तै अधिवेशन प्रारम्भ भएको हो ।

वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले शुक्रबारका लागि संसद्‌को छैठौं अधिवेशन आह्वान गरेकी थिइन् । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण कोरोना भाइरसको महामारीका बीच पनि अधिवेशन सुरु भएको हो ।


अधिवेशन सुरु हुनुअघि स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएको छ । सांसदहरुको तापक्रम (ज्वरो) नापेर मात्रै संसद् भवनभित्र पस्न दिइएको छ । गेटमा छिर्नुभन्दा पहिले सांसदहरुले औषधि राखेको फर्ममाथि कुल्चेर भित्र छिरेका छन् । भित्र छिर्नुअघि सांसदहरुलाई स्यानिटाइजर दिइएको छ । सांसदहरुले मास्क र पञ्जा लगाएका छन् ।

बजेट ल्याउनुअघि संसद्‌मा सरकारले नीति तथा कार्यक्रम पेस गर्नुपर्ने छ । त्यस्तै सरकारले आगामी वर्षको आर्थिक सर्वेक्षण पनि प्रस्तुत गर्ने छ भने जेठ १५ गते बजेट पेशगर्ने छ ।

संघीय संसद्‌को पाँचौं (हिउँदे) अधिवेशन गत चैत २४ गते अन्त्य भएको थियो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन लागू गरेपछि हिउँदे अधिवेशन छिट्टै अन्त्य गरिएको थियो ।


संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार वैशाख २८ गते अर्थमन्त्री युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । यसैगरी जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत कार्यक्रम छ ।


प्रकाशित : वैशाख २६, २०७७ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×