सुरु भयो बजेट अधिवेशन

काठमाडौँ — लकडाउनका बीच संघीय संसद्‌को बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेलगत्तै अधिवेशन प्रारम्भ भएको हो ।

सुरु भयो बजेट अधिवेशन

वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले शुक्रबारका लागि संसद्‌को छैठौं अधिवेशन आह्वान गरेकी थिइन् । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण कोरोना भाइरसको महामारीका बीच पनि अधिवेशन सुरु भएको हो ।

अधिवेशन सुरु हुनुअघि स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएको छ । सांसदहरुको तापक्रम (ज्वरो) नापेर मात्रै संसद् भवनभित्र पस्न दिइएको छ । गेटमा छिर्नुभन्दा पहिले सांसदहरुले औषधि राखेको फर्ममाथि कुल्चेर भित्र छिरेका छन् । भित्र छिर्नुअघि सांसदहरुलाई स्यानिटाइजर दिइएको छ । सांसदहरुले मास्क र पञ्जा लगाएका छन् ।

बजेट ल्याउनुअघि संसद्‌मा सरकारले नीति तथा कार्यक्रम पेस गर्नुपर्ने छ । त्यस्तै सरकारले आगामी वर्षको आर्थिक सर्वेक्षण पनि प्रस्तुत गर्ने छ भने जेठ १५ गते बजेट पेशगर्ने छ ।

संघीय संसद्‌को पाँचौं (हिउँदे) अधिवेशन गत चैत २४ गते अन्त्य भएको थियो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन लागू गरेपछि हिउँदे अधिवेशन छिट्टै अन्त्य गरिएको थियो ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार वैशाख २८ गते अर्थमन्त्री युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । यसैगरी जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत कार्यक्रम छ ।

प्रकाशित : वैशाख २६, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?